काठमाडौं । केही पनि राम्रो भइरहेको छैन्, अचेल नेपाली फुटबलमा । जे भइरहेको छ, खालि नराम्रो मात्रै छ । घरेलु फुटबल त शून्यमा झरिसकेकै छ, अन्तर्राष्ट्रिय फुटबल पनि सुस्त नै छ । विश्वास नहुन सक्छ, नेपालले अहिले विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको छ । तर चर्चा शून्य छ । प्रशिक्षणको नाममा सामान्य तयारी त अगाडि बढिरहेकै छ । तर यो पनि कर्मकाण्डी मात्र ।
बरू थपिएको अर्को एउटा डरले अहिले नेपाली फुटबलप्रेमीहरुलाई सताइरहेको छ । कतै नेपाल छनोटको दोस्रो चरणमा सबैभन्दा खराव खेल्ने चुत्था टिम त सावित हुने होइन् ? यसलाई खेलको भाषामा ‘अनवान्टेड रेकर्ड’ भनिन्छ । अर्थात नचाहेको कीर्तिमान । यो त्यस्तो प्रदर्शन हो, जसमा लाज हुन्छ । कुरा के भन्दा नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणमा अन्तिम दुई खेल खेल्दैछ । त्यो भनेको पाँचौं खेल हो । अहिलेसम्म चार खेल खेलेकोमा नेपालले प्रत्येक पटक नतिजा विपक्षीलाई सुम्पिएको छ । अबको खेल संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नुपर्छ । अन्तिम खेल यमनविरुद्ध हुनेछ ।
नेपाली पुरुष राष्ट्रिय टिम अहिले चरम गोलको खडेरीबाट गुज्रिरहेको छ र यसले नेपाली फुटबल अहिले ठ्याक्कै कहाँनिर छ, त्यो देखाउँछ । नेपालले खेलेका अन्तर्राष्ट्रिय फुटबलको सूची बनाउने हो भने त्यसमा गोल नभएको खेलका संख्या चार पुगेको छ ।
खासमा यूएईविरुद्धको खेल नेपालको घरेलु मैदानमा हुनु पर्ने हो । तर दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय फुटबलका लागि अयोग्य बनाइएपछि खेल साउदी अरेबिया सरेको छ । यसबारे प्रसस्त आलोचना त भइरहेकै छन् । ठूलो चिन्ता त के पनि भनेः एन्फाले जसरी धेरै पुरानो भइसकेकाले दशरथ रंगशाला सुरक्षित छैन भन्यो, यसले भविश्यमा घरेलु फुटबल कहाँ गराउने भन्ने प्रश्न सिर्जना भएको छ । अन्तर्राष्ट्रिय खेल गराउनका लागि असुरक्षित भनिएको रंगशालामा घरेलु खेल गराउने नैतिक शाहस एन्फाले कसरी जुटाउला ? कि घरेलु फुटबलमा समर्थकको जीवनको मुल्य छैन भन्न सक्नुपर्यो ।
चिन्ता नै चिन्ता र प्रश्न नै प्रश्नको ठेलीबीच अर्को एउटा चिन्ताजनक प्रश्नले पनि अचेल नेपाली समर्थकलाई सताउन थालेको छ, ‘कतै नेपालले छनोटको दोस्रो चरणमा एकै गोल गर्न नसक्ने त होइन् ?’ यो प्रश्न सतप्रतिसत जायज छ । किनभने विश्वकप छनोटको जारी दोस्रो चरणमा नेपाल नै एक मात्र यस्तो टिम हो, जसले अहिलेसम्म कुनै गोल गर्न सकेको छैन् । बरु १४ गोल खाइसक्यो ।
के नेपाल विश्वकपको एसियाली छनोटमा सबभन्दा खराव टिम हो त ? तथ्यांकले योभन्दा सुखद जवाफ दिन मान्दैन ।
नेपाली पुरुष राष्ट्रिय टिम अहिले चरम गोलको खडेरीबाट गुज्रिरहेको छ र यसले नेपाली फुटबल अहिले ठ्याक्कै कहाँनिर छ, त्यो देखाउँछ । नेपालले खेलेका अन्तर्राष्ट्रिय फुटबलको सूची बनाउने हो भने त्यसमा गोल नभएको खेलका संख्या चार पुगेको छ । त्यो भनेको छनोटको दोस्रो चरणका खेल हुन् । नेपालले पछिल्लो पटक छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध गोल गरेको थियो । गोल गर्ने खेलाडी थिए, मनीष डाँगी ।
औसतमा १७.७४ खेलको अनुभव देखिए पनि २३ सदस्यीय नेपाली टिममा पाँच खेलाडी अहिलेसम्म एउटै अन्तर्राष्ट्रिय खेलमा मैदान उत्रिएका छैनन् ।
उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । त्यस अर्थमा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गोल नगरेको समय ३ सय ९७ मिनेट पुगेको छ । व्यवहारिक भएर अनुमान गर्दा यूएईविरुद्ध पनि गोल गर्न गाह्रो छ, यमनविरुद्ध पनि । यो निराशावादी सोच पक्कै होइन । यो त यथार्थमा बसेर गरिएको विश्लेषण हो । किन त यस्तो विश्लेषण ?
समग्रमा नेपाली फुटबल अहिले इतिहासकै कमजोर अवस्थामा छ । साउदी अरेबिया जान लागेको टिममा ढल्कँदो उमेरका कप्तान किरण लिम्बु, उपकप्तान रोहित चन्द, भरत खवास र अनन्त तामाङबाहेक सबै खेलाडीको अन्तर्राष्ट्रिय अनुभव टिठलाग्दो छ ।
औसतमा १७.७४ खेलको अनुभव देखिए पनि २३ सदस्यीय नेपाली टिममा पाँच खेलाडी अहिलेसम्म एउटै अन्तर्राष्ट्रिय खेलमा मैदान उत्रिएका छैनन् । तीन खेलाडीले एक खेलमात्र खेलेका छन् भने १३ खेलाडीको अनुभव पाँच खेलभन्दा कम छ । १० भन्दा बढि खेल खेल्नेको संख्या नै ८ मात्र छ । कप्तान किरणकुमार लिम्बुले सबभन्दा धेरै ९७ खेल खेलेका छन् भने उपकप्तान रोहित चन्दले ८८ खेल खेलेका छन् । अनन्त तामाङले ६० तथा भरत खवासले ५९ खेल खेलेका छन् । बाँकी खेलाडीको व्यक्तिगत क्याप ३० पनि छैन ।
त्यसमाथि १४ औं कीर्तिमानी गोल पछ्याइरहेका अञ्जन विष्ट टिममा छैनन् । उनी चोटबाट मुक्त हुने प्रयासमा छन्, अहिले आराम गरिरहेका छन् । यस्तोमा गोल गर्ने को त ? उत्तर गाह्रै छ ।
त्यसो त अन्तर्राष्ट्रिय फुटबलमा नेपाल गोलको खडेरीबाट गुज्रेको यो नै पहिलो पटक होइन् । सन् १९८४-१९८५ मा नेपालले लगातार ९ खेलमा गोल गरेको थिएन् । सन् १९८६-१९८७ मा पनि लगाचार ५ खेलमा गोल भएनन् । सन् १९८७ मै फेरि नेपालले लगातार ५ खेलमा गोल गर्न सकेन् । सन् १९८८-१९८९ मा त हदै भयो, नेपालले १३ खेलमा कुनै गोल गर्न सकेन् । सन् २००३ मा पनि ७ खेलमा कुनै गोल निस्केन् ।
अझ सन् २०१३-२०१४ बीच ११ खेलमा गोल गर्नै सकेन् । यो नै पछिल्लो पटकको सबैभन्दा खराव प्रदर्शन हो । अब फेरि गोल खडेरीको समस्या बल्झेको छ । साँच्चै यसको कारण के हो त ? यसबारे सोच्ने काम त नेपाली फुटबलको ‘थिङ्क ट्याङ्क’ कै हो । बरू नेपाली फुटबलमा ‘थिङ्क ट्याङ्क’ पनि छ र ? ढुक्कसँग के चाहिँ भन्न सकिन्छ भने नियमित फुटबल हुन नसक्नु, भए पनि झारो टार्न मात्र हुनु, मैदान बाहिर खालि विवाद मात्रै हुनु, खेलाडी पलायन हुनु, यीनै त कारण हुन् नि । होइन् र ?