नेपाल सुपर लिग

सर्वाेत्कृष्ट गोलकिपरको होडमा तीन विदेशी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा विदेशी खेलाडी आकर्षणको केन्द्रमा थिए । प्रतियोगिता सुरु हुनुअघि नेपाली फुटबलमा राम्ररी जमेका राष्ट्रिय टोलीका स्टारसहित झन्डै सय खेलाडी विदेसिएका थिए । जसले गर्दा घरेलु खेलाडी एनएसएलमा निर्णायक हुने सम्भावना उसै न्युन भएको थियो ।

यही कारण एनएसएल सुरु हुनुभन्दा अघिदेखि नै चर्चा विदेशी खेलाडीकै रह्यो । सबै ९ टोलीले परिस्थितिको बाध्यता बुझेर निर्णायक भूमिकामा विदेशी खेलाडीलाई जिम्मेवारी सुम्पिए ।

घरेलु सहिद स्मारक लिगको तुलनामा एनएसएलका लागि आएका विदेशी खेलाडी माथिल्लो स्तरका हुनुले प्रतियोगिताका सबै खेल उच्च प्रतिस्पर्धात्मक रहे । कुनै पनि खेलमा यसैले जित्छ वा हार्छ भनेर अनुमान गर्न कठिन भयो ।

एनएसएलका लागि आएका विदेशीमध्ये पनि नतिजामा गोलकिपरको भूमिका बढी निर्णायक रह्यो । सहभागी ९ मध्ये ५ टिमले गोलपोस्टको जिम्मेवारी विदेशीको काँधमा सुम्पिएका थिए । धनगढी, ललितपुर सिटी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र झापा एफसीले विदेशी गोलकिपरको भरमा पोस्ट छोडेका थिए ।

धनगढी एफसीले पहिलो क्वालिफायरबाटै फाइनल यात्रा तय गर्दासम्म लेबनानका गोलकिपर मोहम्मद ताहाको भूमिका महत्त्वपूर्ण रह्यो । यसैगरी पहिलो चरणबाट शीर्ष दुईमा रहँदै क्वालिफायर पुगेको पोखरा थन्डर्सका क्यामरुनी गोलकिपर प्रिसो एन्जांगाको योगदान पनि कम थिएन ।

प्रिसोको उच्च प्रदर्शनका बावजुत नकआउटमा भने दुवै खेलमा निराशा भोग्दै पोखरा फाइनल पुग्नबाट वञ्चित भयो । पहिलो क्वालिफायरमा तीन पटकसम्म अग्रता लिनाका बावजुत टाइब्रेकरमा धनगढीलाई नतिजा सुम्पिएको पोखरा दोस्रो क्वालिफायरमा पनि ललितपुरसँग अतिरिक्त समयमा अभागी साबित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा काठमाडौं रेजर्ससँग १-० ले हार्नाका बावजुत एलिमिनेटरका लागि लायक भएको ललितपुरले एलिमिनेटरमा त्यही विपक्षीसँग ३-० को नतिजासहित बदला लिन सफल भयो । एलिमिनेटरको जितसँगै दोस्रो क्वालिफायरलाई लायक भएको टोलीले फाइनल यात्राका लागि पोखरा थन्डर्सको चुनौती अतिरिक्त समयमा २-१ ले पन्छायो । जहाँ सबैभन्दा बढी महत्त्वपूर्ण निर्णायक भूमिका फ्रान्सेली गोलकिपर जेफेरी विली मार्सेलको थियो ।

आ-आफ्नो टिमलाई प्रतियोगिता यात्रामा १८ यार्डको साँघुरो घेराभित्र बसेर प्रेरणादायी र फराकिलो भर प्रदान गरेवापत यी तीन विदेशी उत्कृष्ट गोलकिपरको दौडमा सबैभन्दा अगाडि छन् ।

प्रतियोगितामा चार टिमले पूर्ण रूपमा नेपाली गोलकिपरमा भर गर्दा विदेशी हुनाका बावजुत धनगढीले चाहिँ केही खेलमा नेपाली खेलाडीलाई पनि पोस्टको जिम्मा दियो । धनगढीले ताहाको स्थानमा राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका टिकेन्द्रसिंह थापालाई दुई खेलमा मैदान उतार्यो । जहाँ एक खेलमा उनले गोल सामना गर्नुपरेन ।

स्पोर्टिङ इलामका कप्तान विकेश कुथु, एफसी चितवनका कप्तान विशाल श्रेष्ठ, वीरगन्जका कप्तान दीप कार्की तथा काठमाडौंका अभिषेक बराल र एन्जल श्रेष्ठ एनएसएलमा पोस्ट सम्हाल्ने जिम्मा पाएका नेपाली गोलकिपर हुन् । साबिक विजेता काठमाडौंको कमजोर प्रदर्शनमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गोलकिपिङ एउटा पाटो रहेको स्वीकार गरेका थिए ।

अन्तिममा चिट्ठाबाट काठमाडौंले ‘ए’ श्रेणीका अभिषेक पाएको थियो । राष्ट्रिय टोलीबाट ‘डेब्यू’ पर्खाइमा रहेका अभिषेकको प्रदर्शन उत्साहजनक नभएपछि महर्जनले पाँचौं खेलबाट तेस्रो रोजाइका एन्जललाई अवसर दिएका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका जियारत शेखले ‘डेब्यू’ नै पाएनन् ।

चितवनका मार्की खेलाडी विशालको प्रदर्शन उत्कृष्ट रह्यो । अघिल्लो सिजन जितविहीन चितवनले यसपालि विशालकै प्रेरणामा पहिलो जित निकाल्नुका साथै सुधारिएको प्रदर्शन गर्यो । विशालले आठमध्ये दुई खेलमा गोल सामना गर्नुपरेन । प्रदीप भण्डारी बेन्चै सीमित भए ।

वीरगन्जका लागि दीपले सबै खेल खेल्नेक्रममा एक ‘क्लिनसिट’ राखे । जसका कारण शत्रुधन चौधरीले ‘डेब्यू’ नै पाएनन् । इलाममा भने मार्की खेलाडी विकेशले दुई खेलमा ‘क्लिनसिट’ राखे । एउटा खेल बेन्चबाट हेरेका विकेश अर्काे खेलमा निलम्बित भएपछि समित श्रेष्ठले मौका पाए ।

नेपालीमध्ये विशाल र विकेशको प्रदर्शन राम्रो भए पनि विदेशी गोलकिपरहरू तुलनात्मक रूपमा बढी प्रभावकारी र निर्णायक रहे । धनगढी र पोखराबीचको पहिलो क्वालिफायर नै गोलकिपरबीचको प्रतिस्पर्धा जस्तो देखिएको थियो ।

धनगढीका ताहा र पोखराका प्रिसोबीच निकै रोचक बनेको प्रतिस्पर्धामा दुवैले १२० मिनेटको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोलका धेरै अवसर विफल बनाए । ताहाले दुई पेनाल्टी रोके भने प्रिसोले एक पेनाल्टी छेके ।

ताहा र प्रिसोसँगै लतिलपुरका विली मार्सेलको प्रभाव पनि उस्तै छ । ललितपुर फाइनल प्रवेश गर्दा उनले पाँच ‘क्लिनसिट’ राखेका छन् । फाइनलमा विली मार्सेल र ताहाबीच जसले राम्रो प्रदर्शन गर्यो, उही सर्वोत्कृष्ट गोलकिपरको हकदार बन्न सक्छ । तथापि पोखराको यात्रामा सनसनीपूर्ण प्रदर्शन गरेका प्रिसोको दाबी पनि कमजोर मान्न नसकिने प्राविधिक समिति स्रोत बताउँछ ।

क्यानरुनी गोलकिपर प्रिसोले सानदार प्रदर्शनसँगै तीन ‘क्लिनसिट’ राखेका थिए । प्रिसोले धनगढीविरुद्ध लिग चरणको खेलमा १-१ गोलको बराबरी हुँदा देव लिम्बूलाई ७०औं मिनेटमा अवसर दिए । अन्य ९ खेलमा पूरा समय खेलेका थिए ।

विली मार्सेलले काठमाडौंविरुद्ध एलिमिनेटरमा ३-० को सहज जित निकाल्दा राष्ट्रिय टोलीका सदस्य विशाल सुनारलाई इन्ज्युरी समयमा ‘डेब्यू’ अवसर दिए । बाँकी समय पूरा उनैले खेलेपछि अर्का गोलकिपर लुजाह महर्जनले अवसर नै पाएनन् ।

नयाँ टोली झापाका सर्बियन गोलकिपर स्टेफन कुपिकको प्रदर्शन पनि सानदार रह्यो । उनले लिग चरणमा आठमध्ये पाँच खेलमा ‘क्लिनसिट’ राखेका थिए । यद्यपि उनी म्यान अफ द म्याच पुरस्कारका लागि पनि कहिल्यै लायक रहेनन् । कुपिकको प्रदर्शन उत्कृष्ट रहे पनि टोली नै लिग चरणबाट बाहिरिएपछि उनी सर्वाेत्कृष्ट गोलकिपरको दौडबाट बाहिरिएका छन् ।

बुटवल लुम्बिनीले पनि गोलकिपरमा क्यामरुनी मोहमोदुलाई अनुबन्ध गरेको थियो । उनले अन्तिम खेलमा वीरगन्ज युनाइटेडविरुद्धको जितमा एकमात्रै ‘क्लिनसिट’ राख्न सके । मोहमोदुले सबै खेल खेल्दा युवा खेलाडीद्वय विशाल केसी र निशान रानाले डेब्यूको अवसर नै पाएनन् । प्रतियोगितामा सर्वाेत्कृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्स र एक लाख रुपैयाँ पाउनेछन् ।