कतार विश्वकप २०२२

निखारिँदै एसियाली फुटबल

काठमाडौं । फिफा विश्वकपको इतिहासमा अहिलेसम्म अर्को महादेशमा गएर उपाधि जित्ने बहादुरी चार टोलीले मात्र गर्न सकेका छन् । विश्व फुटबलको सबभन्दा ठूलो मेलाका २१ संस्करण सम्पन्न भइसक्दा सबभन्दा सफल पाँच पटकको च्याम्पियन ब्राजिलले चार पटक दक्षिण अमेरिकाभन्दा बाहिर गएर उपाधि जितेको छ । यसैगरी दुई पटकको विजेता दक्षिण अमेरिकाकै अर्जेन्टिना, चार पटकको विजेता युरोपेली महारथी जर्मनी र युरोपकै स्पेनले एक/एक पटक अर्को महादेशको भ्रमणबाट उपाधिसहित घर फर्किएका छन् ।

ब्राजिलले १९५८ को स्वीडेन विश्वकप, १९७० को मेक्सिको विश्वकप, १९९४ को अमेरिका विश्वकप र २००२ को कोरिया÷जापान विश्वकपमा उपाधि जितेको थियो । यसैगरी अर्जेन्टिनाले १९८७ मा मेक्सिकोले आयोजना गरेको विश्वकप जितेको थियो । स्पेनले २०१० मा दक्षिण अफ्रिका तथा जर्मनीले २०१४ मा ब्राजिल भ्रमणबाट विश्व च्याम्पियनसिपको ताज लिएर घर फर्किए ।

विश्व फुटबलको कुम्भमेला मध्यपूर्वको कतारमा जारी छ । विश्वकपको जारी २२औं संस्करण एसियाले आयोजना गरेको यो दोस्रो पटक हो । अघिल्लो पटक २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गर्दा ब्राजिलले उपाधि जितेको थियो । त्यतिखेर दक्षिण कोरियाले चाँही सनसनीपूर्ण रुपमा सेमिफाइनलसम्मको यात्रा गरेर विश्व फुटबललाई चकित बनाएको थियो ।

विश्वकपले अहिलेसम्म युरोप र अमेरिकाबाहेकको महादेशबाट च्याम्पियन पाउन सकेको छैन । भुगोल, जनसंख्या र अर्थतन्त्रको दृष्टिले विश्वकै सबभन्दा ठूलो एसियाका लागि त दक्षिण कोरियाले घरमै गर्दा सेमिफाइनल पुग्नु नै अहिलेसम्मको सबभन्दा ठूलो सफलता हो । पहिलो पटक विश्वकपमा यसपाली एसियाका ६ टोलीले सहभागिता जनाइरहेका छन् । सहभागी सबै ३२ देशले कम्तिमा एक खेल पनि खेलिसकेका छन् । यस्तोमा एसियाली टोलीको प्रदर्शनबाट विगतभन्दा माथिल्लो स्तरको नतिजा अपेक्षा व्यवहारिक होला त ?

फुटबल विश्लेशक सञ्जिव मिश्र कठिन देख्छन् । ‘त्योबेला धेरै संयोगहरु मिलेर दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको हो । तर अहिले भन्न सकिन्न ।’

तर समग्रमा विगतको तुलनामा एसियाली टोलीहरुको स्तरमा भने वृद्धि भएको उनको बुझाई छ । मिश्रको बुझाई जस्तै कम्तिमा एक खेल खेलिसक्दा एसियाली राष्ट्रहरुले आफू पनि कमजोर नरहेको सन्देश दिइसकेका छन् ।

सहभागी ६ टिममध्ये आयोजक कतारको प्रदर्शन सबभन्दा कमजोर रहेको छ । पहिलो खेलमा इक्वेडरसँग २-० को नतिजामा पराजित कतार दोस्रो खेलमा शुक्रबार अफ्रिकी प्रतिद्धन्द्धी सेनेगलसँग ३-१ को नतिजामा निराश भयो । यसैगरी एसियाली प्रतिनिधिमा अस्ट्रेलियाको नतिजा पनि चित्त बुझ्दो छैन । अस्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससँग ४-१ ले निरिह भएको थियो ।

त्यसवाहेक अन्य एसियाली टिमको सुरुआत भने उत्साहजनक छ । साउदी अरेबियाले विश्वकपको मुख्य दाबेदार मानिएको लियोनेल मेसीको अर्जेन्टिनालाई २-१ को नतिजामा निराश पार्दा जापानले जर्मनीलाई त्यही नतिजामा हरायो । दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेल्यो । पहिलो खेलमा इङ्ल्यान्डसँग ६-२ को नतिजामा पराजित इरानले दोस्रो खेलमार्फत प्रतियोगितामा पुनरागमन जनाउने क्रममा अर्को बेलायती टोली वेल्सलाई २-० ले निराश पार्यो ।

समग्रमा अहिलेसम्मको प्रदर्शनका आधारमा एसियाली फुटबल उत्साहित हुनुपर्ने मिश्र बताउँछन् । आयोजक भएकै कारण मात्र राष्ट्रको रुपमा पहिलो पटक विश्वकप खेल्न पाएको कारण कतारले पहिलो खेलमा संगठित भएर खेल्न नसकेको उनको विश्लेषण छ । त्यसमाथि उद्घाटन खेलमै इक्वेडरजस्तो अनुभवी र राम्रो टोली परेकाले कतारको नतिजा निराशाजनक रहेको उनी बताउँछन् ।

‘कतारले यसअघि कहिल्यै पनि यती ठूलो प्रतियोगिता खेलेको थिएन । त्यही भएर पहिलो खेलमा सुरुमा उनीहरुसंगठित भएर खेल्न सकेनन् । कतारको प्रदर्शन हेर्दा एसियाली राष्ट्र कमजोर हुने त होइन भन्ने संका पैदा भएको थियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि कतार २-० ले पराजित हुन पुग्यो,’ मिश्र भन्छन्, ‘दोस्रो खेलमा निक्कै सुधारिएको प्रदर्शन गरे पनि रक्षकको एउटा गम्भीर गल्तीका कारण सुरुमै गोल खानुपर्यो । त्यस्तो अवस्थाबाट पुनरागमन गर्ने अनुभव उनीहरुसँग थिएन ।’

यसअघि पनि विश्वकपको अनुभव बटुलिसकेको इरानको सुरुआतबाट भने मिश्र निराश छन् । तर अनुभवी टोली भएकाले उसले दोस्रो खेलबाटै प्रतियोगितामा सनसनीपूर्ण पुनरागमन जनायो ।

‘इरानले फुटबल खेल्नै बिर्सिएको जस्तो भएको थियो । विदेशी लिग खेल्ने खेलाडीहरु थुप्रै भए पनि टोलीले कुनै पनि पोजिसनमा राम्रो प्रदर्शन गर्न सकेन । टोलीमा सन्तुलन नभएको जस्तो देखिन्थ्यो । इरानबाट यस्तो खराब प्रदर्शनको अपेक्षा थिएन,’ मिश्र उत्साहित भए, ‘तर विश्वकपको अनुभव उनीहरुका लागि नयाँ होइन । फेरि परिपक्व खेलाडीहरुको टिम भएकाले उनीहरुले वेल्सलाई हराएर राम्रो पुनरागमन गरेका छन् ।’

साउदी अरेबिया यो विश्वकपको सबभन्दा ठूलो सनसनी हो । विश्वकपको इतिहासमा जर्मनीसँग आठ गोलसम्म खाएको विगत बोकेको साउदीले अर्जेन्टिनामाथि हासिल गरेको जित धेरैका लागि अनुमान विपरित थियो । सायद साउदीकै खेलाडीका लागि पनि ।

साउदीको त्यो जितलाई मिश्र विश्वकप इतिहासकै सबभन्दा ठूलो आश्चर्यजनक नतिजामध्ये एक मान्छन् । ‘साउदीले दोस्रो हाफको सुरुआती १० मिनेट उत्कृष्ट खेल खेल्यो र त्यही प्रदर्शनको आधारमा अप्रत्यासिज जित पनि निकल्यो । यो संयोगबस भएको भन्ने तर्कमा म सहमत छैन । साउदीले योजनाका साथ खेलको थियो । दुवै गोल उत्कृष्ट थिए । संयोगको भरमा लियोनेल मेसी र अर्जेन्टिनालाई हराउन सम्भव हुन्न,’ साउदीको त्यो जितले एसियाली फुटबललाई हेर्ने नजर परिवर्तन गराएको पनि मिश्रको दाबी छ ।

अस्ट्रेलियाले साविक विजेता फ्रान्सविरुद्ध सुरुआती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा ४-१ को पराजय बेहोर्न पुग्यो । फ्रान्सले २-१ को अग्रता लिएको अवस्थामा अस्ट्रेलियाले गरेको प्रहार पोलमा लागेर फर्किनुले नै खेललाई नयाँ मोड दिएको थियो ।

यदी त्यो गोल भएको भए खेल २-२ को अवस्थामा पुग्ने थियो र अस्ट्रेलियाले पनि फ्रान्सलाई गाह्रो पार्न सक्थ्यो । हार बेहोरे पनि उसको प्रदर्शन भने नराम्रो थिएन । एसियाबाट विश्वकपका लागि धेरै कोटा हुने भएकाले ओसियाना छोडेर एएफसीको सदस्यता लिएको अस्ट्रेलिया विश्व फुटबलमै आशा गरिएको टिम हो । टोलीबाट आगामी खेलहरुमा त्यही छविअनुसारको प्रदर्शन हुने आशा गर्न सकिन्छ ।

जापानको जुझारु प्रदर्शनले जर्मनी जस्तो बलियो टोलीविरुद्ध एक गोलले पछि परेको स्थितीलाई उल्टाउँदै जित निकाल्यो । जापानको यो जितले साना देशले पनि मौका पाएको खण्डमा उत्कृष्ट प्रर्दशन गर्न सक्छन् भन्ने सन्देश दिएको छ ।

पहिलो पटक १९५४ को विश्वकपमा सहभागिता जनाएको दक्षिण कोरियाले १९८७ यता भने प्रत्येक संस्करणमा खेल्दै आएको छ । सन् २००२ मा सेमिफाइनलसम्मको यात्रा गरेको टोलीले चार वर्षअघि रुसमा भएको विश्वकपमा जर्मनीलाई हराउँदै सनसनी मच्चाएको थियो ।

एसियाको अनुभवी राष्ट्र दक्षिण कोरियाले दुई पटकको विजेता उरुग्वेविरुद्ध राम्रो प्रदर्शन गर्यो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

यो विश्कपमा एसियाली राष्ट्रले राम्रो प्रदर्शन गर्नु आवश्यक रहेको मिश्र बताउछन् । यसपाली एसियाली टिमले राम्रो गर्न सके अर्को विश्वकपमा सहभागी टिमको संख्या ३२ बाट बढाएर ४८ पुर्याउँदा एसियाको कोटा पनि बढेर कम्तिमा आठ पुग्ने उनको अपेक्षा छ ।

‘एसियाली राष्ट्रको संख्या बढाउँदा विश्वकपको स्तर घट्ने हो की भन्ने भ्रमलाई चिर्नका लागि पनि यसपटक प्रदर्शन अझै उत्कृष्ट हुनु आवश्यक छ,’ उनी भन्छन् ।