काठमाडौं । नेपालले आफ्नै भूमिमा काभा महिला भलिबल च्यालेन्ज कप खेल्दै छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले पहिलो पटक यो संरचनामा प्रतियोगिता आयोजना गर्न नेपाललाई जिम्मेवारी सुम्पिएको छ । यसअघि एभिसी सेन्ट्रल जोनको रुपमा आयोजना भएको थियो ।
जेठ ६ देखि १५ सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला टोली तीव्र तयारीमा जुटेको छ । बेल्जियमका प्रशिक्षक यान ब्रान्ड्टले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।
२१ सदस्यीय टोलीले एक महिनायता प्रशिक्षण जारी राखेको छ । युवा तथा अनुभवी खेलाडीहरु टोलीमा छन् । नेपाललाई दुई पटक एभिसी सेन्ट्रल जोन उपाधि जिताएका प्रशिक्षक जगदीश भट्टसमेत टोलीमा छन् ।
नेपाली टोलीकी कप्तान अरुणा शाही एक महिनादेखिको प्रशिक्षण राम्रो भइरहेको बताउँछिन् । ‘लगभग एक महिना भयो । तयारी राम्रो भइराखेको छ । पहिलो तीन साता खेलाडीको फिटनेसमा ध्यान दिएका थियौं । व्यक्तिगत र टिमको प्राविधिक पक्षमा काम भइराखेको छ,’ कप्तान अरुणाले सुनाइन् ।
यसअघि प्रशिक्षक भट्टले दुई पटक नेपाली टोलीको प्रशिक्षण सम्हाल्दै एभिसी सेन्ट्रल जोनको उपाधि जिताएका थिए । यसपालि हुने काभा च्यालेन्ज कप त्योभन्दा माथिल्लो स्तरको प्रतियोगिता हो । प्रतिस्पर्धीसमेत स्तरीय छन् । भारत र श्रीलंकाले पनि यसपालि प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।
माथिल्लो स्तरकै प्रशिक्षण चाहिने भएकाले नेपाल भलिबल संघले विदेशी प्रशिक्षक झिकाएको छ । तर, केही खेलाडीलाई प्रशिक्षणमा समस्या भए पनि अनुभवी खेलाडीले दैनिक साथ दिएका छन् । ‘प्रशिक्षकहरूको सिकाउने तरिका आ-आफ्नै हुन्छ । कुनै प्रशिक्षकको कस्तो हुन्छ, कुनै प्रशिक्षकको कस्तो । कहिलेकाहीं हामीलाई गाह्रो पनि हुन्छ । तर, फरक प्रशिक्षकबाट फरक कुरा र धेरै आइडिया लिन पाउँदा एड्भान्टेज नै हुन्छ,’ अरुणा भन्छिन् ।
प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, काजकिस्तान, किर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दै छन् ।
घरेलु कोर्टमा नेपालको लक्ष्य च्याम्पियन बन्ने रहेको कप्तान अरुणा सुनाउँछिन् । ‘पक्कै पनि लक्ष्य च्याम्पियन बन्ने नै हो । हामी लगातार दुईपटक च्याम्पियन भइसकेका छौं । त्यसैले उपाधि रक्षा नै हाम्रो मुख्य लक्ष्य हो,’ उनले भनिन् । यद्यपि दक्षिण एसियाली हस्ती भारत र श्रीलंकाजस्ता टोली सहभागी हुँदा नेपाललाई निकै चुनौती छ ।
सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भारतसँग पराजित हुँदै नेपाल रजत पदकमा चित्त बुझाउन बाध्य भएको थियो । सुरुआति दुई सेट जितेको नेपाल पछिल्लो तीनै सेट गुमाएको थियो ।
अहिले उपाधि रक्षा गर्न कठिन हुन्छ भन्ने कप्तान अरुणालाई थाहा छ । ‘अहिले अलि कठिन छ । किनभने पहिलेको टिममा अहिले भारत थपिएको छ । यसपालि हाम्रा प्रतिद्वन्द्वीहरु बलिया छन्,’ उनले भनिन् ।
कप्तान अरुणा भारत थपिँदा चुनौतीका साथै प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने चुनौतीसँगै बदला लिने अवसर पनि रहेको बताउँछिन् । ‘भारत सहभागी हुनु एक हिसाबले चुनौती हो र अर्को हिसाबले अवसर पनि हो । मैले चाहिँ यसलाई अवसरको रुपमा लिएको छु । किनभने पछिल्लो पटक सागमा पाँच सेट खेलेर हामी नराम्रोसँग पराजित भयौं । त्यसको बदला लिने अवसर हामीसँग आएको छ । घरेलु मैदानमा एकपटक फेरि त्यही माहोल सिर्जना गरेर भारतलाई जित्ने जुन सपना थियो त्यो पूरा गर्न सक्छौं भन्ने विश्वास छ ।’
नेपालसँग यानको साइनो
६४ वर्षे प्रशिक्षक यान पहिलो पटक नेपाली महिला भलिबल टोलीसँग जोडिएका हुन् । प्रशिक्षण करियरको उत्तरार्धमा रहेका बेल्जियन नागरिक अक्टोबरयता खाली थिए । आफ्नै क्लबका खेलाडीलाई प्रशिक्षण गराइरहेका थिए ।
गत वर्ष विश्व च्याम्पियनसिपमा पिटर भान टारेल (नेपाली भलिबलसँग जोडिएका)सँग भेट भयो । पिटरले यानलाई सोधे, ‘के तिमी नेपाल जान चाहन्छौं ? त्यहाँ अन्तर्राष्ट्रिय भलिबल महासंघको एउटा प्रोजेक्ट सञ्चालन गर्नु छ ।’
यान नेपाल आउन इच्छुक देखिए । यान यसअघि पर्यटकका रुपमा नेपाल आएका थिए । मनास्लु ट्रेकिङ गएका थिए । ‘मैले सोचें, नेपाल गएर पुराना मित्रसँग भेट गर्ने मौका हो । त्यसमाथि मैले त यसपालि नेपाल आउँदा तलब पनि पाउँदै थिएँ । त्यसकारण यो मेरा लागि पेड होलिडे जस्तो भयो । फेरि मलाई आफूले जानेका कुरा सिकाउन रमाइलो लाग्छ । यी तीन कुराले मलाई नेपाल ल्याइपुर्यायो,’ यान नेपाल आउनुको कारणबारे सुनाउँछन् ।
यानले बेल्जियन टोलीबाट ३१ वर्षको उमेरसम्म खेले । यसक्रममा तीन सय ५७ खेल खेलेका छन् । उनले ३४ वर्षको उमेरमा प्रशिक्षण सुरु गरेका थिए । सन् १९९१ देखि २००१ सम्म पुरुष भलिबलमा थिए । यसपछि भने महिला भलिबलमा व्यस्त भएका छन् । हालसम्म नेपालसहित चार राष्ट्रमा प्रशिक्षण दिएका छन् । यो भनेको २० वर्ष पूरा भइसकेको छ ।
पहिलो पाँच वर्ष बेल्जियममै प्रशिक्षकका रुपमा काम गरेका उनले २०१४ बाट ६ वर्ष हंगेरीमा काम गरे । त्यसपछि दुई वर्ष अस्ट्रियामा काम गरेका उनी अहिले नेपालमा छन् । नेपालमा ६ महिना बस्ने उनको योजना छ । यसक्रममा महिलालाई प्राथमिकतामा राखेका छन् भने केही समय स्वदेश फर्कने छन् । पुनः फर्किएर पुरुष टोलीलाई समेत प्रशिक्षण दिने तालिका छ ।
नेपाली भलिबलको स्थिति
यानले देखेको नेपाली भलिबलको समस्या भनेकै आफूभन्दा ठूलो राष्ट्रसँग प्रतिस्पर्धा नगर्नु हो । नेपालले कमजोर प्रतिस्पर्धीसँग मात्रै खेलेको यानको गुनासो या आरोप छ । ‘नेपालको समस्या यही हो कि नेपाल आफू समान वा कमजोर टिमसँग मात्र खेल्छ । बलिया टिमलाई यहाँ बोलाउन सक्दैन,’ यान भन्छन् । उनीसँग कारण पनि छ । किन ? ‘आर्थिक समस्या ।’
यानकै अनुसार नेपाली भलिबलको अर्को समस्या हो, खेलाडीको उचाइ । पुरुष खेलाडीको उचाइ ठीकठाक छ, महिलाचाहिँ होचा छन् । एक मिटर ७० देखि ८० सेन्टिमिटरसम्मको उचाइ । अन्तर्राष्ट्रिय भलिबलमा महिला खेलाडीको उचाइ एक मिटर ९० सेन्टिमिटर हुन्छ सामान्यतया । पुरुष त अझ अग्ला हुन्छन् ।
यान देशभर खेलाडी स्काउटिङ गर्नुपर्ने सुझाव दिन्छन् । ‘उचाइ कम भएपछि स्वतः कमजोर भइन्छ । नेपालले यो समस्या हल गर्न सक्छ, यदि देशभर खेलाडी स्काउटिङ गर्यो भने । मलाई लाग्छ देशभर डुल्यो भने अहिलेका भन्दा अग्ला खेलाडी भेटिन्छन् । उनीहरुलाई किशोर उमेरमै ट्रेनिङ सेन्टरमा ल्याउने र निरन्तर अभ्यास गराउने । भविष्यमा नेपालले यसो गर्न सक्छ ।’
यान कम उचाइ भए पनि प्राविधिक रुपमा कुशल बन्न सक्ने बताउँछन् । जापान र थाइल्यान्डका खेलाडीमा उचाइ कम भए पनि प्राविधिक र रणनीतिक तथा डिफेन्समा सफल भएको यान बताउँछन् ।
निडर बनाउने लक्ष्य
नेपाललाई प्रशिक्षण दिइरहेका यानले काभा च्याम्पियनसिपमा नेपालको योजना खासै बनाएका छैनन् । अझै खेलाडी छनोट भएको छैन । केही मुख्य खेलाडीलाई चोटले पिरोलेको छ । त्यसैले अहिले नै यही लक्ष्य भन्न सक्ने अवस्थामा छैनन् ।
‘लक्ष्य भन्न गाह्रो छ । किनभने लक्ष्यलाई धेरै कुराले असर गर्न सक्छ । जस्तै विपक्षी टिम । नेपालभन्दा बलियो विपक्षी टिम आए तिनलाई पराजित गर्न मुस्किल हुनेछ । यसकारण म यति भन्न सक्छु, म यी खेलाडीलाई अझ राम्रो बनाउन लागिपरेको छु । हामी निडर भएर सुन्दर भलिबल खेल्नेछौं । के यति गर्दा खेल जितिएला ? हेरौं ।’