बायर्न म्युनिखको फराकिलो जित

लिपजिग, (खेलाडी)- जुलियन नागेल्सम्यानको पूर्व क्लब आरबी लिपजिग भ्रमणमा शनिबार उनको टोली बायर्न म्युनिखले ४-१ को रवाफिलो जित हासिल गरेको छ । 

बायर्नका लागि क्लब छोड्नुका साथै आफूसँगै मार्सेल साबिट्जरलाई पनि लगेपछि लिपजिगका समर्थकहरु नागेल्सम्यानसँग क्रुद्ध थिए । जुन शनिबार रातिको नतिजाले झन बढाएको छ । 

रोबर्ट लेवान्डोवस्कीले पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जमाल मुसियालाले बायर्नको अग्रता दोब्बर पारे । लेरोए सानेले ५४औं मिनेटमा अर्को गोल गरेपछि बायर्नको जित पक्का भइसकेको थियो । 

कोनराड लाइमेरले ५८औं मिनेटमा घरेलु टोली लिपजिगका लागि एक गोल फर्काए । तर इरिक म्याक्सिम चुपो मोटिङले इन्जुरी समयमा बायर्नका लागि चौथो गोल गर्दै साविक विजेताको फराकिलो जित पक्का गरे ।