टिनेजर क्वानलाई सफलता

टोकियो, साउन २१ (एएफपी) – चीनकी टिनेजर क्वान होङचानले बिहीबार तीन उत्कृष्ट डाइभ गर्दै महिला १० मिटर प्ल्याटफर्ममा स्वर्ण जितेकी छन् । 
१४ वर्षीया क्वान टोकियो ओलम्पिकमा चीनकै सबैभन्दा कान्छी ओलम्पियनसमेत हुन् । उनले आफ्नै देशकी चेन युछीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

उनले ४६६.२० स्कोर ल्याउँदै स्वर्ण जितेपछि चौतर्फी प्रशंसासमेत बटुलिन् । तथापि, उनले आफूमा विलक्षण प्रतिभा नभएको र विद्यालयमा पनि यस्तै किसिमको सफलताको आनन्द लिने नगरेको बताइन् ।

‘म प्रशंसाको पात्र हुँ भन्ने लाग्दैन । म त्यस्तो उत्कृष्ट प्रतिभा पनि होइन,’ उनले भनिन्, ‘किनकि मैले आफ्नो पढाइमा उत्कष्ट गर्न सकेको छैन । यदि मलाई धेरै प्रश्न सोधियो भने मसँग त्यसको जबाफ पनि हुँदैन । मेरो मस्तिष्क खालीजस्तै छ ।’ 

यता, क्वानसँग पराजित १५ वर्षीया चेनले यसै ओलम्पिकको १० मिटर सिङ्क्रोनाइज इभेन्टमा स्वर्ण जित्दै आफ्नो डिफेन्डिङ च्याम्पियनको उपाधि सुरक्षित गरेकी थिइन् । तर, १० मिटरको प्ल्याटफर्ममा भने उनी क्वानसँग ३९.८० स्कोरले पछि परिन् । यसै विधामा कुल ३७१.४० अंकसहित अस्ट्रेलियाकी मेलिसा यु भने कांस्य पदक जित्न सफल भइन् ।

क्वान सबै सात जजबाट प्राप्त हुने परफेक्ट–१० स्कोरबाट पनि सम्मानित भइन् । उनले दोस्रो र तेस्रो डाइभमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । पाँचौं प्रयासमा पनि उनलाई छैटौं जजले १० अंक र अर्कोले ९.५ स्कोर प्रदान गरेका थिए । त्यससँगै उनलाई जितका लागि सहज बाटो मिलेको थियो ।

क्वानले आगामी पेरिस ओलम्पिकमा पनि आफ्नी बहिनीलाई प्रतिस्पर्धाका लागि प्रोत्साहन गर्ने बताएकी छन् । ‘म मेरी बहिनीलाई पनि कडा मिहिनेत गर्न भन्नेछु,’ क्वानले भनिन्, ‘मैले पनि पछिल्ला वर्ष राम्रो प्रशिक्षण गरेकी थिएँ । सन् २०२४ को ओलम्पिकमा पनि राम्रो तयारी गर्नेछु ।’ चीनले सातमध्ये डाइभिङ इभेन्टमा ६ स्वर्ण जितिसकेको छ । पाँच वर्षअघि रियो ओलम्पिकमा पनि आठमध्ये सात विधामा चीनले स्वर्ण जितेको थियो ।