पिएसजीको खुसी कति टिकाउ ? 

लियोनल मेसीको गोल र जियानलुइजी डोनारुम्माको क्लिन सिट पेरिस सेन्ट जर्मन (पिएसजी) को मंगलबार रातिको जितमा सुनमा सुगन्ध बन्यो । क्लब ब्रुगेसँगको बराबरीबाट यसपालिको युरोपेली च्याम्पियन्स लिग यात्रा सुरु गरेको पिएसजीले दोस्रो खेलमा सहज जित हात पार्‍यो । त्यो पनि म्यानचेस्टर सिटी जस्तो बलियो टिमविरुद्ध । 

खाडी मुलुक कतारको लगानी रहेको पिएसजीका लागि सिटीविरुद्धको जित महत्वपूर्ण रह्यो । यसका केही कारण छन् । जस्तै, सिटी कतारसँग प्रतिद्वन्द्विता भएको संयुक्त अरब इमिरेट्स (यूएई) को शाही परिवारबाट सञ्चालित छ । बलियो सिटीलाई हराउँदा पिएसजी युरोपियन क्लब फुटबलको नवशक्ति भएको तर्क थप बलियो हुनु हो । 

पहिलो खेलमा रोकिएपछि दबाबमा रहेका माउरिसियो पोचेटिन्होले पनि राहत महसुस गरेका छन् अनि उनका बोस नासेर अल खालेफीले पनि । नासेर पीएसजी अध्यक्ष हुन् । दुवै दंग छन् । जितपछि उनीहरूको अपेक्षा पनि सृदृढ बनेको छ । त्यो हो, युरोपियन क्लब फुटबलको नयाँ च्याम्पियन बन्ने । 

सिटीविरुद्धको जित मेसीका लागि पनि विशेष बन्यो । किनभने उनी पिएसजीको जर्सीमा गोलको खाता खोल्ने दबाबमा थिए । इड्लिस प्रतिद्वन्द्वीसँगको खेलमा सधैं खरो उत्रने मेसीले यसपालि पनि आफ्ना समर्थकलाई निराश बनाएनन् । उनले यस्तो क्लबविरुद्ध गोल गरे, जसको प्रशिक्षक उनका पूर्वगुरु हुन् । जोसँग उनले बार्सिलोनामा दुई च्याम्पियन्स लिगसहित दुई दर्जन उपाधि जितेका थिए ।  

समूह चरणको पहिलो खेलमा क्लब ब्रुगेविरुद्ध पिएसजीले आफ्ना तीन स्टार फरवार्ड उतारेको थियो । सिटीसँगको खेलमा उही अग्रपंक्तिको प्रयोग गरियो । हुन त यो पिएसजीका लागि मौका पनि थियो, आफूसँग भएका तीन स्टारको प्रदर्शन गर्ने । पार्क डे प्रिन्सेसमा सिटीले बढी आक्रामण बुन्यो । तर गोल गर्न सकेन । खेल जितेको पिएसजीले सीमित संख्यामा सिटीको पोस्टमा प्रहार गर्‍यो । मेसी, नेइमार र किलियन एमबाप्पेबीच खासै तालमेल हुन सकेन । 

जब एउटा टिममा तीन विश्व स्तरीय फरवार्ड हुन्छन्, तब समर्थकले बढीभन्दा बढी गोलको आस गर्छन् । तर पिएसजीमा यस किसिमको सम्भावना देखिएको छैन । पाएको मौकामा गोल गर्नसक्ने खुबी भएका यी तीनै खेलाडीमा एउटा समानता छ, उनीहरू ‘प्रेस’ गर्दैनन् । मतलब विपक्षीबाट बल खोस्ने प्रयास कम गर्छन् । फेरि यो समस्या पिएसजीको मात्र होइन, अन्य ठूला क्लबको पनि हो । बार्सिलोनामा पनि यो समस्या देखिएको छ । क्रिस्टियानो रोनाल्डो रहँदा युभेन्ट्सको पनि हालत त्यही थियो । 

यस्तोमा पिएसजीका प्रशिक्षक पोचेटिन्होले जे सक्थे, त्यही गरे । प्रेसिङ गेम खेल्ने मिडफिल्डरलाई मैदान उतारे । ती थिए, इद्रिसा गुये र एन्डर हेरेरा । गुयेले त गोल पनि गरे । उनीहरूलाई जिम्मा दिइएको थियो, बल गुमाएपछिको अवस्थामा विपक्षीबाट तुरुन्त बल खोस्ने । यस्तो लाग्थ्यो, पिएसजी ४-३-०-३ मा खेलिरहेको थियो । यस किसिमको संरचनालाई सन् १९९० को दशकमा ‘ब्रोकन’ फुटबल भनिन्थ्यो । विशेषगरी इटालीमा यसको खुबै चर्चा थियो । 

के यस किसिमको संरचना सधैं काम लाग्छ ? झन् ठूला टिमविरुद्ध खेल्दा । मंगलबारको खेलमा सिटी हरेक पक्षमा हाबी थियो । गोलको मौका सिर्जना गर्नेदेखि बल पोसेसन राख्ने स्थितिसम्म । रहिम स्टर्लिङ र बर्नार्डो सिल्भाका एक-एक प्रहार त पोस्टमा लागेर फर्किए । उता पिएसजीले भने स्पष्ट मौका पायो । र, गोल गर्‍यो । पिएसजीले पहिलो गोल गर्न सक्नुको कारण सिटीको रक्षात्मक गल्ती थियो । त्यसपछि पिएसजीले रक्षात्मक खेल्यो र मौकाका लागि फर्कियो । 

यसबेला सिटी अचम्मको लयमा छ । सिटीले कि त एकै खेलमा ५-६ गोल गर्छ कि एकै गोल गर्न पनि सक्दैन । रक्षात्मक टिमविरुद्ध मौका सिर्जना गर्ने तर गोल गर्न नसक्ने रोग सिटीमा देखा परिरहेको छ । इङ्लिस प्रिमियर लिगमा चेल्सीसँगको खेलमा सिटीले एक गोल मात्रै गर्न सक्यो । जबकि उसले निकै मौका सिर्जना गरेको थियो । यस सिजन इत्तिहादबाहिर खेलेको ५ खेलमा सिटीले जम्मा २ गोल गर्न सकेको छ । सेन्ट्रल फरवार्ड नभएका कारण पनि सिटीमा गोलस्रोत को भन्ने प्रश्न उठेको छ । 

अब फेरि पिएसजीकै कुरा । उसले विश्वकै महंगो अग्रपंक्ति निर्माण गरेको छ । तर यो अग्रपंक्ति चल्छ कि चल्दैन भन्ने प्रश्नले पिएसजी पिरोलिने समय नजिक छ । धेरैजसो क्लबमा उस्तै स्तरका तीन फरवार्ड खेलाउँदा तालमेल नमिलेको हामीले देखेकै छौं । केही अपवाद पनि छन् । जस्तै लिभरपुल । जहाँ मोहम्मद सालाह, साडियो माने र रोबर्टो फिर्मिन्हो वा डिएगो जोटाको तालमेल गज्जबको छ । यो त केही वर्षअघिको बार्सिलोनाको जस्तो । जतिबेला मेसी, नेइमार र लुइस स्वारेजले बेजोडको खेल देखाएका थिए । 

पिएसजीमा समस्या देखिन सुरु भइसकेको छ । मंगलबारको खेलमा सब्स्टिच्युट भएपछि एमबाप्पे आक्रोसित देखिएका थिए । उनी सहकर्मी खेलाडी गुयेसँग झोक्किँदै थिए । उनको आरोप थियो, पर्याप्त पास दिइएन । उनको आरोप नेइमारतर्फ भएको बताइएको छ । हुन त फुटबलमा यस्तो गुनासो सामान्य हो । खेलाडीहरूबीच पास नदिएको विषयमा आरोप-प्रत्यारोप चलिरहन्छ । किनभने सबै स्ट्राइकर वा विंगरको उद्देश्य बढीभन्दा बढी गोल गर्ने नै हुन्छ । तर पिएसजीको मामलामा अमिल्दो कुरा भनेको एमबाप्पेको प्रतिक्रिया हो । त्यो उनको स्वभाव पनि हो । 

खेलपछि नेयमार र एमबाप्पेका समर्थक एकअर्काका मनपर्ने खेलाडीलाई खुइल्याउन सामाजिक सञ्जालमा उत्रिए । एमबाप्पेले गोलका मौका खेर फालिरहेको दृश्य भाइरल भयो । सँगै प्रश्न पनि, मौका खेर फाल्ने एमबाप्पेलाई किन पास दिइरहने ? 

एउटा तथ्य के हो भने पछिल्लो एक वा डेढ वर्षमा एमबाप्पेको लय खस्केको छ । तर यति हुँदाहुँदै पनि उनी विश्व फुटबलमा खतरनाक खेलाडीमध्येका एक हुन् । २२ वर्षीय एमबाप्पेले अवाक् बनाउने प्रकारको खेल देखाउन सक्छन् ।

युरो २०२० मा भने उनको प्रदर्शनलाई लिएर आलोचना भयो । यसले पनि उनलाई मानसिक तनाव दिएको हुनुपर्छ । फुटबलरहरू अक्सर यस किसिमको तनाव र दबाबमा रहन्छन् । पिएसजीकै एन्जल डी मारियालाई त तनावमुक्त हुन थेरापी आवश्यक परेको थियो । किनभने उनी अर्जेन्टिनाका समर्थकको चर्को आलोचनामा परिरहेका थिए ।

फेरि पिएसजीमा असाधारण वातावरण सिर्जना भएको छ । एक से एक खेलाडी जम्मा हुँदाको घाटा नै भन्नुपर्छ, टिमले सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा स्टार खेलाडीहरूका समर्थक एकअर्कालाई मननपर्ने स्टारविरुद्ध मोर्चाबन्दी गर्छन् । यसले टिमको माहौल बिगार्ने काम गर्नसक्छ । 

यस्तोमा प्रश्न फेरि उही । के मेसी, नेइमार र एमबाप्पे आपसमा व्यक्तिगत सम्बन्ध बलियो बनाएर अघि बढ्न सक्छन् ? ता कि यसले पिएसजीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्न सकोस् । यसबाहेक पिएसजीमा अर्को समस्या पनि विद्यमान छ । त्यो भनेको मिडफिल्ड र अग्रपंक्तिबीचको तालमेल । यसकारण भन्न करै लाग्छ, पिएसजी ब्रोकन टिम हो । 
(एजेन्सीको सहयोगमा)