सर्जियो बुस्क्वेट्स

परिवर्तक सर्जियो बुस्क्वेट्स

काठमाडौं । मिडफिल्डर सर्जियो बुस्क्वेट्ससँग कौशलको भारी छ । उनीसँग भएका धेरै कौशलमध्येको एक हो ‘टाइमिङ’ । सायद त्यही कौशलको प्रयोग गरेर उनले नयाँ निर्णय गरेका छन् । ‘अब बार्सिलोनाबाट हिँड्ने सही समय आएको छ,’ उनले गरेको निर्णय यही हो । 

यो निर्णय लिन बुस्क्वेट्सलाई सजिलो भएन । उनी आफैँले भनेका छन् । होस् पनि कसरी, जब कि उनी १७ वर्षको उमेरबाट बार्सिलोनामै छन् । ‘निर्णय लिन साह्रै गाह्रो भयो । तर मैले निर्णय लिनै पर्थ्यो । किनभने यो सही समय हो,’ कप्तान बुस्क्वेट्सले भनेका छन् । 

दुई महिनापछि ३५ वर्ष पुग्दैछन्, बुस्क्वेट्स । आउँदो आइतबार उनले कप्तानी गर्ने बार्सिलोना स्पेनको नयाँ च्याम्पियन बन्न सक्छ, यदि इस्पान्योललाई हराए । यसअघि बुस्क्वेट्स बार्सिलोनासँग आठ पटक ला लिगा विजेता भइसकेका छन् । यसपालिको ला लिगा उपाधि भने उनका लागि सर्वाधिक विशेष हुनेछ । किनभने उनी बार्सिलोनाको जर्सीमा फेरि च्याम्पियन बन्न पाउने छैनन् ।

बुस्क्वेट्स बार्सिलोनामा १५ औं सिजन खेलिरहेका छन् । उनले बार्सिलोना यात्रालाई बिट मारेसँगै एउटा सिंगो युगले बिदा लिनेछ । उनी क्याम्प नोउबाट हिँडेपछि बार्सिलोनाको टिममा उनको पुस्ताका कोही खेलाडी बाँकी हुने छैनन् । 

लामो समय बुस्क्वेट्ससँगै खेलेका जाभी हर्नान्डेज अहिले बार्सिलोनाका प्रशिक्षक छन् । जाभीले बुस्क्वेट्सलाई सकेसम्म क्लब नछाड्न अनुरोध गरेकै हुन् । अनुरोध त कुनैबेला लुइस एनरिकेले पनि गरेका थिए, स्पेनी टिमबाट संन्यास नलिन भनेर । तर कतार विश्वकपपछि बुस्क्वेट्सले स्पेनी टिमबाट संन्यास लिइछाडे । राष्ट्रिय टिम र बार्सिलोना छाडेपछि बुस्क्वेट्सको नयाँ गन्तब्य कता ? टुंगो छैन । 

यहाँ भनीहालौं, बुस्क्वेट्स सायद अझ केही वर्ष बार्सिलोना बस्थे होलान् । तर आर्थिक संकटमा फसेको बार्सिलोनासँग उनको कुरा मिलेन । नयाँ सम्झौताका लागि छलफल हुँदा उनलाई अहिलेको भन्दा निक्कै थोरै तलब प्रस्ताव गरियो । हाल बार्सिलोनामा सर्वाधिक धेरै तलब पाउने खेलाडीमध्येका एक बुस्क्वेट्स नयाँ सम्झौताका लागि तयार भएनन् । 

तर के बुस्क्वेट्सले तलबकै कारण मात्र बार्सिलोना छाड्न लागेका हुन् त ? जानकारहरु भन्छन्, होइन । खासमा बुस्क्वेट्सको चित्त दुखेको छ । किन ? जवाफ जान्न थोरै भए पनि पृष्ठभूमि जान्न जरुरी छ । केही वर्ष भयो, बर्सिलोना आर्थिक समस्यामा फसेको छ भन्न थालिएको । आम्दानीभन्दा धेरै खर्च भएपछि बार्सिलोनाले पहिले जस्तो मन खोलेर खर्च गर्न सक्दैन । ला लिगा प्रशासनले अहिलेकै खर्च पनि कटौती गर्न भनिरहेको छ । 

यस्तोमा पटक पटक खेलाडीहरुको तलब कटौतीको कुरा आयो । जब जब बार्सिलोनाले खराब प्रदर्शन गर्थ्यो, तब तब धेरै धेरै कमाइ गर्ने खेलाडीको आलोचना हुन्थ्यो । यसबीचमा समर्थकको निशानामा बुस्क्वेट्स परिरहे । यत्तिका वर्ष बार्सिलोनालाई सफल बनाउन योगदान गरेका बुस्क्वेट्सलाई किन चित्त बुझ्थ्यो र ? 

बार्सिलोनाको एउटा पुस्ताले हरेक उपाधि जित्यो । ला लिगादेखि च्याम्पियन्स लिगसम्म । कोपा डेल रे, स्पेनी सुपर कप, यूइएफए सुपर कप, फिफा क्लब विश्वकप... सूची लामो छ । यी प्रतियोगिता पटक पटक जितेको बार्सिलोनाको केन्द्र थिए, बुस्क्वेट्स । क्लबमा मात्र होइन, राष्ट्रिय टिममा पनि बुस्क्वेट्सको योगदान गहिरो छ । स्पेनले २०१० मा विश्वकप र दुई वर्षपछि युरो जित्दा बुस्क्वेट्स कसैले भेट्न नसक्ने लयमा थिए । बुस्क्वेट्सको बर्हिगमनसँगै बार्सिलोना र स्पेनको टोलीमा यी तमाम सफलता हात पारेका अर्का खेलाडी बाँकी रहने छैनन् । 

बुस्क्वेट्स सन् २००५ मा बार्सिलोना पुगेका थिए । त्यसको तीन वर्षपछि उनले सिनियर टिममा ‘डेब्यु’ गर्न पाए । रेसिङ सान्तान्डरसँगको खेलबाट सुरु भएको उनको बार्सिलोना करियरले ७१९ खेल छोइसकेको छ । संयोग मान्नुपर्छ, बुस्क्वेट्स र प्रशिक्षक पेप ग्वार्डिओलाले ला लिगामा एकै सिजन ‘डेब्यु’ गरेका हुन् । दुवैका लागि पहिलो सिजन, २००८/०९ । पहिलो सिजनको पहिलो खेलमै ग्वार्डिओला पराजित भए । त्यो पनि नवप्रवेशी नुमानसियासँग । दोस्रो खेल थियो सान्तान्डरविरुद्ध । बुस्क्वेट्स पहिलो एघारमै परे । बार्सिलोनाको त्यो मिडफिल्डमा अन्य दुई खेलाडी थिए, जाभी र सेइडौ केइटा । 

बुस्क्वेट्स त्यसबेला युरोपेली क्लब फुटबलका लागि अपरिचत थिए । न त सान्तान्डरका प्रशिक्षक जुवान मुनिजले नै बुस्क्वेट्सलाई चिनेका थिए । बुस्क्वेट्स के थिए, कस्ता थिए त्यो फगत ग्वार्डिओलालाई मात्र थाहा थियो । अग्ला तर दुब्ला बुस्क्वेट्सका लागि बार्सिलोना कहिल्यै नयाँ ठाउँ थिएन । कारण ? पिता कार्लोस बुस्क्वेट्स । जो आफैँ बार्सिलोनाबाट खेलेका थिए ।

कुनै एक दिन कार्लोसले बार्सिलोनाका तत्कालिन प्रशिक्षक योहान क्रायफलाई आफू अभ्यास गर्न नसक्ने बताए । क्रायफले कारण सोध्नु स्वाभाविक थियो । कार्लोसले दिएको जवाफ सामान्य थिएन । ‘श्रीमतीको हातबाट झरेको तातो आइरन छोराको टाउकोमा नलागोस् भनेर समाएँ,’ कार्लोसले सुनाएको कारण यस्ता थियो । तातो आइरनले डढेको हातले गोलरक्षक कसरी अभ्यास गर्नसक्छ ?

पिताका कारण आइरनले डामिनबाट बचेका बुस्क्वेट्स सुरुमा बार्सिलोना ‘बी’बाट खेले । जो त्यसबेला क्षेत्रीय लिगमा थियो । प्रशिक्षक थिए, ग्वार्डिओला । उनै ग्वार्डिओलाका कारण बुस्क्वेट्सलाई बार्सिलोना ‘बी’ बाट सिनियर टिममा बढुवा हुन धेरै समय लागेन । बढुवा किन फास्ट ट्रयाकमा ? यो प्रश्न धेरैले सोधे । न त ग्वार्डिओला न त बुस्क्वेट्सले जवाफ दिए । जवाफ त बार्सिलोनाले त्यस सिजन जितेको ला लिगाले दियो । ला लिगा मात्र कहाँ हो र, बार्सिलोनाले च्यामिपयन्स लिग र कोपा डेल रे पनि जित्यो । बार्सिलोनामा पहिलो सिजन नै ‘ट्रेबल’ जितेका बुस्क्वेट्स एक वर्षपछि विश्वकप विजेता पनि बने । 

यो त बस् सुरुआत थियो । त्यसपछि त बुस्क्वेट्सले निरन्तर जितिरहे । युरो, ला लिगा, फेरि च्याम्पियन्स लिग । ला लिगा त थपिँदै गयो । हुँदाहुँदै उनले जितेको उपाधिको संख्या ३४ पुगिसकेछ । यो संख्या अब ३५ हुनेछ, जब उनले १० औं पटक ला लिगा उपाधि उचाल्नेछन् । 

हुन त बुस्क्वेट्सको परिचय यी तथ्यांकमा मात्र सीमित छैन । खासमा उनी ‘एन्टी स्ट्याट’ हुन् । किनभने उनको खेल कौशल तथ्यांकमा नाप्न सकिँदैन । बार्सिलोना ‘बी’ मा स्ट्राइकर भएर खेलेका बुस्क्वेट्स आखिरमा डिफेन्सिभ मिडफिल्डर भए । यो यात्रालाई तथ्यांकले कसरी नाप्न सक्छ ? 

बार्सिलोना ‘बी’ मा पहिलो खेलमै गोल गरेका बुस्क्वेट्सले सिनियर टिममा गरेको कुल गोल १८ हो । स्पेनका लागि गरेको गोल पनि जोड्ने हो भने २० । असिस्ट पनि खासै धेरै छैन । बार्सिलोनाबाट ७ सय भन्दा बढी खेल खेल्दा ४५ मात्र । स्पेनी टिममा १४३ खेल खेल्दा उनले एक गोलका लागि पनि पास मिलाएनन् । 

बुस्क्वेट्सले सधै डिफेन्सिभ मिडफिल्डर भएर खेलेका छन् । तर उनले ‘डिफेन्ड’ गरेको देखिँदैनन् । न त उनी अरु डिफेन्सिभ मिडफिल्डर जस्तो ट्याकल नै गर्छन् । उनी खेल पढ्छन्, अघि बढ्छन् । तर अचानक विपक्षी खेलाडीसँग बल खोस्न जाँदैनन्, जुध्दैनन् । उनी लोभलाग्दा ‘एथ्लेट’ होइनन् । धेरै दौडिँदैनन् । ‘प्रेसिङ’ फुटबलको जमानासँग अभ्यस्त हुन उनी मैदानको धेरै भाग ‘कभर’ गर्दैनन् । न त तीव्र गतिकै छन् । 

तर उनले प्रहार गर्ने बल चाहिँ तीव्र गतिमा हुनेगर्छ । उसो त बलको गति बुस्क्वेट्स आफैँ निर्धारण गर्छन्, खेलको परिस्थिति अनुसार । बलको गति घटाउन आवश्यक भए बुस्क्वेट्सको प्रहार मन्द हुन्छ । बुस्क्वेट्स जे गर्छन्, खेलको माग अनुसार गर्छन् ।

बुस्क्वेट्स भाग्यमानी खेलाडी हुन् । जितेका उपाधि हेरेर उनलाई यसो भनिएको होइन । बरु उनले खेल्न पाएका दुई टिमका कारण भाग्यमानी भनिएको हो । उनले यस्ता टिमबाट खेले, जसले विश्व फुटबलमा ‘पाराडाइम सिफ्ट’ गर्यो । खासमा ग्वार्डिओलाको बार्सिलोना र भिन्सेन्ट डेल बोस्कको स्पेनले सुन्दर मानिएका खेल शैलीलाई अझ परिस्कृत गरे । ती दुई टिमले जे गरे, त्यो बुस्क्वेट्सबिना सम्भव थिएन । बुस्क्वेट्सले त आफूलाई दिइएको भूमिकाको महत्त्वलाई फरक बिन्दूमै पुर्याए । 

‘विश्व फुटबलका उत्कृष्ट मिडफिल्डहरुमध्येका एक हुन्, बुस्क्वेट्स । स्पेनको इतिहासमा त उनी जत्तिको डिफेन्सिभ मिडफिल्डर कोही थिएन,’ जाभीले साथी बुस्क्वेट्सबारे भनेका छन् । जाभी आधुनिक फुटबलको अब्बल विद्यार्थी हुन् । तर बुस्क्वेट्सलाई केवल डिफेन्सिभ मिडफिल्डर मान्नु न्यायोचित नहुने उनी बताउँछन् । किनभने एउटा पोजिसनले मात्र बुस्क्वेट्सको परिचय पूरा हुँदैन । 

बुस्क्वेट्स पूर्ण मिडफिल्डर हुन् । उनी यस्ता मिडफिल्डर हुन्, जसलाई तीव्रताको महत्त्व थाहा छ । तर तीव्रता उनको खुट्टामा नभई मस्तिष्कमा हुन्छ । तीक्ष्ण बुस्क्वेट्सलाई थाहा छ, बलसँग कुनबेला रोकिने । बललाई कतिबेला रिलिज गर्ने त्यो पनि जानेका छन् । कसैले भन्ला यी सबै कुरा हरेक मिडफिल्डरलाई थाहा हुन्छ । हो, पक्कै थाहा हुन्छ । तर यहाँ कुरा ‘टाइमिङ’ को हो । उनकै ‘टाइमिङ’ ले त हो बार्सिलोनाको मिडफिल्डलाई ज्वाला बनाएको । उनी नभएको भए बार्सिलोनाको त्यो मिडफिल्ड जाभी र आन्द्रेस इनिएस्टाले मात्र धान्न सक्थे ? सक्न त सक्थे होला । तर विश्व फुटबलमा आदर्श मिडफिल्डको दर्जा चाहिँ पाउँदैन थियो कि ? 

त्यसबेलाको स्पेनी टिम लोभलाग्दो थियो । बार्सिलोना पनि चानचुने थिएन । इनिएस्टा र जाभी, लियोनल मेसी र डेभिड भिया, फर्नान्डो टोरेस र सर्जियो रामोस, जेरार्ड पिके र कारलेस पुयोल । यही सूचीमा थपिदिऊ, थिएरी अनरी र सामुएल इटो पनि । अनि ज्लाटान इब्राहिमोभिच, लुइस स्वारेज र नेयमारको जोडी त झन् कसरी बिर्सनु ? यी सबै खेलाडी एकसेएक थिए । तर कोही पनि बुस्क्वेट्स बन्न नचाहने । 

विश्वकप २०१० खेल्न दक्षिण अफ्रिका पुगेको स्पेनी टिमका प्रशिक्षक डेल बोस्कलाई धेरैले सोधे, बुस्क्वेट्स किन टिममा ? डेल बोस्कको जवाफ थियो, ‘यदि म अहिले खेलाडी हुन्थे बने बुस्क्वेट्स जस्तै हुन चाहन्थेँ ।’ बोस्कले यति भनेपछि के चाहियो ? बुस्क्वेट्सलाई कसले कसले मात्र तारिफ गरेका छैनन् ? तारिफ गर्नेको सूची लामो छ । फेरि यो सूचीमा सामान्य मानिस छैनन् । बरु यस्ता मानिस छन् जो फुटबल विषयका टपर हुन् । योहान क्रायफले बुस्क्वेट्सलाई फुटबलको उपहार भनेका छन् । ग्वार्डिओलाका लागि त उनी अमूल्य मिडफिल्डर हुन् । 

ग्वार्डिओलाले बुस्क्वेट्सबारे रोचक किस्सा सुनाएका छन् । खासमा यो किस्साको मुख्य पात्र त मेसी हुन् । बुस्क्वेट्स भर्खर सिनियर टिममा मिसिएका थिए । अभ्यास हुँदै थियो, बुस्क्वेट्स बलसँग घुलमिल हुँदै थिए । बुस्क्वेट्समाथि मेसीको नजर थियो । त्यहीबेला मेसी फनक्क ग्वार्डिओलातिर फर्किए र भने, ‘बुस्क्वेट्सले खेल्न सक्छ ।’  

बुस्क्वेट्स तारिफको भोको होइनन् । अरुले तारिफ गरुन् भन्ने पनि ठान्दैनन् । ‘अरुले मेरोबारे कुरा गरेको ठिक लाग्दैन । अन्तरवार्ता त झन् दिनै मन लाग्दैन । मेरो ट्विटर पनि छैन । स्ट्राइकरहरुलाई जस्तो तारिफ मलाई चाहिएको छैन । मलाई टिमको मुख्य खेलाडी बन्ने रहर छैन । बरु म चाहन्छु मुख्य खेलाडी स्ट्राइकर बनुन् । गोल गरिरहुन् । उनीहरुका लागि गोल आवश्यक छ । मलाई गोलको मतलब छैन । यदि गोलको मतलब हुन्थ्यो भने, म मिडफिल्डमा खेल्दिनँ थिए । मलाई मेरो पोजिसन प्यारो लाग्छ । मलाई आफ्नो जिम्मेवारी मनपर्छ,’ बुस्क्वेट्सले भनेका छन् ।

बुस्क्वेट्सको खेल बुझाउने एउटा प्रख्यात भनाइ छ । यो भनाइ डेल बोस्कको हो भनिन्छ । हुन त यसको पुष्टि भएको छैन । तर जसले भनेको भए पनि कुरा सही छ । ‘खेल हेर, बुस्क्वेट्सलाई देखिँदैन । तर बुस्क्वेट्सलाई हेर खेल देखिन्छ,’ भनाइ यस्तो छ ।

केही समयअघि स्पेनका पूर्वप्रशिक्षक लुइस एनरिकेले भनेथे, ‘बुस्क्वेट्स जस्तो कोही छैन ।’ सायद हो पनि । बुस्क्वेट्सले जसरी आफ्नो पोजिसनलाई परिस्कृत गरेका छन्, सायदै अर्को खेलाडीले त्यसो गर्न सकेका छन् । ‘राम्रो पिभोट मिडफिल्डर (मिडफिल्डको तल्लो भागमा खेल्ने) बन्न शारीरिक रुपमा बलियो हुनुपर्छ भन्ने छैन । बरु रणनीतिक रुपमा चतुर हुनुपर्छ । विपक्षीको खेल बुझ्ने, खतराको संकेत थाहा पाउने, टिम अफ्ठ्यारोमा परेका बेला समाधान निकाल्ने, रक्षापंक्तिलाई मात्र होइन अग्रपंक्तिलाई पनि सघाउने गर्नुपर्छ । खेल नियन्त्रण गर्ने जिम्मा नै पिभोटको हो,’ बुस्क्वेट्सले भनेका छन् । 

उमेरका हिसाबले बुस्क्वेट्स करियरको उत्तरार्धमा छन् । उनले पहिलेजस्तो खेल्न सक्दैनन् भन्ने शंका हुनु स्वाभाविक हो । पछिल्लो एक वा दुई सिजनमा उनले कयौं खेलमा खराब प्रदर्शन गरेको पनि सत्य हो । धेरै तलब लिने खेलाडी भएकाले आर्थिक संकटमा परेको बार्सिलोनाले उनलाई किन राख्ने ? प्रश्न यस्तो पनि गरियो । यद्यपि उनलाई प्रशिक्षकहरुले आफ्नो टिममा राख्न भने निरन्तर प्रयास गरेकै हुन् । स्पेनी प्रशिक्षकको जिम्मेवारी त्याग्नुअघि एनरिकेले उनलाई सन् २०२६ को विश्वकपअघि संन्यास नलिन भनेका थिए । ‘बुस्क्वेट्स निकै लामोे समयदेखि खेलिरहेका छन् । मानिसहरुले उनको  जति हेर्नु पर्ने थियो, त्यति हेरिसके । सायद यही कारण हो, उनीहरु बुस्क्वेट्सले खेल्न पुग्यो भनिरहेका छन्,’ एनरिकेले भनेका छन् ।  

जाभी अझै पनि बुस्क्वेट्सलाई बार्सिलोनाको महत्वपूर्ण सदस्य मान्छन् । उनले पनि बुस्क्वेट्सलाई मनाउन खुबै प्रयास गरे । तर बुस्क्वेट्स आफ्नो निर्णयमा अडिग छन् । किनभने उनलाई ज्ञान छ, सही समयको ।  

एजेन्सीको सहयोगमा