सनोज श्रेष्ठ

धित मार्ने धोको

काठमाडौं । सनोज श्रेष्ठले तीन फरक क्लबबाट घरेलु फुटबलमा खुट्टा चलाए । कलेज जीवनमा बिदाका बेला रमाइलोका लागि फुटबल खेल्दा ब्रिगेड ब्वाइज क्लब उनको गन्तब्य हुने गर्थ्यो ।

त्यतिबेला ब्रिगेड ब्वाइज नेपाली लिग पिरामिडमा ‘बी’ डिभिजनमा थियो । सनोज भारतको चेन्नईमा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका थिए । बिदामा आउँदा कहिलेकाँही खेल्नेले शीर्ष डिभिजनमै खेल्ने अवसर पाउन कठिन हुनु स्वभाविक थियो ।

ब्रिगेड ब्वाइजबाट राम्रो प्रदर्शन गरेपछि भने सनोजले पाटने टोली थ्री स्टारबाट शीर्ष डिभिजन खेल्ने मौका पाए । अध्ययन सकेर फर्किएपछि चाँही खेलाडीका रुपमा उनको स्थायी गन्तब्य जावलाखेल युथ क्लब बन्यो ।

लगनखेलका स्थायी बासिन्दा सनोजले खेलाडीका रुपमा तीन फरक क्लबबाट खेले पनि ति सबै आफ्नै जिल्लाका थिए । खेलाडीका रुपमा जावलाखेलका दिनहरु उनका लागि स्मरणीय छन् । व्यावसायिक फुटबलमा उनले सबभन्दा धेरै खेलेको जावलाखेलबाटै हो । थ्री स्टारबाट शीर्ष डिभिजनमा ‘डेब्यु’ गरे पनि उनी बेन्चका खेलाडी थिए । जावलाखेलबाट सनोजले २०६० सालदेखि तीन सिजन पहिलो रोजाईबाट लिग खेले । त्यसक्रममा एक पटक टोली शीर्ष चारमा पर्यो ।

तीन सिजनपछि उनी क्लबको कप्तान भए । लिग नियमित नभएर मात्र हो । नत्र उनकै कप्तानीमा जावलाखेलले लिग पनि खेल्थ्यो । २०६३ पछि लामो समय लिग भएन र सनोज आर्मब्यान्ड लगाएर लिगमा मैदान उत्रिन पाएनन् । तर मोफसलका नकआउट प्रतियोगितामा भने उनकै नेतृत्वमा जावलाखेलले प्रतिस्पर्धा गर्यो ।

यहाँनिर चर्चा गर्न खोजिएको खेलाडी सनोजको होइन । फुटबलर सनोजको हो । अर्थात, खेलाडी बाबुका छोरा सनोजको । खेलाडी सनोजको । अझ खासगरि प्रशिक्षक सनोजको ।

सनोजकै प्रशिक्षणमा अहिले ललितपुरकै अर्को टोली सातदोबाटो युथ क्लब शीर्ष डिभिजनको लिग खेलिरहेको छ । गत सिजन ‘ए’ डिभिजनमा बढुवा भएको सातदोबाटोसामू यसपाली अघिल्लो सिजनभन्दा राम्रो नतिजा ल्याउनुपर्ने चुनौती छ । गत वर्ष ‘डेब्यु’ सिजनमै सातदोबाटोले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

‘यसपाली हामी गत वर्षको भन्दा माथि रहने लक्ष्यमा छौं । हाम्रो चुनौती त्यही हो,’ प्रशिक्षकका रुपमा सातदोबाटोलाई ‘बी’ डिभिजनबाट शीर्ष श्रेणीमा उकाल्दा पनि नेतृत्व प्रदान गरेका सनोजलाई आफ्नो जिम्मेवारी राम्ररी थाहा छ ।

सातदोबाटो हाल १६ खेलमा २३ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । शीर्ष तीनको लक्ष्य हासिल हुनेमा सनोज आशावादी छन् । तर एन्फाले जसरी भए पनि लिग सक्ने मात्र उद्देश्य राखेका कारण खेलाडी र क्लबमाथि घात भएको उनको बुझाई छ ।

‘एउटा खेलपछि ७२ घण्टा विश्राम हुनुपर्ने हो तर एन्फाको लिग सकाउने हतारोका कारण हामी मारमा परेका छौं,’ सनोजले भने, ‘हामीले यस सिजनको पहिलो चरणमा राम्रो प्रदर्शन गरेका थियौं । तर खेलाडीको चोट र उनीहरुले विश्राम नपाएका कारण पछिल्लो समय हाम्रो खेल केही खस्किएको छ । लिग व्यवस्थित ढंगमा संचालन गर्नुपर्छ ।’

फर्कौ सनोजको बाल्यकालतिर । उनका बुवा सानुलाल श्रेष्ठ तत्कालिन महेन्द्र पुलिस क्लबबाट फुटबल खेल्थे । काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा फुटबलको क्रेज उधुम थियो । ललितपुरको फुटबल क्रेज अनि घरको फुटबलमय माहोलले सनोजलाई पनि यो खेलप्रति आकर्षित गरेको थियो । तर औपचारिक रुपमै खेल्ने अवसर सानोमा मिलेन । उसोत फुटबलमै करियर बनाउने सनोजको योजना पनि थिएन । होटल म्यानेजमेन्ट पढ्न भारत गएका उनले आतिथ्य पेशामै भविश्य खोल्ने योजना बनाएका थिए ।

‘फुटबलमा लगाव थियो, तर यसमै करियर बनाउँछु भन्ने सोचमा कहिल्यै पनि थिइँन । घरको वातावरण फुटबलमैत्री थियो । थ्री स्टारबाट ‘ए’ डिभिजनमा ‘डेब्यु’ गर्दासमेत व्यावसायिक खेलाडी बन्छु र फुटबलमा जीवन बिताउँछु भन्नेमा थिइँन,’ सनोज भन्छन्, ‘नेपाल फर्किएपछि याक एण्ड एती र भृकुटी होटलमा हाउसकिपिङ म्यानेजरको रुपमा काम गरेँ । २०६० सालमा जावलाखेलमा ट्रायलबाट छनोट भएपछि करियरले नयाँ मोड लियो ।’

लिग नियमित भएको भए सायद राष्ट्रिय टोलीको ढोका खुल्न सक्थ्यो । सानो छँदा पढाईका कारण उमेर समूहमा प्रतिस्पर्धा गर्न पाएनन् । ढूलो भएर खेल्न थालेपछि करियरको उत्कर्षमा पुग्दा लिग नै हुन छोड्यो । जसका कारण नेपालको जर्सी लगाउने संयोग उनलाई जुरेन । तर लिग नभएकै समयमा सनोजले प्रशिक्षक लाइसेन्सको लागि तयारी गरे । एएफसीको ‘सी’ र ‘बी’ हुँदै ‘ए’ लाइसेन्स कोर्स पास गरे । अचेल उनी आफूलाई एउटा अब्बल प्रशिक्षकका रुपमा उभ्याउने प्रयासमा दिनरात खटिइरहेका छन् ।

‘नेपालमै भएको भए एन्फा एकेडेमीमा भर्ना हुन प्रतिस्पर्धा गर्थें होला । पढाईका कारण पाइन । हामीले लिग खेल्ने बेला राष्ट्रिय टोलीमा सबै अब्बल खेलाडी थिए । टोलीमा पर्न प्रतिस्पर्धा धेरै थियो । लिग नियमित भएको भए सायद मैले पनि राष्ट्रिय टोलीमा खेल्ने अवसर पाउथें होला,’ सनोज चुक्चुकाउँछन्, ‘तर लिग अलपत्र पर्दा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने सम्भावना टरेर गयो । राष्ट्रिय टोलीबाट खेल्न नपाए पनि फुटबलबाट अलग हुन सकिँन । लिग नुहँदाको समयमा कोचिङ कोर्सहरु गरेँ ।’

एन्फा एकेडेमीमा १४ वर्ष मुनिका खेलाडीको दुई ब्याचलाई प्रशिक्षण गराएका सनोजका लागि क्लब फुटबलमा भने सातदोबाटो दोस्रो क्लब हो । संयोगवश प्रशिक्षकका रुपमा पनि ललितपुरका क्लबमा मात्र काम गरेका उनका लागि गत सिजन निक्कै खराव थियो । उनै प्रशिक्षक रहँदा ब्रिगेड ब्वाइजले शीर्ष डिभिजनको हैसियत गुमायो । उनको खेलाउने शैलीको आलोचना पनि भयो ।

फुटबलमा नतिजाको निक्कै महत्व हुन्छ । जितमा सबै कमजोरी छोपिन्छन् भने हारले कमीहरु उजागर गर्छ । सनोजलाई पनि त्यस्तै भयो । तर एउटा क्लब रेलिगेसन हुनुमा प्रशिक्षकको मात्र दोष हुँदैन । त्यसमा खेलाडी र क्लब व्यवास्थापनको पनि हात हुन्छ भन्ने बुझेका सनोजले हार मानेनन् ।

‘हामीले गत सिजन आर्थिक समस्याका कारण राम्रा खेलाडी ल्याउनै सकेनौं । युवामा निर्भर हुन बाध्य हुँदा रेलिगेसन स्वीकार्नुपर्यो,’ उनी भन्छन्, ‘फुटबलमा हार जित भइरहन्छ । त्यो मेरो जीवनको एउटा भोगाई रहयो । म ब्रिगेड ब्वाइजको खेलाडी थिएँ र प्रशिक्षक पनि भएँ । बिबिसीसँग मेरो विशेष लगाव छ ।’

दुई वर्षपछि सातदोबाटोमा पुनरागमन जनाउँदा फरक खालको चुनौती सामना गरिरहेका सनोज प्रशिक्षकका रुपमा अझै परिपक्व भइसकेका छैनन् । त्यसैले त उनी पिता सानुलालको छायाँ प्राप्त गर्दा ढुक्क हुन्छन् । सुरक्षित महशुष गर्छन ।

सनोजका पिता सानुलाल श्रेष्ठ अहिले पनि सातदोबाटोको खेल हेर्न सधै मैदानमै पुग्छन । घर नजिकैको बुद्धिविकास खेल मण्डलमा टोलीको प्रशिक्षणमा पनि पुग्छन । टोलीका राम्रा-नराम्रा पक्ष केलाउँछन् र सुधारका लागि सुझाव दिन्छन ।

‘मैले बुबाको प्रशिक्षणमा खेल्न त पाइँन,’ फुटबलमा आफ्ना आदर्श उत्प्रेरक पिताबारे सनोज भन्छन्, ‘तर उहाँ अहिले पनि मेरो गुरु हो । मेरो भर हो । उहाँले सधै हाम्रो खेल र अभ्यास हेरेर हौसला बढाइरहनुहुन्छ । हामीलाई मार्गनिर्देश गरिरहनुहुन्छ । यसले सकारात्मक उर्जा दिन्छ ।’