युरोपियन च्याम्पियन्स लिग

इस्तानबुलमा च्याम्पियन्स लिग फाइनलः आशा रोमाञ्चकारी रातको

काठमाडौं । म्यानचेस्टर सिटी यसअघि पनि च्याम्पियन्स लिग जित्न व्याकुल भएकै हो । वर्षेनी महँगा खेलाडी किन्नुको उद्देश्य पनि त यही हो, युरोपियन क्लब फुटबलको सर्वाधिक ठूलो पुरस्कार हात पार्नु । यसपालि चाहिँ सिटीको व्याकुलता अलि बढी छ ।

किन ?  च्याम्पियन्स लिग जिते ऐतिहासिक कीर्तिमान बराबर हुनेछ । कीर्तिमान हो, एकै सिजन तीन उपाधि जित्नु । फेरि यो यस्तो कीर्तिमान हो, जसलाई सजिलै बराबरी मात्र गर्न सकिन्छ, भत्काउन सकिँदैन । बराबरी गर्नै पनि सजिलो छैन । त्यसकारण सिटीको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा राखेको यो कीर्तिमान अहिलेसम्म कायम छ ।

सिटीले यो सिजन इङ्लिस प्रिमियर लिग जितिसकेको छ । युनाइटेडलाई हराएर एफए कप उचालेको पनि धेरै भएको छैन । अबको लक्ष्य हो, च्याम्पियन्स लिग । इस्तानबुलमा हुने उपाधि भिडन्तमा सिटीले इन्टर मिलानको तगारो पन्छाउनु पर्नेछ ।  

सिटी कुल नौ पटक इङ्ल्यान्डको च्याम्पियन भएको छ । नौमध्ये सात उपाधि सिटीले आबुधाबीको शाही परिवारले स्वामित्वमा लिएपछि जितेको हो । सिटीमा स्वामित्व परिवर्तन सन् २००८ मा भएको थियो । शाही परिवारको प्रवेशसँगै सिटी इङ्लिस फुटबलको नयाँ शक्ति बनेको सत्य हो । तर युरोपियन क्लब  फुटबलमा भने सिटीले अझै धाक देखाउन सकेको छैन ।

उसो त सिटी सन् २०२१ मा च्याम्पियन्स लिग उपाधिनजिक पुगेकै हो । तर चेल्सीले सिटीलाई विजेता बन्न दिएन । अर्को वर्ष त सिटी सेमिफाइनलबाटै बाहिरियो, रियाल मड्रिडसँग पराजित हुँदै । यसपटक सिटीले रियालसँग बदला लियो । संयोगवश बदला सेमिफाइनलमै लिनसक्यो ।

सिटीसँग रियाल पराजित हुनु असामान्य होइन । तर गोलअन्तर भने अनेपक्षित थियो, ५-१ । ‘लामो समयदेखि हामी मेहनत गरिरहेका छौं । हो, हामीले कयौं सफलता हासिल गरेका छौ  ।सँगसँगै निकै हारको पनि सामना गर्नुपरेको छ । तर हारले हामीलाई धेरै सिकाएको पनि छ,’ सन् २०१७ यता सिटीमा रहेका गोलरक्षक एडरसनले भनेका छन् ।

६ सिजनमा पाँच पटक प्रिमियर लिग जितेको सिटीले गत साता एएफए कप फाइनलमा युनाइटेडलाई २-१ ले हराएको थियो । सिटीका दुवै गोल गर्ने खेलाडी थिए, एल्काई गुन्डोवान । यो सिजन मुख्य गोलकर्ता रहेका एर्लिङ हालान्ड भने लगभग शान्त रहे । एएफए कपमा गोल नगरे पनि हालान्ड बलियो लयमा छन् । यही सिजन सिटीसँग आबद्ध भएका उनको नाममा ५२ गोल छ ।

सिटीले यसपालि जे जे सफलता हात पारेको छ, तिनमा हालान्डको भूमिका अहम् छ । यो कसैले इन्कार गर्ननसक्ने तथ्य हो । पेप ग्वार्डिओला आफ्नो करियरको तेस्रो च्याम्पियन्स लिग उपाधि उचाल्नेमा आत्मविश्वासी छन् । यसको पनि बलियो कारण उनै हालान्ड हुन् ।


ग्वार्डिओला सन् २०१६ मा सिटीको प्रशिक्षक बनेका थिए । उनलाई सिटीको जिम्मा दिनुको मुख्य उद्देश्य थियो, च्याम्पियन्स लिगमा सफलता । बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिग जिताएकाले पनि ग्वार्डिओला गलत छनोट थिएनन् । भलै उनले बायर्न म्युनिखलाई फाइनलसम्म पनि पु¥याउन सकेका होइनन् । अब चाहिँ उनी साँच्चै दबाबमा छन् । युरोपमा ठूलो क्लब कहलिन पनि सिटीले च्याम्पियन्स लिग जित्नुपर्ने उनको भनाइ छ । ‘च्याम्पियन्स लिग त जित्नैपर्छ । नजिती त ठूलो क्लब बनिँदैन । यो मापदण्डलाई नकार्न सकिँदैन,’ ग्वार्डिओलाले भनेका छन् ।

गर्विलो इतिहास

सिटी जतिसुकै बलियो भए पनि इन्टर मिलान नजरअन्दाज गर्न मिल्ने टिम होइन । फेरि इन्टरको विगत पनि त्यस्तै छ । सन् १९६० कै दशकमा दुई पटक युरोपियन कप जितेको इन्टरले सन् २०१० मा च्याम्पियन्स लिग जितेको थियो । सुरुमा युरोपियन कप र पछि च्याम्पियन्स लिग भनिन थालिएको यो प्रतियोगितामा इन्टरले ६ पटक फाइनल खेलेको छ । 

इन्टरले पछिल्लो पटक च्याम्पियन्स लिग जितेको सन् २०१० मा हो । त्यस सिजन इन्टरले तीन उपाधि जितेको थियो । मतलब ट्रेबल । जोजे माउरिन्होको नेतृत्वमा रहेको इन्टरले च्याम्पियन्स लिग मात्र होइन, इटालियन सिरी ‘ए’ र कोपा इटालिया पनि जितेको थियो । त्यसयता कुनै इटालियन क्लबले च्याम्पियन्स लिग जितेका छैनन् ।  

अचेल युरोपियन फुटबलको केन्द्रमा पैसा छ । जोसँग अथाह पैसा छ, उही खेलाडी बजारमा शक्तिशाली । खेलाडी बजारमा जसको दबदबा रहन्छ, आखिरमा उपाधिको दाबेदार उही हुन्छ । हाल भइरहको त्यही छ । युरोपमा मात्र होइन विश्व फुटबलमै सर्वाधिक कमाइ गर्ने क्लब हो, सिटी । डेलोइट फुटबल मनी लिगका अनुसार सिटीले सन् २०२२ मा ७० करोड युरो कमाएको थियो ।


सिधा हिसाब यही हो, सिटीको कमाइ इन्टरको भन्दा ठ्याक्कै दोब्बर छ । फेरि इन्टर अहिले ऋणमा डुबेको छ । तर कम कमाइ वा ऋणले इन्टरको विगतलाई छायामा पार्न सक्दैन । इन्टरको विगत गर्विलो छ । गर्विलो विगत भएको इन्टरको लक्ष्य यही हो, च्याम्पियन्स लिग च्याम्पियन बन्ने ।

‘हामी ठूलो क्लब हो । हामीमाथि समर्थकको अपेक्षा छ । अपेक्षा भनेको उपाधि हो । जब इन्टर फाइनलमा पुग्छ, अपेक्षा जितकै हुन्छ । यो क्लबमा हामी सबै प्रतिभाशाली खेलाडी छौं । हामीलाई फाइनल कसरी खेल्ने भन्ने थाहा छ,’ इन्टरका प्रशिक्षक सिमोने इन्जागी भन्छन् ।

यो सिजन सिरी ‘ए’ मा तेस्रो भएको इन्टर सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै फाइनलमा आइपुगेको हो । त्यसअघि इन्टरले नकआउटका अरु खेलमा बेनफिका र पोर्टोलाई पन्छाएको थियो । दुई सिजनअघि सिरी ‘ए’ च्याम्पियन बनेको इन्टर यसपालि भने कोपा इटालिया उपाधिमै सीमित भयो ।

अटाटर्कमा विगत

च्याम्पियन्स लिगको फाइनल इस्तानबुलको अटाटर्क रंगशालामा हुन लागेको हो । संयोगवश इस्तानबुल त्यही सहर हो, जहाँ सिटीले पहिले पटक युरोपियन क्लब फुटबलको स्वाद चाखेको थियो । कुरा सन् १९६८/६९ को हो, सिटी फेनरबाचसँग युरोपियन कपको समूह चरणको खेल खेल्न इस्तानबुल पुगेको थियो । पहिलो लेग बराबरी गरेको सिटी दोस्रो लेगमा फेनरबाचसँग इस्तानबुलमा २-१ ले पराजित भयो ।



त्यसबेलाको सिटी एकसेएक स्टार खेलाडीले भरिएको थियो । फ्रान्सि ली, कोलिन बेल र माइक समरबी सिटीका मुख्य खेलाडी थिए । सन् २००८ अघिको सबैभन्दा बलियो सिटी टिम नै यही थियो ।

सन् २०११ सम्म सिटी युरोपियन क्लब फुटबलको शीर्ष श्रेणीको प्रतियोगितामा पुग्नै सकेन । प्रिमियर लिगको २०१०/११ सिजनमा सिटी तेस्रो भयो । जसकारण सिटी च्याम्पियन्स लिगमा छनोट भयो । सिटीलाई च्याम्पियन्स लिगमा पुर्याउने प्रशिक्षक इटालीका रोबर्टो मान्चिनी थिए ।

अटाटर्कले यसअघि पनि च्याम्पियन्स लिग फाइनल खेलाएको छ । च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक रोमाञ्चक फाइनल पनि यही रंगशाला भएको थियो । आमनेसामने भएका दुई टिम थिए, इटालीको मिलान र इङ्ल्यान्डको लिभरपुल । लिभरपुल पहिलो हाफमा ३-० ले पछि परेको थियो । तर लिभरपुलले दोस्रो हाफमा तीन गोल मात्र फर्काएन, पेनाल्टीमा मिलानलाई स्तब्ध बनायो ।

७२ हजार समर्थक अट्ने यो रंगशाला फेरि एकपटक त्यस्तै फाइनलको प्रतीक्षामा छ । खासमा यो रंगशालामा सन् २०२० मै च्याम्पियन्स लिग फाइनल हुनुपर्ने हो । तर कोभिड-१९ महामारीका कारण यहाँ फाइनल हुन सकेन । लिस्बन सर्यो । सन् २०२१ को फाइनल चाहिँ अटाटर्कमै खेलाउने भन्ने भयो । तर फेरि खेलस्थल परिवर्तन भयो । अवसर पोर्चुगलले नै पायो । छानिएको सहर थियो, पोर्टो ।  

यसरी दुई पटक अभागी साबित भएको इस्तानबुल अन्ततः फाइनलको संघारमा पुगेको छ । त के अटाटर्क सन् २००५ कै जत्तिको रोमाञ्चक फाइनलको साक्षी बन्न पाउँला ? अनुमान कसैले गर्नैपर्दैन । जवाफ आउँदो शनिबारले आफैँ दिनेछ ।