नेपाली फुटबल

कोरियन शैलीका मनीषको यात्रा

२०७५ साल चैतको प्रसंग हो यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसनबिनाको ‘ए’ डिभिजन फुटबल लिग आयोजना गरेको थियो ।

शीर्ष डिभिजनदेखि नै बिना रेलिगेसन लिग हुँदा ‘बी’ डिभिजन र ‘सी’ समेत बिना रेलिगेसनको नहुने कुरै भएन । त्यतिबेला ‘सी’ डिभिजन लिगको च्याम्पियन बन्यो खालीबारी युवा क्लब ।

बिना रेलिगेसनको लिग, त्यही कारण पनि सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको प्रतियोगितामा खेलाउन र खेल्नेबाहेक हेर्नेको संख्या नै कम थियो ।  

सोही लिगका क्रममा मैदानमा एक त्यस्ता खेलाडी थिए, जसले रंगशालामा उपस्थित भएकाको ध्यान तानेको थियो । उनी थिए, भर्खरै कोरियन एकेडेमीबाट ग्रासरुट फुटबलमा निपुण भएर आएका मनीष डाँगी ।

यिनै खेलाडीको प्रदर्शनबाट खालीबारी युवा क्लब च्याम्पियनमात्रै भएन । उपस्थित दर्शक, खेलाडी, एन्फा पदाधिकारी, टेक्निकल टिम, सम्पूर्णले नेपाली फुटबलमा देखिरहेको भन्दा बेग्लै खेलको अनुभवसमेत साट्न पाए ।

खासमा आमाबुबासँगै दक्षिण कोरियामा बस्दै आएका मनीष फुटबल खेल्नभन्दा पनि नेपाली नागरिकता बनाउन नेपाल आएका थिए । त्यही मौकामा मनीषले सहिद स्मारक ‘सी’ डिभिजन लिग खेल्ने मौका पाएका थिए ।

यसअघि नेपाल रहँदा मनीषको स्कुलका प्रशिक्षक थिए, उर्जन श्रेष्ठ । मनीष नेपाल फर्किएको थाहा पाएपछि हाल ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक उर्जनले उनलाई भेटे ।

कसरी पुगे त खालीबारी युवा क्लबमा मनीष ? खालीबारीका सचिव हुन् महेश श्रेष्ठ । एन्फाको सुरक्षा विभागमा रहेका महेश र प्रशिक्षक उर्जनबीचको सम्बन्ध राम्रो छ । महेशको पनि मनीषको परिवारसँग राम्रो चिनजान थियो । महेशले उर्जनमार्फत मनीषलाई खालीबारीबाट लिगका बाँकी तीन खेल खेल्न आग्रह गरे ।

मनीष र उनको परिवारले क्लबको उक्त आग्रहलाई स्वीकार्यो । मनीष ‘सी’ डिभिजन लिग खेल्न तयार भए । त्यहीअनुसार उनले ‘सी’ डिभिजनका तीन खेल खेले । जहाँ उनले पाँच गोल गरेका थिए । पहिलो खेलमा ओसिस क्लबविरुद्ध दोस्रो हाफमा मैदान छिरेर एक गोल गरे पनि मनीषले टोलीको हार टार्न सकेनन् । तर, दोस्रो खेलमा वीरगन्जविरुद्ध मनीषले दुई गोल गरे ।

यतिबेलासम्म १७ वर्षे मनीषको एन्फा मुख्यालयमा त्यो ‘कोरियन शैली’ ले निकै चर्चा पाइसकेको थियो । कोरिया पुगेका उनलाई यू–१८ साफ च्याम्पियनसिपको तेस्रो संस्करण खेल्न मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल बोलाए ।

उनै मनीषले फाइनल खेलमा प्लानिङ ब्वाइजविरुद्ध गोल गरेर खालीबारीलाई ‘सी’ डिभिजन लिगको उपाधि जिताए । उनी फाइनलमा म्यान अफ दी म्याच भए ।

फाइनलमा मनीषले मैदानको मध्यभागबाट बल काउन्टरमा अगाडि बढाउँदा ट्याकल गर्न पुगेका प्लानिङका खेलाडीले रातो कार्ड सामना गर्नुपरेको थियो । जुन मुभमा मनीषले गोल नै गरेका थिए ।

प्रतियोगिता सकिँदा मनीषले नागरिकतासमेत पाइसकेका थिए । उनी दोस्रो पटकलाई पुनः कोरिया उडे ।

यतिबेलासम्म १७ वर्षे मनीषको एन्फा मुख्यालयमा त्यो ‘कोरियन शैली’ ले निकै चर्चा पाइसकेको थियो । कोरिया पुगेका उनलाई यू–१८ साफ च्याम्पियनसिपको तेस्रो संस्करण खेल्न मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल बोलाए ।

मनीष दोस्रो पटक नेपाल आइपुगे । त्यतिबेला उनले सिधै यू–१८ राष्ट्रिय टोलीमा स्थान बनाए । स्वयम्भूस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतियोगितामा मनीषले पहिलो खेलमै माल्दिभ्सविरुद्ध गोल गरे ।

१३ मिनेटमै नेपालले एक गोल बेहोर्दा मनीषले ७५ मिनेटमा गोल गर्दै नेपाललाई हारबाट टारेका थिए । यद्यपि प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपालले समूह चरण नै पार गर्न सकेन । पहिलो पटक नेपालको उमेर समूहबाट खेलेका मनीषको प्रदर्शन भने औसत रह्यो ।

यसपछि पुनः मनीषलाई एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्न पनि ‘कल’ गरियो । मेघराज केसीले सम्हालेको यस प्रतियोगितामा समेत उनको प्रदर्शन औसत रह्यो । नेपाल अघिल्लो चरणमा पुग्न सकेन । यूएई, इरान र किर्गिस्तानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो ।

यसपछि सिनियर नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अठोटसहित मनीष पुनः कोरिया लागे ।

नेपालमा पहिलो पटक फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने भयो । मनीषको नाम ‘अक्सन लिस्ट’मै परेन । यसपछि विराटनगर एफसीले मनीषलाई स्थानीय खेलाडीको ‘कोटा’मा खेलायो ।

एनएसएलले मनीषलाई राष्ट्रिय टोलीसम्म पुग्ने पुल निर्माण गरिदियो । एनएसएलमा गरेको प्रदर्शनबाट राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ध्यान तान्यो । उनले मनीषलाई आफ्नो सुरुवाती ५८ सदस्यीय सूचीमा राखे ।

तीव्र गति, उत्कृष्ट फिनिसिङ र विशेष केही ‘स्किल’ ले गर्दा मनीषलाई अब्दुल्लाहले रुचाएका थिए । अभ्यास सत्रमा समेत मनीषले केही न केही देखाए, त्यसबाट अब्दुल्लाह प्रभावित भए ।

एनएसएलमा ‘दोस्रो हाफ’मा खेल्ने खेलाडीको पहिचान बनाएका मनीषले औसत प्रदर्शन गरेका थिए । गोल त गरेनन्, तर ६ खेल खेलेका उनले एक सय ५९ मिनेट मैदानमा बिताए । 

तीव्र गति, उत्कृष्ट फिनिसिङ र विशेष केही ‘स्किल’ ले गर्दा मनीषलाई अब्दुल्लाहले रुचाएका थिए । अभ्यास सत्रमा समेत मनीषले केही न केही देखाए, त्यसबाट अब्दुल्लाह प्रभावित भए ।

यसपछि मनीषले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए । गत जेठमा विश्वकप छनोट अघि इराकसँगको मैत्रीपूर्ण खेलमा ‘प्लेइङ सेट’मै मनिषले राष्ट्रिय टोलीबाट डेब्यु गरे । डेब्यु खेलमा ४६ मिनेटमात्रै खेलेका उनले गोल नै गरे । यद्यपि, नेपालले उक्त खेल ६–२ ले गुमाएको थियो ।

कोरियामा छँदै कुनै दिन देशको झण्डाअंकित जर्सी लगाएर खेल्ने सपना बोकेका मनीषलाई त्यो गोलको याद अझै पनि ताजा छ । एसियाली पावर–हाउस इराकविरुद्धको त्यो गोल मनीषका लागि यादगार रहिरहने छ ।

‘इराकविरुद्धको गोल विशेष भयो । त्यो मेरो डेब्यु गोल थियो । इराक वरीयतामा एसियाको पावरफुल टिम हो । एउटा यादगार गोल थियो । यादगार खेल पनि हो त्यो । हामी हार्यौं तर धेरै कुरा सिक्न पायौं,’ मनीष त्यो क्षणको स्मरण गर्छन् ।

त्यसपछि मनीषले विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन, अस्ट्रेलिया हुँदै भारतसँगको दुई मैत्रीपूर्ण खेल, ओमानसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपमा माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतविरुद्ध फाइनल र लिग खेलमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।

अब, मनीष देशको मुख्य खेलाडी भइसकेका छन् । उनले गर्ने प्रदर्शनमा नेपालको खेल नै तल–माथि (फेरबदल) हुन्छ । दुई वर्षअघि मात्रै नागरिकता बनाउन आउँदा एन्फा परिसरमा कसैको नजरमा नपरेका मनीष अहिले देश तथा विदेशमा रहने शुभेच्छुकका लागि गर्व गर्न लायक बनेका छन् ।

खासै नबोल्ने, सरल स्वभावका मनीष कोही कसैसँग पनि खुल्न सक्दैनन् । मैदानमा उनी जति आक्रामक देखिन्छन्, मैदानबाहिरको फरक प्रस्तुति छ । उनी खासै बोल्दैनन् । आफ्नो ‘ड्युटी’ सफलतापूर्वक पूरा गर्ने बानी छ ।

मनीषको उच्च प्रदर्शनमा नेपाल साफ च्याम्पियनसिप यात्राको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनल पुग्यो । नेपाल उपविजेता भयो । यसै प्रतियोगिताको उद्घाटन खेलमा मनीषले काउन्टर अट्याकमा माल्दिभ्सविरुद्ध गरेको गोलले सर्वत्र चर्चा पायो । त्यस गोलका बारेमा मनीषको आफ्नै कथा छ ।

‘माल्दिभ्सविरुद्ध कोच (अल्मुताइरी)ले मलाई छिराउनुभयो । कोचले राम्रो खेल, तिमीले गर्न सक्छौं भन्नुभयो । मैले पनि मैदानमा बल पाएँ । आफूलाई जे लाग्छ त्यही गरेँ । गोल पनि हुन पुग्यो । गोल गरेपछि खुसी लागेको थियो । हामीले डिफेन्डिङ च्याम्पियनविरुद्ध गोल गरेका थियौं । त्यो पनि माल्दिभ्सका घरेलु दर्शकमाझ । मेरो ‘मेजर टुर्नामेन्ट’मा गोल भएकाले ‘इमोसनल’ भएँ । टिमकै सहयोगमा गोल भयो । एकदमै खुसी थिएँ ।’

साफबाट फर्केलगत्तै मनीषले फेरि अर्काे ड्युटी पाएका छन् । नेपाली यू–२३ फुटबल टोलीले एएफसी यू–२३ एसियन कप छनोट खेल्दै छ । पछिल्ला दुई संस्करणमा नेपालले एक गोलसमेत गर्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपालले इरान, लेवनान र आयोजक ताजकिस्तानसँग खेल्दै छ ।

यस्तो अवस्थामा मनीष र युवा टोलीसामू पछिल्लो समय उमेर समूहमा रहेको गोलको खडेरी तोड्नुपर्ने मुख्य चुनौती छ ।

पछिल्लो समय उत्कृष्ट फिनिसर र काउन्टर अट्याकमा तीव्र गतिका मनीष उत्सुक पक्कै छन् । तर राष्ट्रिय टोलीको सफलता उमेर समूहमा कत्तिको डेलिभर गर्न सक्छन्, अर्को सातासम्ममा देखिनेछ ।