पुरानो छवि फर्काउने लक्ष्य

लन्डन, (खेलाडी)- समूह चरणका पहिलो दुई खेलमा लगातार अंक बाँढेपछि स्पेनले युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरणको यात्रा गर्ला भन्‍ने आशा थोरै समर्थकले मात्र गरेका थिए । 

तर समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५-० को रवाफिलो जित हासिल गर्दै तीन पटकको पूर्व च्याम्पियन टोलीले अन्तिम १६ को टिकट काट्यो । त्यसयता लुइस इनरिकेको टोलीले सफल नतिजाको यात्रालाई पनि निरन्तरता दिइरहेको छ ।

अन्तिम १६ मा क्रोएसियाको चुनौती ५-३ ले पन्छाएको टोलीले क्‍वार्टरफाइनलमा संगठित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

आठ वर्षपछि प्रमुख प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको स्पेनले अब भने साच्चै कडा चुनौती सामना गर्नुपर्नेछ । वेम्बली रंगशालामा मंगलबार मध्यरातमा नेपाली समयअनुसार पौने एक बजे स्पेनले चिर प्रतिद्वन्द्वी इटालीको सामना गर्नुपर्नेछ । 

स्पेन र इटालीबीच युरोपियन च्याम्पियनसिपमा भेट हुन लागेको यो लगातार चौथो पटक हो । पछिल्लो संस्करणमा इटालीले बाजी मारेको थियो भने त्यसअघिका दुई संस्करणमा उपाधि जित्‍ने क्रममा स्पेनले बाटोमा इटालीको चुनौती पन्छाएको थियो । तर स्पेनिस टोलीमा अहिले धेरै परिवर्तन भइसकेको छ । 

सन् २०१६ मा फ्रान्समा सम्पन्‍न युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा इटालीले स्पेनलाई २-० को नतिजामा हराएको थियो । यसअघि युरो २००८ को क्‍वार्टरफाइनलमा स्पेनले पेनाल्टी सुटआउटमा ४-३ को जित हासिल गरेको थियो भने त्यसको चार वर्षपछि फाइनलमा इटालीलाई नै ४-० को नतिजामा हराउदै उपाधि जितेको थियो । सन् २००८ को विजेता स्पेन २०१२ मा पनि च्याम्पियन बन्दै युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो । 

त्यसयता स्पेनले कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्‍न सकेको छैन । ८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्‍ने लक्ष्य लिएको स्पेनले त्यसका लागि सेमिफाइनलमा पुनः एक पटक इटालीको चुनौती पन्छाउनु पर्नेछ । 

‘मैले प्रतियोगिताको सुरुमै भनेको थिएँ की हामी प्रतियोगिताका प्रमुख आठ दाबेदारमध्ये एक हौं । अहिले हामी दाबेदार ४ टोलीमध्ये एक हौं,’ स्पेनका प्रशिक्षक इनरिकेले भने, ‘सुरुआती चरणमा धेरै संघर्ष गरे पनि अहिले भने टोली लयमा फर्किएको छ । इटालीविरुद्ध जितका साथ हामी उपाधियात्रामा एक कदम अघि बढ्न चाहन्छौं ।’

यता समूह चरणका तीनवटै खेलमा अब्बल देखिएको इटालीले अन्तिम १६ मा अस्ट्रियामाथि २-१ को जितका साथ क्‍वार्टरफाइनलमा स्थान पक्का गरेको थियो । क्‍वार्टरफाइनलमा विश्‍व नम्बर एक बेल्जियमलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको इटाली स्पेनविरुद्ध पनि उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

सन् २००६ को विश्‍वकप विजेता इटालीले त्यसपछि भने प्रमुख प्रतियोगिताको उपाधि जित्‍न सकेको छैन । यस पटक इटाली युरो २०२० को उपाधिका साथ आफ्नो पुरानो छवि फर्काउने लक्ष्यमा हुनेछ । 

‘हामीले बेल्जियमविरुद्ध २ गोल गर्‍यौं । यद्यपि हामीले गोलअन्तर बढाउने अवसर थुप्रै पाएका थियौं । तर त्यसको सदुपयोग भने गर्न सकेनौं,’ इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले भने, ‘अब हामीले स्पेनको चुनौती पार गर्नुछ । प्रतियोगितामा जति अघि बढ्यो त्यति कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्छ र हामी त्यसका लागि सधैं तयार छौं ।’