बेन्जिमाको ह्याट्रिकमा रियाल मड्रिडको फराकिलो जित

मड्रिड, (खेलाडी)- करिम बेन्जिमाले ह्याट्रिक गरेको खेलमा इडुवार्डो कामाभिंगाले पनि रियाल मड्रिडका लागि ‘डेब्यु’ खेलमै गोलको खाता खोलेपछि टोलीले गए राति स्पेनिस ला लिगाअन्तर्गतको खेलमा सेल्टा भिगोमाथि ५-२ को जित हासिल गरेको छ ।

लामो समयपछि घरेलु सान्टियागो बेर्नाबेउ मैदानमा रियालले यही खेलमार्फत पुनरागमन जनाएको थियो । रियालले पछिल्लो पटक २०२० मार्च १ मा घरेलु मैदानमा खेलेको थियो । त्यसपछि पुर्ननिर्माणका कारण सान्टियागो बेर्नाबेउमा खेल हुन सकेको थिएन । 

रियालको मैदानमा सेल्टाले मध्यान्तरअघि दुई पटक अग्रता लिएको थियो । इयागो आस्पासको पासमा सान्टी मिनाले गोल गर्दै भ्रमणकारी सेल्टालाई चौथो मिनेटमै अग्रता दिलाएका थिए । तर फेडेरिको भाल्भार्डेको पासलाई बेन्जिमाले गोलमा परिणत गर्दै २४औं मिनेटमा खेल बराबरीमा ल्याए । फ्रांको केर्भीले ३१औं मिनेटमा गोल गर्दै सेल्टालाई पहिलो हाफसम्म २-१ को अग्रता दिलाए । 

दोस्रो हाफमा रियालले खेल पूर्ण रुपमा आफ्नो पक्षमा पार्यो । बेन्जिमाले दोस्रो हाफ सुरु हुनेवित्तिकै रियालका लागि बराबरी गोल गरे । उनले मिगुयल गुटिरेजको पासलाई ४६औं मिनेटमा गोलमा परिणत गरेका थिए । 

बेन्जिमाकै पासमा भिनिसियस जुनियरले ५४औं मिनेटमा गोल गर्दै रियाललाई ३-२ ले अघि बढाए । ७२औं मिनेटमा कामाभिंगाले रियालका लागि व्यक्तिगत गोलको खाता खोले भने समय सकिन तीन मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बेन्जिमाले ह्याट्रिक पूरा गरे । 

शनिबार रातिको खेलपछि फ्रान्सेली स्टार बेन्जिमाले नयाँ सिजनका चार खेलमा नौं गोलमा भूमिका खेल्न सफल भए । उनले पाँच गोल गर्नुका साथै चार गोलका लागि अवसर सिर्जना गरेका छन् । क्रिस्टियानो रोनाल्डोले यसअघि २०१४१५ को सिजनमा यस्तो उपलब्धि हासिल गरेका थिए । रियालको खेलाडीका रुपमा २१औं सताब्दीमा यस्तो उपलब्धि हासिल गर्ने रोनाल्डो र बेन्जिमामात्र हुन् ।

शनिबार राति अर्को खेलमा भ्यालेन्सियाले सुरुमा गोल खानाका बावजुद उत्कृष्ट पुनरागमनमा ओसासुनामाथि ४-१ को जित दर्ता गरायो । 

जोन मोङ्कायालाले आठौं मिनेटमा ओसासुनालाई घरेलु मैदानमा अग्रता दिलाए पनि त्यसपछि भ्यालेन्सियाले खेलमा एकतर्फी नियन्त्रण कायम गरेको थियो । 

भ्यालेन्सियाका लागि म्याक्सिमिलियानो गोमेजले २६औं मिनेटमा बराबरी गोल गरे । 

दोस्रो हाफमा टोलीका तर्फबाट तीन गोल हुँदा विपक्षी खेलाडी एरिडाने हर्नान्डेजले ५०औं मिनेटमा आत्मघाति गोलको उपहार दिए । गोन्जालो गुइडेसले ५५औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई ३-१ ले अघि बढाए । ओमार अल्डेरेटेले ७३औं मिनेटमा टोलीका तर्फबाट चौथो गोल गरे ।

स्पेनिस ला लिगामा गए राति नै भएको अर्को खेलमा रियाल सोसिडाडले काडिजमाथि २-० को जित दर्ता गरायो । समय सकिन सात मिनेट बाँकी रहँदा हुँवा कालाले रातो कार्ड सामना गरेपछि काडिज १० खेलाडीमा सिमित भएको खेलमा सोसिडाडलाई जित दिलाउन दुवै गोल मिकेल ओयार्जाबलले गरेका थिए । 

गएरातिका नतिजापछि रियाल र भ्यालेन्सिया समान १० अंकका साथ ला लिगा अंकतालिकाको शीर्ष दुई स्थानमा उक्लिएका छन् । एट्लेटिको मड्रिडको खातामा पनि समान १० अंक छ । सोसिडाड भने नौं अंकका साथ चौथो स्थानमा छ ।