कार्तिक ६, २०८१ मंगलबार | १९:१२:०८
सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित
शनिबारको दिन साफ महिला च्याम्पियनसिप

यस्तो छ महिला टोलीले खेलेका ११ फाइनल

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण चलिरहेको छ । लगातार तेस्रो पटक नेपालले आयोजक बन्ने अवसर पाएको छ । टोलीलाई घरेलु समर्थकबीच उपाधि खडेरी तोड्ने अवसर छ ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल यस्तो अभागी टोली हो, जसले अहिलेसम्म पनि उपाधि जित्न सकेको छैन । फाइनलमा ११ पटक आफ्नो चुनौती प्रस्तुत गरे पनि नेपालले उपाधिविहीन छ । सन २०१० साफ च्याम्पियनसिपमा पहिलो पटक नेपालले फाइनलमा स्थान बनाएको थियो । पहिलो फाइनलमा नेपाल छिमेकी भारतसँग १-० को झिनो गोलअन्तरमा पराजित भयो । त्यसयता भारतले ७ पटक नेपाललाई फाइनलमा हराएको छ । अन्य हार नेपालले म्यानमार, उज्वेकिस्तान, बंगलादेश र जोर्डनविरुद्ध व्यहोरेको हो ।

यी हुन् नेपालले खेलेका ११ फाइनल अनि ११ हारको सूची :

१. साग २०१० (भारतविरुद्ध ३-१ को हार)बंगलादेशको राजधानी ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) २०१० मा महिला फुटबललाई पहिलो पटक समावेश गरिएको थियो । बंगबन्धु रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो ।

२. साफ च्याम्पियनसिप २०१० (भारतसँग १-० को हार)साफ च्याम्पियनसिपको पहिलो संस्करणमै नेपालले फाइनलसम्म यात्रा गरेको थियो । बंगलादेशको कक्स बजार रंगशालामा सम्पन्न प्रतियोगितामा नेपालले फाइनलअघि चार खेलमा ३४ गोल गरेको थियो । तर, फाइनलमा भने गोल गर्न सकेन । विंगर सस्मिता मल्लिकको एकमात्र गोल भारतको जितमा निर्णायक बनेको थियो ।

३. साफ च्याम्पियनसिप २०१२ (भारतसँग ३-१ को हार)साफ च्याम्पियनसिपको दोस्रो संस्करणमा पनि नेपालको उपाधि जित्ने लक्ष्यमा भारत तगारो बन्यो । श्रीलंकाको राजधानी कोलम्बोस्थित सिआर मैदानमा भारतको जितमा सुप्रिया रौट्रे, बाला देवी र कमला देवीले गोल गरे । नेपालका लागि एकमात्र गोल दीपा अधिकारीले गरेकी थिइन् ।

४. साफ च्याम्पियनसिप २०१४ (भारतसँग ६-० को हार)साफ च्याम्पियनसिपको तेस्रो संस्करणमा नेपालले पुनः एक पटक भारतविरुद्ध हार बेहोरेको थियो । यसपालि नेपाली गोलपोस्टमा भारतले आधा दर्जन गोल गरेको थियो । पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिन्हा स्पोर्ट्स रंगशालामा भएको फाइनलमा भारतका लागि बाला देवी एक्लैले चार गोल गरेकी थिइन् । अन्य गोल कमला देवी र पर्मेश्वरी देवीको नाममा रह्यो ।

५. साग २०१६ (भारतसँग ४-० को हार)

सन् २०१६ को साग गेम्समा प्रतिस्पर्धा गर्दै नेपाल र भारत । 

भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद सागमा नेपाल फेरि फाइनलमा भारतसँग निरीह बन्यो । जवाहरलाल नेहरु रंगशालामा सम्पन्न फाइनलमा भारतलाई लगातार दोस्रो साग स्वर्ण पदक दिलाउन कमला देवीले दुई र बाला देवी र आशालता देवीले एक/ एक गोल गरे ।

६. हिरो वुमेन्स गोल्डकप २०१९ (म्यानमारसँग ३-१ को हार)म्यानमार, इरान, भारत र नेपालसम्मिलित हिरो वुमन्स गोल्डकप भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको थियो । सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईभित्र पर्दै फाइनलसम्म यात्रा गरेको नेपालले फाइनलमा म्यानमारसँग ३-१ को पराजय भोग्यो । म्यानमारको जितमा यी यी वउले दुई र विङ थिङ्नी तुनले एक गोल गरेका थिए । नेपालका लागि एकमात्र गोल मञ्जलीकुमारी योञ्जनले गरेकी थिइन् ।

७. साफ च्याम्पियनसिप २०१९ (भारतसँग ३-१ को हार)

साफ च्याम्पियनसिपमा भारतसँग नेपालको यो चौथो फाइनल भेट थियो । विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा भारतलाई लगातार पाँचौं साफ उपाधि दिलाउन दलिमा छिब्बर, ग्रेस डाङ्मे र अञ्जु तामाङले गोल गरे । पहिलो हाफमा एक गोलले पछि पर्दा सावित्रा भण्डारीले खेल १-१ को बराबरीमा ल्याएकी थिइन् । तर, नेपाल यसपालि फेरि अभागीशाली रह्यो ।

८. नाजेज्दा कप २०१९ (उज्वेकिस्तानसँग ३-२ ले पराजित)चार देशसम्मिलित नाजेज्दा कप २०१९ मा आयोजक किर्गिस्तानसँगै उज्वेकिस्तान, ताजकिस्तान र नेपालको सहभागिता थियो । फिफा वरीयतामा नेपालभन्दा ६२ स्थान माथि रहेको उज्वेकिस्तानविरुद्ध फाइनलमा नेपालले कडा चुनौती प्रस्तुत गरेको थियो । अन्त्यमा नेपाल ३-२ को हार भोग्न बाध्य भयो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।

९. साग २०१९ (भारतसँग २-० को हार)ठ्याक्कै २० वर्षपछि दक्षिण एसियाली खेलकुद नेपालमा फर्किएको थियो । महिला फुटबल पोखरा रंगशालामा खेलाइएको थियो । यसपालि पनि नेपालले घरेलु समर्थकको फाइदा उठाउन सकेन । बाला देवी चम्किँदा नेपाल लगातार तेस्रो संस्करण सागमा स्वर्ण पदकबाट वञ्चित रह्यो । बाला देवी एक्लैले दुई गोल गरेकी थिइन् ।

१०. साफ च्याम्पियनसिप २०२२ (बंगलादेशसँग ३-१ को हार)

गत संस्करणको साफ उपविजेता नेपाली टोली । 

साफ इतिहासमै पहिलो पटक भारतलाई हराउँदै फाइनल यात्रा गरेको नेपालले अन्ततः उपाधि जित्ने आँकलन गरिएको थियो । तर, यसपालि बंगलादेशले नेपालसँग उपाधि खोस्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई हराउन कृष्णारानी सरकारले दुई र सामसुनाहर जेआरले एक गोल गरेका थिए । नेपालका लागि अनिता बस्नेतले गरेको गोल सान्त्वनामै सीमित बन्यो ।

११.  महिला च्याम्पियनसिप २०२३ (जोर्डनसँग पेनाल्टी सुटआउटको हार)साउदी अरेबियामा भएको पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको आठौं संस्करणमा नेपालले आगन्तुक टोलीका रूपमा सहभागिताको अवसर पाएको थियो । पहिलो सहभागितामा नै नेपालले फाइनलमा स्थान बनाउँदै विश्व फुटबलको ध्यान तानेको थियो । फाइनलमा बलियो जोर्डनविरुद्ध निर्धारित समयसम्म २-२ को बराबरी खेलेको नेपाल अन्त्यमा पेनाल्टी सुटआउटमा (५-३) ले निराश बन्न पुग्यो ।