आइपिएलका बाँकी खेल सेप्टेम्बर तेस्रो साताबाट
नयाँ दिल्ली, (खेलाडी)- कोभिड १९ महामारीका कारण स्थगनमा रहेको विश्वकै सबभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल आगामी सेप्टेम्बर तेस्रो साताबाट दुबईमा हुने भएका छन् ।
कोरोना महामारीका कारण बीचमै स्थगित भएको प्रतियोगिताका बाँकी खेल दुबईमा सेप्टेम्बर १९ बाट गर्ने निर्णय भारतीय क्रिकेट कट्रोल बोर्ड (बिसिसिआई) ले आइतबार गरेको हो । विश्वको सबैभन्दा महंगो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता चार महिनापछि सुचारु हुन लागेको हो ।
भारतमा भइरहेको प्रतियोगिताका आधाजस्तो खेल सञ्चालन भएपछि कोभिड १९ को महामारीका कारण स्थगित गरिएको थियो । केही टोलीका खेलाडीमा कोभिड १९ को देखिएपछि आयोजकले प्रतियोगिता बीचमै रोक्नुपरेको थियो ।
बाँकी रहेका खेलमध्ये १३ खेल दुबईमा हुनेछन् भने १० खेल शारजहाँ र ८ खेल अबुधावीमा हुने तालिका छ । प्रतियोगिताको फाइनल खेल ट्वान्टी-२० विश्वकप हुने तालिकाभन्दा दुई दिनअगाडि दुबईमा अक्टोबर १५ तारिखमा हुनेछ ।
ट्वान्टी-२० विश्वकप आइपिएलका बाँकी खेल सकिएलगत्तै दुबईमा नै हुनेछ । ट्वान्टी-२० विश्वकपको तालिका यसअघि अस्ट्रेलियामा तय भएको थियो । कोभिड १९ महामारीका कारण निर्धारित समयमा हुन सकेको थिएन । ट्वान्टी-२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म आयोजना हुँदै छ ।
आइपिएलको अन्तिम लिग खेल रोयल च्यालेन्जर्स बैङ्लोर र दिल्ली क्यापिटल्सबीच अक्टोबरमा हुनेछ भने पहिलो क्वालिफायर खेल दुबईमा अक्टोबर १० तारिखमा हुनेछ । यस्तै इलिमिनेटरका दुई खेल शारजहाँ रंगशालामा अक्टोबर ११ र १३ तारिखमा हुने तालिका छ ।