सहिद स्मारक ‘ए’ डिभिजन लिग

ए डिभिजन लिगका केही चर्चित प्रसङ्ग

काठमाडौं । कोभिड–१९ को त्रासबीच पहिलो पटक सन्ध्याकालीन खेलको प्रयोगसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग गत हप्ता दशरथ रंगशालामा सम्पन्न भइसकेको छ । सप्ताहन्त र होम एन्ड अवेको चर्का नारा दिइए पनि व्यवहारमा आफ्नै नारामाथि झारो टार्दै सम्पन्न लिगले चर्चा लायक केही प्रसङ्ग भने छोडेर गएको छ ।

मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको लिगको यही संस्करणबाट च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले शीर्ष डिभिजनको हैसियत गुमाएका छन् । नेपाली फुटबलमा हुने सबैखाले प्रतियोगितामा उपाधिमाथि सधैं बलियो दाबेदारी प्रस्तुत गर्ने मनाङ मर्स्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी फुटबल क्लबलगायतको प्रदर्शन बिर्सनलायक रह्यो । नवप्रवेशी सातदोबाटो युथ क्लब जायन्ट किलरको रूपमा प्रस्तुत हुँदा सशस्त्र प्रहरी बलको एपिएफ र फ्रेन्ड्स क्लबले नाटकीय पुनरागमनका साथ हैसियत जोगाए ।

मछिन्द्र स्थापित

२०७६ सालमा पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेताको ताज पहिरिएको मछिन्द्र फुटबल क्लबले यस सिजन उपाधि रक्षा गर्दै आफूलाई नेपाली फुटबलमा महारथीको हैसियतमा उभ्यायो ।

यस सिजन मछिन्द्रसामु मुख्यतः दुई चुनौती थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवौं चरणको समाप्तिसम्म शीर्षस्थानमा रहने टोलीले नेपाली लिग विजेताको हैसियतमा एएफसी कप छनोट खेल्ने जनाइसकेको थियो । पछि एन्फाले सातांंै चरणसम्म शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्सप्राप्त क्लबले सो प्रतियोगिता खेल्ने घोषणा गरेको थियो ।

मछिन्द्रले लिग अवधिभर कुनै खेल पनि गुमाएन । छैटौं चरणमा लिगकै दाबेदार मनाङ मस्र्याङदी क्लबलाई हराएपछि मछिन्द्रले शीर्षस्थानमा एकतर्फी अग्रता बनाइरह्यो । ११औं चरणमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई हराउँदै दुई चरणअगावै उपाधि रक्षा अभियानलाई पूर्णता दिएको थियो ।

मछिन्द्रको उपाधिमा थप एक उपलब्धि गोलकिपर विशाल श्रेष्ठले लगातार ११ खेलमा राखेको क्लिन सिट पनि थियो । एनआरटीविरुद्ध खेल्दा ५८औं मिनेटमा गोल खाएका विशालले १३औं चरणमा एपिएफसँग खेल्दा मात्र गोल खाएका थिए । यसबीच उनले एक हजार ८४ मिनेट गोल नखाएको कीर्तिमान राखे । लिग अवधिभर मछिन्द्रले दुई गोलमात्र खाएको थियो ।

त्यस्तै मछिन्द्रले लिग अवधिभर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमानसमेत रच्यो । यसअघि २०७५ सालमा मनाङ उक्त कीर्तिमानको संघारमा पुगे पनि अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग निराश भएको थियो ।

आर्मीको स्थान उपविजेता  

२०७६ सालको लिगमा आर्मी उपाधि नजिक पुगेको थियो । अन्तिम खेलमा मछिन्द्र क्लबसँग १ अंक जोडे मात्र आर्मीले उपाधि जित्ने थियो । तर मछिन्द्रलाई आत्मघाती गोल उपहार दिएपछि आर्मी उपविजेतामा सीमित बन्यो ।

यस सिजनको लिगमा अपराजित रहनेमा मछिन्द्रसँगै आर्मी पनि थियो । १३ मध्ये ५ खेल जितेको आर्मीले ८ खेल बराबरीमा टुंग्याएको थियो । यसका बाबजुत आर्मीको नियतिमा भने यसपालि पनि कुनै परिवर्तन आएन । आर्मीको स्थान नै उपविजेता जस्तो साबित भयो ।

लिग विजेताको टुंगो ११ औं चरणमा लागिसकेको थियो । अन्तिम दिन उपविजेताका लागि तीन टोली प्रतिस्पर्धामा थिए । आर्मीले मनाङलाई बराबरीमा रोकेसँगै उपविजेता बन्यो । मनाङ बराबरीमा रोकिँदा एनआरटीले भने अनपेक्षित रूपमा तेस्रो स्थान हासिल ग¥यो ।

सातदोबाटोको उदय

सातदोबाटो युथ क्लब गत सिजन ‘बी’ डिभिजनको विजेता भएर शीर्ष डिभिजनमा बढुवा भएको थियो । सिजनको सुरुआतमै सातादोबाटोका प्रशिक्षक मेघराज केसीले आफूहरू नयाँ टोली भए पनि यसपालिको लिगमा कमजोर नआँक्न आग्रह गरेका थिए । भयो पनि त्यस्तै । सातदोबाटोले दोस्रो खेलमै थ्री स्टार क्लबलाई हराएर आफूलाई ‘जायन्ट किलर’को रूपमा उभ्याउने संकेत गरेको थियो ।

सातदोबाटोले २१ अंकसहित चौथो स्थानमा बस्दै सिजनको अन्त्य गर्यो । यस क्रममा सातदोबाटोले उपाधि दाबेदार मनाङलाई हरायो । तीन विभागीय टोलीमध्ये आर्मीसँग बराबरी खेलेको सातदोबाटोले नेपाल पुलिस क्लब र एपिएफलाई पनि हरायो ।

एपिएफको पुनरागमन

लिगको सुरुआती तीन चरणमा लगातार हार बेहोरेपछि एपिएफलाई रेलिगेसनको मुख्य दाबेदारमा हेरिएको थियो । तर एपिएफले एएफसी क्लब लाइसेन्सप्राप्त भएसँगै विदशी खेलाडी अनुबन्धन ग¥यो । विभागीय क्लब इतिहासमा लिगका लागि विदेशी खेलाडी अनुबन्धन गर्ने एपिएफ पहिलो टोली बन्यो ।

विदेशी खेलाडी अनुबन्धन गरेसँगै सुधारिएको प्रदर्शन गरेको एपिएफले यस अन्ततः आफूलाई सहजै रेलिसेनबाट जोगायो । अन्तिम खेलमा मछिन्द्र क्लबलाई २–१ को नतिजा सुम्पिएसँगै एपिएफले कायम गरेको ९ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

दाबेदारहरूको बिर्सनलायक प्रदर्शन

मनाङ, आर्मी, थ्री स्टार र पुलिस क्लबलाई नेपाली फुटबलमा सधैं उपाधि दाबेदार टोलीका रूपमा हेरिन्छ । तर यसपालि यी चारवटै टोलीका लागि लिगको प्रदर्शन बिर्सनलायक रह्यो ।

छैटौं चरणसम्म शीर्षस्थानमा रहेर उपाधिमा दाबेदारी प्रस्तुत गरे पनि सातौं चरणको खेलमा मछिन्द्रसँग पराजित भएपछि मनाङले लय गुमायो । अन्तिम खेलमा आर्मीसँग बराबरी खेलेपछि अन्ततः मनाङले पाँचौं स्थानमा बस्दै लिगको अन्त्य गर्यो ।

थ्री स्टारका लागि पनि अवस्था उही रह्यो । पहिलो खेलमा च्यासलमाथि जित हासिल गरे पनि त्यसपछि लगातार संघर्षरत प्रदर्शनमा सीमित थ्री स्टारले छैटौं स्थानमा रहेर सिजनको टुंग्याएको हो ।

पुलिस क्लब ११औं चरणसम्म पनि रेलिगेसनको दाबेदार थियो । सम्भवतः लिग इतिहासमै पुलिसको यो सबैभन्दा खराब सिजन थियो । १३ मध्ये २ खेलमात्र जितेको पुलिसले ११ औं स्थानमा रहेर लिग यात्रामा विराम लगायो ।

फ्रेन्ड्सको ‘बुस्टर डोज’

नवौं चरणसम्म ३ बराबरी र ६ हार नतिजा बेहोरेको फ्रेन्ड्स यसपालि रेलिगेसनको दाबेदार टोली नै थियो । १०औं चरणअघि फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले टोलीलाई बुस्टर डोजको खाँचो भएको र बिबिसीविरुद्धको खेलमा जितको बुस्टर डोज लगाउने बताएका थिए । बिबिसीविरुद्ध फ्रेन्डसले ३ अंकको बुस्टर डोज लगायो ।

११औैं चरणमा फ्रेन्ड्सले जावलाखेल युथलाई बराबरीमा रोक्यो । १२औं चरणमा च्यासलमाथि जितसहित फ्रेन्ड्सले रेलिगेसन टार्ने सम्भावना बढाएको थियो । बिबिसीले १२औं चरणमा सातदोबाटोलाई नतिजा सुम्पिएपछि फ्रेन्डस ‘ए’ डिभिजनमा हैसियत जोगाउन सफल भयो ।

होम एन्ड अवे र सप्ताहन्त लिग

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपालि होम एन्ड अवेको अवधारणा प्रयोग गर्ने घोषणा गरेको थियो । मनाङले पोखरा रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गर्ने पक्का भएपछि एन्फाले यस्तो घोषणा गरेको थियो ।

मनाङका केही खेल पोखरा रंगशालामा गराउने योजनाका भरमा एन्फाले गरेको यस्तो हचुवा घोषणा अन्य क्लबको घरेलु मैदान नहुँदा सम्भव थिएन नै । त्यसमाथि होेम एन्ड अवे लिग गराउन सबै क्लबको घरेलु मैदान हुनुपर्छ भन्ने तथ्य एन्फाले नबुझेको पक्कै पनि थिएन । यो त खालि समर्थकलाई अल्मल्याउने हावादारी नारामात्र थियो ।

यसैगरी एन्फाले खेलाडीलाई पर्याप्त आराम दिने तथा दर्शकलाई पनि खेल हेर्न समय मिलाउन सजिलो पार्ने भन्दै यसपालिदेखि सप्ताहन्त लिग गर्ने घोषणा गर्यो ।

त्यसका लागि दशरथ रंगशालासँगै निर्माण कार्य नै सम्पन्न भइनसकेको च्यासल रंगशाला, एन्फा कम्प्लेक्स र पोखरा रंगशालामा खेल गराउने एन्फाले बतायो । तर वास्तविक होम एन्ड अवे पद्धतिमा नहुने लिगमा आफूलाई सोझै घाटा हुने अवे खेल खेल्न पोखरा भ्रमणका लागि अन्य क्लबले नमानेपछि मनाङको मैदानमा तीनमात्र खेल सम्भव भयो ।

च्यासल रंगशाला तयार भएकै थिएन । एन्फा कम्प्लेक्समा सात वटा खेल गराइयो । अनि सप्ताहन्त भनिएको लिगमा हप्ताको चार दिन नियमित खेल गराइयो भने पछिल्ला चरणमा त हप्तामा ६ दिन पनि खेल भयो ।

मनीषको चोट

माघ २९ गतेका दिन दशरथ रंगशाला एउटा अत्यन्तै दर्दनाक दुर्घटनाबाट मुस्किलले जोगियो । च्यासल युथ क्लबविरुद्धको खेलमा विपक्षी खेलाडीसँग टाउको ठोक्किँदा मनीष डाँगी बेहोस भएर मैदानमै मूच्र्छित भएका थिए । रन्जित धिमालले पास दिएको बलमा हेडर प्रयासका लागि उफ्रिएका मनीष च्यासलका केत्चा यानिकसँग ठोक्किँदा मुच्र्छित भए । ठोक्किने बित्तिकै मैदानमा ढलेका मनीषलाई होसमा ल्याउन सिपिआर दिनुपरेको थियो ।

रंगशालामा घरेलु फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित लिग चलिहरँदा पनि डाक्टर उपलब्ध नहुँदा मनीषको प्राथमिक उपचार फिजियोथेरापिस्टमै निर्भर रह्यो । यद्यपि, केहीबेरको उपचारपछि होसमा आएका मनीषलाई ब्लुक्रस अस्पतालमा पुर्याउँदा उनी खतरामुक्त भए । तर नेपाली फुटबलमा बिरलै देखिने दृश्यले प्रतियोगिता आयोजकलाई डाक्टरप्रति संवेदनशील बन्न ढ्याङ्ग्रो बजाएको छ । त्यो खेलमा मनीषलाई पूर्ण रूपमा बेहोस हुन नदिन च्यासलका दुई खेलाडी केत्चा र मोसा अबागानाले देखाएको ‘स्पोर्ट्सम्यानसिप’ पनि मुक्तकण्ठले प्रशंसा गर्न लायक थियो ।