काठमाडौं । भारतको नाम जोडिँदा आउने हिन भावनाले एउटा नचाहेको श्रापजसरी पछ्याइरहँदा नेपाली फुटबलले दक्षिण एसियाली स्तरमा आफूलाई हकलाग्दो उपलब्धिसम्म पुर्याउन सकिरहेको छैन । विपक्षी निक्कै क्षमतावान अर्को कुनै नामको टिम हुँदा मैदानमा डटेर प्रस्तुत हुने नेपाल भारतविरुद्ध भने अधिकांश समय खेलअघि नै मनोवैज्ञानिक रुपमा ओइलाउने गर्छ ।
श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा यसपाली नेपाली युवा टोलीले एकपटक त्यो श्रापमाथि जित हासिल गर्यो । १७ वर्षमुनिको साफ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो खेल हुँदै थियो । पहिलो खेलमा सजिलो प्रतिद्वन्द्वी भुटानमाथि जित हासिल गरिसकेको नेपाली टोलीका किशोरहरुमा बेग्लै उर्जा थियो । जित यात्रालाई निरन्तरता दिने जोश थियो ।
रेसकोर्स रंगशालाको मैदानमा छिर्दासम्म पनि विपक्षीको नाम भारत भएको थाहा थियो, तर किशोर मश्तिष्कले त्यो नामबाट कुनै मनोवैज्ञानिक बोझ बोकेको थिएन । थियो त केवल एउटा महत्वपूर्ण खेलका लागि हुनुपर्ने स्वभाविक गम्भीरता ।
‘भारत बलियो छ भन्ने हामीले सधै सुन्दै आएको हो । तर, उमेर समूहमा हामी पनि कम छैनौं । मेहनत गरेर खेल्यो भने सजिलैसँग जित्छौं । आज जितेरै फर्किने हो,’ होटलबाट रंगशालातिर हानिदै गर्दा टिम बसमा नेपाली टिमका उपकप्तान सिमान्त थापाले भनेका थिए । संयोगवश कप्तान प्रशान्त लक्ष्यम चोटका कारण अनुपस्थित हुँदा भारतविरुद्धको त्यो खेलमा सिमान्तले नेपाली टोलीको नेतृत्व सम्हालेका थिए ।
नतिजा सिमान्तले भनेजस्तै भयो । सुरुमा गोल खाए पनि खेल सकिँदा स्कोरबोर्डमा नतिजा नेपालको पक्षमा ३-१ को थियो । सिमान्त र नेपाली टोलीको त्यो जोश, त्यो आत्मविश्वास अनि त्यो निर्भिकपना एक हप्ता पनि टिकेन । लगातार जितको यात्रा गर्दै फाइनल पुगेको नेपालले उपाधि भिडन्तमा फेरि भारतसँग प्रतिस्पर्धा गर्दा दृष्य फरक थियो । ४-० को नतिजासहित भारतले उपाधिमा कव्जा जमायो । नेपालको पहिलो पटक उपाधि जित्ने सपना अधुरै रहयो ।
समूह चरणमा खेलमाथि पूर्ण नियन्त्रण राख्दै नतिजा समेत ल्याएको नेपाली टोली त्यही विपक्षीसँग एक हप्तापछि नै यसरी निरिह भयो । किन त ? नेपाली फुटबलले उत्तर खोज्नुपर्ने गम्भीर प्रश्न हो यो ।
नेपाली युवा टोलीले दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैं उपाधि दाबेदारको रुपमा उभ्याउँदै आएको छ । दाबेदारका रुपमा छवि बनाए पनि नेपाली युवा टोलीको च्याम्पियन बन्ने सपना प्रायः अधुरै रहन्छ । यसपाली साफ यु-१७ च्याम्पियनसिप २०२२ मा जस्तै ।
‘कोलम्बोमा युवा खेलाडीका लागि आफ्नो पहिचान बदल्ने विशेष अवसर थियो । तर भारतको नामसँगै आउने दबाबका कारण हामी सफल हुन सकेनौं । भारत भनेपछि एउटा बेग्लै मनोवैज्ञानिक दबाब हुने गर्छ । सबै स्तरमा हामीलाई लामो समयदेखि भारतले निराश पार्दै आएको छ । त्यसैले हाम्रा समर्थकहरु पनि भारतसँगको खेललाई बढि महत्व दिन्छन्,’ नेपाली युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको विश्लेषण छ, ‘भारतसँग जित्न सक्यौं भने त्यसलाई धेरै महत्वपूर्ण मान्छन्, जसले गर्दा हामीलाई यसको ठूलो दबाब सिर्जना गर्छ । पहिलो खेलको जितले हामीलाई ठूलो उर्जा दिएको थियो, सँगै फेरि भारतसँग खेल्नुपर्ने भय पनि । सायद फाइनलमा हामी त्यही भयमा चुक्यौं ।’
यसअघि तीन पटक फाइनलमा तगारो बनेको भारत नै नेपालको च्याम्पियन बन्ने लक्ष्यमा फेरि बाधक बनेको थियो । समूह चरणमा नेपालले भारतमाथि ३-१ को जिते निकालकोे थियो । यसले टोलीको मनोबल उच्च बनेको थियो । १-० ले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गरेको नेपालले भारतविरुद्धको फाइनलमा पनि त्यस्तै नतिजा दोहोर्याउँछ भन्ने आशा गरिएको थियो । तर, फाइनलमा त्यो हुन सकेन ।
फाइनलको सुरुआती १५ मिनेट स्वाभाविक लयमा देखिएको नेपालले त्यसपछि भने क्रमिक रुपमा लय गुमायो । त्यसको प्रत्यक्ष फाइदा उठाउन भारतीय युवा टिम सफल भयो । भारतीय खेलाडीले एकपछि अर्को आक्रमण गर्दै पहिलो हाफमै दुई गोलको अग्रता लिएका थिए । नेपाल पहिलो हाफमा २-० ले पछि मात्र परेनको थिए । कप्तान प्रशान्त लक्ष्यमलाई गुमाउनुपरेको थियो । उनलाई भारतीय खेलाडीमाथि हातपात गरेवापत रातो कार्ड देखाएर रेफ्रीले मैदानबाहिर पठाएका थिए । प्रशान्तको रातो कार्ड टोलीका लागि महँगो बन्यो ।
मिडफिल्ड र रक्षापंक्तिबीचको तालमेल अभावमा दुई गोल खाएको नेपालले कप्तानसमेत गुमाएपछि विपक्षीको आक्रमण रोक्नुमै खेल केन्द्रित गर्नुपरेको थियो । नेपालले करिब ५२ मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थियो । एक खेलाडी कम लिएर खेल्नाका बावजुद नेपालले गोल गर्ने अवसर नपाएको होइन । तर, नेपाली खेलाडीको प्रहारमा भारतका गोलरक्षक साहिल बाधक बनिरहे । अन्ततः नेपालले ४-० को नतिजा सुम्पिएर फेरि उपाधि गुमाएको थियो ।
समूह चरण र सेमिफाइनलमा नेपालको प्रदर्शन
साफ यु-१७ च्याम्पियनसिपको समूह ‘बी’मा नेपालसँगै साबिक विजेता भारत र भुटान थिए । समूह ‘ए’ मा भने आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स थिए ।
सन् २०११ बाट सुरु यु-१७ प्रतियोगिताको छैटौ संस्करणसम्म आइपुग्दा तीन पटक फाइनल पुगेको नेपालले सबै संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । त्यसैले सातौं संस्करणमा पनि नेपाललाई उपाधि दाबेदार टोलीका रुपमा लिइएको थियो ।
समूह ‘बी’को पहिलो खेलमा नेपालले भुटानलाई २-१ ले हरायो । यस खेलमा नेपाली टोली लयमा भने देखिएको थिएन । खुला छनोटबाट छानिएका खेलाडीहरूले ठूलो प्रतियोगिता खेलेको यो नै पहिलो अवसर थियो । त्यसैले टोलीले आशा गरिएअनुसार प्रदर्शन गर्न सकेन ।
तर, समूह चरणको दोस्रो खेलमा भारतविरुद्ध निकालेको पुनरागमन जितले भने नेपाली टोलीलाई प्रतियोगिताकै दाबेदार टोलीमा उभ्याएको थियो । श्रीलंकामाथि सेमिफाइनलमा निकालेको ६-० को रवाफिलो जितले समेत नेपालको लय झल्काउँथ्यो । तथापि फाइनलमा भने नेपालले भारतमाथि समूह चरणमा निकालेको नतिजा पनि दोहोर्याउन सकेन ।
भारतसँगै खराब इतिहास
नेपाली युवा टोली यु-१७ साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित भएको यो चौथो पटक हो । भारतमाथि समूह चरणमा निकालेको जित नेपाली युवा टोलीले उमेर समूहमा छिमेकीविरुद्ध निकालेको पहिलो जित थियो ।
सन् २०११ मा साफ यु-१६ को रुपमा पहिलो संस्करण भएको थियो । यसको उपाधि पाकिस्तानले जितेको थियो । जहाँ नेपालको यात्रा सेमिफाइनलमै रोकिएको थियो । सेमिफाइनलमा त्यतिबेला नेपालले नतिजा भारतलाई सुम्पिएको थियो । दोस्रो संस्करणमा फाइनलको यात्रा तय गरेको नेपाल भारतसँग पराजित भएर उपाधि गुमाउन पुग्यो । सन् २०१५ को तेस्रो संस्करणमा पनि नेपालको यात्रा अन्तिम चारमै रोकिएको थियो ।
सन् २०१७ को यु-१५ को उमेर समूहमा सम्पन्न प्रतियोगिताको फाइनल प्रवेश गरे पनि नेपाल पुनः भारतसँग स्तब्ध भयो । सन् २०१८ मा भने नेपाल पाकिस्तानसँग सेमिफाइनलमा निराश भयो । सन् २०१९ मा पनि नेपालले भारतलाई नै फाइनलमा नतिजा सुम्पिएपछि उपविजेतामा सीमित बन्नुपरेको थियो ।
युवा टोलीबाट पलाएको आस
नेपालले यसपालि प्रतियोगिताका तीन खेल (समूह चरण र सेमिफाइनल)मा कुल ११ गोल गर्यो भने २ गोलमात्र बेहोर्यो ।
११ मध्ये १० गोल स्ट्राइकर र मिडफिल्डरबाट निस्किएको थियो भने एक गोल रक्षकले गरेका थिए ।
मुख्य प्रशिक्षक श्रेष्ठले सबै खेलमा ३-४-२-१ को संरचनामा टिम मैदान उतारेका थिए । प्रतियोगिताको चारै खेलमा प्रशिक्षक श्रेष्ठले सुवास बमलाई स्ट्राइकरको रुपमा खेलाए । नीरज कार्की, हरिश भट्ट, लक्षु थापा, युनिश बुुढाथोकी, प्रशान्त लक्ष्यम मिडफिल्डरको भूमिकामा रहे भने दीपक थापामगर, सीमान्त थापा, अश्विन घोरासैनी र निशान्त तामाङले रक्षापक्तिको बागडोर सम्हालेका थिए ।
नेपालले गरेको ११ गोलमध्ये युनिश बुढाथोकीले ३, नीरज कार्की, हरिश भट्ट र सुवास बमले समान २ तथा सरोज दर्लामी र सीमान्त थापाले १-१ गोल गरेका थिए ।
नेपालले प्रतियोगिताका लागि करिब एक महिनाअघि खुला छनोटमार्फत टिम छानेको थियो । जहाँ एन्फा एकेडेमीका केही दर्जनसहित कुल १७ सय किशोरहरुको भिडबाट अन्तिम टोली निर्माण गरिएको थियो । प्रतियोगिता सुुरु हुनु एक दिन बाँकी रहँदा अन्तिम टोली घोषणा गरेको नेपालले यस स्थितिमा जुन तरिकाको नतिजा ल्यायो, त्यो निकै प्रशंसनीय छ ।
प्रशंसनीय यसअर्थमा की, नेपाली टोली पूर्ण रुपमा ‘रअ’ (कोरा) थियो । टिमलाई आधुनिक फुटबलको प्राविधिक अनुशासनको कुनै ज्ञान थिएन । ज्ञान दिइएको पनि थिएन । भारतको जस्तो युवा विकास परियोजनाको ‘सिस्टम’बाट नेपाली टोली तयार गरिएको थिएन । कुरा नचपाई गर्दा नेपालको सहभागिता झारो टार्ने पारामै सीमित थियो ।
प्रतियोगितामा सहभागी अन्य सबै टोली ६ महिनाभन्दा बढीको बन्द प्रशिक्षणबाट कोलम्बो पुगेका थिए । तर कमजोर तयारीको भरमा कोलम्बो पुगेको नेपाली युवा टोलीको प्रदर्शनबाट आसा गर्ने ठाउँ भने थुप्रै भेटिएको छ । जसबाट आगामी महिना भियतनाममा हुने एएफसी यु-१७ छनोटमा फाइदा उठाउन सकिनेमा प्रशिक्षक श्रेष्ठ विश्वस्त छन् ।
‘हामीले प्रतियोगिताका लागि खुला छनोटबाट खेलाडी छानेका थियौं । यो उनीहरूका लागि पहिलो प्रतियोगिता थियो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘उनीहरुले प्रतियोगितामा गरेको प्रदर्शनबाट आशा पलाएको छ । हो हामी भारतलाई हराउँदै उपाधि जित्ने विशेष अवसरबाट चुक्यौं तर हाम्रा लागि प्रतियोगिता निकै फाइदाजनक रह्यो । यहाँ गरेको प्रदर्शन भियतनामका लागि निकै फलदायी हुने हाम्रो विश्वास छ ।’