मंसिर २, २०८२ मंगलबार | २२:१९:०४
लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
शनिबारको दिन सहिद स्मारक लिग

कम छैनन् महिला

पछिल्ला वर्षहरूमा नेपाली फुटबलले व्यावसायिक बाटो समाउन खोजेको भन्दै गरिने प्रचारको स्वर निकै चर्को छ । यदाकदा हुने पुरुष फुटबलका गतिविधि हेर्दा र एन्फाको कागजी प्रतिवेदन देख्दा हो कि जस्तो लाग्न पनि सक्छ ।

पक्कै पनि पुरुष फुटबलका गतिविधिले खेलाडीलाई थोरै राहत मिलेको छ । तर, महिला फुटबलको हकमा के त ?

व्यवहारमा सिन्को नभाँचे पनि राजनीतिक रूपमा समानताको नारा घन्काउन सिपालु भएकाले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग औपचारिक जवाफ राम्रै हुनसक्छ । तर, महिला फुटबलमा समर्पितहरूको भनाइ मान्ने हो भने महिला फुटबल नेपालमा अत्यन्तै अपहेलित छ । राष्ट्रिय खेलाडीको तलब बराबर गर्नुबाहेक एन्फाले महिला फुटबललाई खासै महत्व दिएको छैनभन्दा हुन्छ ।

महिला फुटबलमा गतिविधि नै अत्यन्त न्युन मात्रामा हुने कारण खेलाडी र प्रशिक्षक मारमा छन् । सँगै फुटबलको अर्को अपरिहार्य पक्ष निर्णायकहरूको विषयमा नेपाली फुटबलको प्रशासन पूर्णतः उदासीन हुँदा महिला रेफ्रीको कथा झनै बढी दर्दनाक छ ।

‘रेफ्रीविना प्रतियोगिता सम्भव हुँदैन । तर हाम्रो पेसा नै यस्तो हो कि जहाँ खेलाडीजस्तो नाम र ऐश्वर्य पाउन सक्दैनौं । लोकप्रिय नभए पनि रेफ्री भएर बाँच्न सक्ने वातावरण पनि नेपालमा छैन । जसका कारण रेफ्री बन्ने आकर्षण छैन,’ पूर्वफिफा रेफ्री अस्मिता मानन्धर भन्छिन्, ‘महिला फुटबललाई जीवन्त राख्ने हो भने रेफ्रीको विषयमा पनि सम्बन्धित निकाय गम्भीर भएर लाग्नुको विकल्प छैन ।’

समग्रमै रेफ्री पेसा अपहेलित रहेको नेपालमा महिला रेफ्रीहरूको अवस्था झनै कमजोर छ । तर, नेपालबाट कल्पना शर्मापछि फिफाको ब्याच पाउने दोस्रो महिला रेफ्री अस्मिताको विचारमा पछिल्लो समय महिला रेफ्रीहरूको स्तरमा राम्रो सुधार भएको छ । फिफा ब्याच पाउने महिला रेफ्रीका लागि पुरुषसरह नै मासिक १० हजार रुपैयाँ एन्फाले उपलब्ध गराउने भएकाले थोरै ऊर्जा मिल्ने उनी सुनाउँछिन् ।

एन्फाले महिलालाई पनि मासिक १० हजार भत्ताको रूपमा दिने निर्णय गरे पनि त्यो फिफा ब्याच पाउनेले मात्र प्राप्त गर्न सक्छन् । नेपालमा फिफा ब्याच प्राप्त गर्ने महिला रेफ्री दुई जनामात्र छन् । फिफाको कोटाअनुसार नेपालबाट एकजना रेफ्री र एकजना सहायक रेफ्रीले फिफा ब्याच पाउँछन् ।

नेपालजस्तो पुरुषप्रधान समाज भएको देशमा सबै पेसामा पुरुषको तुलनामा महिलालाई गाह्रो हुने अस्मिता र उनका सहकर्मी रेफ्रीहरूले राम्ररी बुझेका छन् । त्यसैले त उनीहरू कुनै सुविधा नभए पनि फुटबलप्रतिको लगावकै कारण विनागुनासो रेफ्रीको अपजसे काममा समर्पित भइरहेका छन् ।

‘जुनै पेसामा पनि महिलालाई समस्या छ । त्यसमाथि शारीरिक रूपमा सधैं फिट भइरहनुपर्ने रेफ्री बन्नका लागि आफ्नै चुनौतीहरू हुन्छन् । पूरा ९० मिनेटसम्म दौडनुपर्छ । आफ्नो फिटनेस बनाइराख्न प्रत्येक दिन प्रशिक्षण गर्नुपर्छ,’ उनी भन्छिन्, ‘विवाहअघिसम्म त ठीकै हुन्छ । तर विवाहपछि समस्या बढ्छ ।’

खेलाडीजस्तै फिटनेसका लागि नियमित अभ्यास गर्नुपर्ने कारण विवाहित महिलालाई कठिन हुने उनको बुझाइ छ । विवाहित महिलालाई एकाबिहानै कट्टु लगाएर अभ्यासमा जाने छुट अधिकांश अवस्थामा नेपालमा हुँदैन । तथापि आफूले भने परिवारको पूर्ण साथ पाएको उनले सुनाइन् ।

अभ्यास र प्रतियोगिताका बेला घरमा श्रीमान, बच्चा वा परिवारका अन्य सदस्य बिरामी पर्दा समेत छाडेर मैदानमा दौड्नुपरेको अनुभव छ उनीसँग ।

‘महिलालाई एकदमै गाह्रो हुन्छ । तर मेरो परिवार धेरै बुझ्ने भएकाले आज मलाई यहीं पेसाबाट सबैले चिनेका छन् । यो स्थानसम्म आएको छु,’ उनले गर्वसाथ भनिन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वखेलाडी अस्मिताले चोटका कारण यसपालि फिफा रेफ्रीको परीक्षा दिइनन् । नेपाललाई प्रतिनिधित्व गर्दै अञ्जना राईले रेफ्री तथा बिना श्रेष्ठले सहायक रेफ्रीको फिफा ब्याच पाएका छन् ।

नेपालमा महिला रेफ्रीको स्तर कम नभएको दाबी गर्ने अस्मिताले मोफसलका केही प्रतियोगितामा पुरुषको प्रतिस्पर्धा पनि खेलाएकी थिइन् । केन्द्रीय स्तरमा भने महिलाले कम मौका पाएको उनको गुनासो छ । उसै रेफ्रीको पेसा अपहेलित, त्यसमाथि पनि महिला फुटबलमा प्रतियोगिता नहुने, भएका थोरै पुरुष प्रतियोगितामा पनि मौका नपाउँदा महिला रेफ्रीले आफ्नो स्तरवृद्धि गर्ने मौकासँगै आर्थिक उपार्जनको अवसर पनि गुमाउनुपर्ने उनको भोगाइ छ ।

फिफाको एलिट रेफ्री भएपछि अन्तर्राष्ट्रिय खेल पनि गराएकी उनको विचारमा फुटबलमा निर्णायकको भूमिकामा निरन्तरता दिनका लागि अर्को छुट्टै जागिर पनि आवश्यक पर्छ । ‘एलिट रेफ्री भएपछि मैले केही अन्तर्राष्ट्रिय खेल पनि खेलाएँ । एउटा अन्तर्राष्ट्रिय खेल गराउँदा ५ सय डलर पाउँथ्यौं । त्यसले सहयोग हुन्थ्यो । तर त्यस्तो मौका सधैं पाइन्न,’ जावलाखेलस्थित सेन्ट मेरिज स्कुलकी अध्यापिका अस्मिताले भनिन् ।

‘देशमै पनि फिफा ब्याच हुनेले कम्तीमा मासिक १० हजार पाउँछन्, बाँकी रेफ्रीले केही पाउँदैनन् । प्रतियोगिता हुँदा निश्चित पैसा कमाइन्छ, तर प्रतियोगिता नै नियमित नभएपछि त्यो बाटो पनि रहँदैन । त्यसैले रेफ्री हुने हो भने जीवनयापनका लागि चाहिँ अर्को जागिर वा पेसा हुनु अनिवार्य छ,’ उनले थपिन् ।

सन् २०१९ मा थाइल्यान्डमा भएको ओलम्पिक छनोट र एसियन छनोट प्रतियोगिताका खेलहरू खेलाएकी अस्मितालाई रेफ्री पेसाबाट कुनै गुनासो भने छैन । उनीमात्र होइन, साँचो अर्थमा पेसा बन्नै नसकेको कामबाट उनका साथी रेफ्रीहरू पनि खुसी नै छन् ।

‘यो हाम्रो सोख र लगाव हो । धेरै चुनौती हुन्छन् । हामीलाई यही पेसाले परिचय दिएको छ । आफ्नो मनपर्ने खेल भएकाले हामीहरू खुसीसाथ चुनौती स्वीकारिरहेका छौं,’ अस्मिता भन्छिन् ।

महिला रेफ्रीहरू विभेदको गहिरो खाडलमा निसासिइरहँदा एन्फाका महासचिव इन्द्रमान तुलाधर भने फिफा ब्याच पाउने महिला र पुरुष रेफ्रीलाई समान भत्ता दिएको प्रसंग उप्काउँदै विभेद नगरेको तर्क गर्छन् ।

‘फिफा रेफ्रीलाई समस्या छैन । हामीले पुरुष र महिला रेफ्रीमा विभेद नगरिकन तलब बराबर दिइरहेका छौं । प्रतियोगिताहरू कम हुने भएकाले गाह्रो नै छ । तर रेफ्रीहरू फुटसल, राजधानीबाहिरका प्रतियोगिता खेलाउन जान्छन् । त्यताबाट पनि राम्रै कमाइ भइरहेको हुन्छ,’ खेलाडीसँगको कुराकानीमा महासचिव तुलाधर भन्छन्, ‘पुरुषको तुलनामा महिलाको प्रतियोगिता त्यति धेरै हुँदैन । पुरुषको भ्याइनभ्याइ छ भने महिलाको त्यस्तो छैन । तर काम नै नपाउने भन्ने छैन । हामीले लिगहरू गरिरहेका छौं, प्रतियोगिताहरू पनि भइरहेका छन् ।’

एन्फाको तथ्यांकमा अहिले नेपालमा २३ महिला रेफ्री छन् । जसमध्ये पहिलो श्रेणीमा दुई रेफ्री र तीन सहायक रेफ्री छन् । अस्मिता मानन्धर र माया लामा रेफ्री हुन् भने मेरिना धिमाल, राधिका शाक्य र लक्ष्मी श्रेष्ठ सहायक रेफ्री हुन् ।

यसैगरी दोस्रो श्रेणीमा एक रेफ्री रञ्जना याल्मो तथा तीन सहायक रेफ्रीहरू उमा श्रेष्ठ, सरस्वती लो र सानुमाया मगर छन् । रेफ्रीको आधारभूत तालिममात्र गरेका १४ महिला रेफ्री रहेको एन्फा रेफ्री विभाग प्रमुख गोकुल थापा बताउँछन् ।

‘पहिलाभन्दा महिला रेफ्रीको अवस्था एकदमै राम्रो छ । महिलालाई भेदभाव नहोस् भनेर उनीहरूको प्रशिक्षण पुरुषसँगै गराउँछौ,’ थापाले भने ।

महिला रेफ्रीको फिटनेस राम्रो भएको अवस्थामा पुरुषको प्रतियोगिता खेलाउन पाउने उनी बताउँछन् । तर, नेपालमा फिटनेसकै कारण महिलाले पुरुषको प्रतियोगितामा धेरै मौका नपाएको उनको जिकिर छ ।