काठमाडौं । सचिन तेन्दुलकरबारे लेख्न के नै बाँकी रहयो र ? उनीबारे धेरै लेखियो । असाध्यै लेखियो । तर एकथोक उनका बारे भर्खरै लेखिएको छ । जुन नयाँ छ । विशेष छ । यसपल्ट सचिनलाई एक बुवाको रूपमा प्रस्तुत गरिएको छ ।
अझ ठ्याक्कैभन्दा अर्जुनका पिता सचिन तेन्दुलकर । सचिनले खेलाडीका रूपमा एकसेएक प्रतिद्वन्द्वी टिमको सामना गरे । अझभन्दा बलरको चुनौती देखे । यी प्रत्येक अवसरमा उनी आत्तिएनन् ।
तर, एउटा बुवाका रूपमा छोरा अर्जुनले पहिलोपल्ट इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेल्दा उनी पक्कै आत्तिएको हुनुपर्छ । अझ ‘नर्भस’ भए नै भनौं ।
बुवाका रूपमा आफ्ना सन्तानको प्रत्येक नयाँ पाइलाले उसलाई यस्तै आत्तिन बाध्य पार्छ । भावुक उत्तिकै बनाउँछ । पहिलोपल्ट स्कुल गएको दिन । पहिलोपल्ट घर छाडेर बाहिर हिँडेको दिन । कुनै ठूलो परीक्षा सामना गरेको पहिलो दिन अनि त्यसको नतिजा आएको दिन ।
अझ पहिलोपल्ट आइपिएलको कुनै खेल खेलेको दिन । को मात्र आत्तिदैनन् र ? सचिन त्यस्तै बुवा रहे । खुबै भावुक भएर एउटा ट्विट पनि गरे । त्यसमा उनले आफ्ना छोरालाई क्रिकेट खेलप्रति सम्मान गर्न भनेका छन् । एउटा बुवाका रूपमा अर्जुनप्रति आफ्नो सम्मान र गर्व दुवै रहेको बताएका छन् ।
कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अर्जुनले ‘डेब्यु’ गरेका थिए मुम्बई इन्डियन्सबाट । कुनै समय बुवा सचिनले पनि त्यही टिमबाट खेलेका थिए । अर्जुनको यो पहिलो खेल पूरा तेन्दुलकर परिवारकै लागि निकै भावनात्मक अवसर रह्यो । त्यस दिनको खेल हेर्न दिदी सारा तेन्दुलकर पनि मैदानमै थिइन् । अर्जुनले बलिङका लागि दौड लगाउँदा साराको मुखमा देखिएको भाव अति विशेष थियो ।
मुम्बईले अर्जुनलाई किनेको तीन सिजन नै अगाडि हो । तर, सुरुआती दुई सिजन उनी बेञ्चमै सीमित रहे । बल्लतल्ल आएर उनले तेस्रो सिजन खेल्न पाए । अर्जुनको खेलजीवन त्यस्तै छ, जस्तो जोकोही आम खेलाडीको रहने गर्छ ।
यहाँनिर तारिफ गर्नुपर्ने सचिनकै हो । एउटा कुरा नि सचिनले चाहेको भए अर्जुनलाई धेरै अगाडि नै मुम्बईबाट खेलाउन सक्थे । अथवा आमबुवाले जस्तो सचिनले पनि अर्जुनलाई लिएर कहींकतै भनसुन गर्न सक्थे कि ? तर उनले गरेनन् । सचिन भलादमी थिए । छन् नै ।
भलै, उनको परिचय क्रिकेटका देवतासम्मको छ । तर, सचिन खेल्दाको जमानादेखि शान्त र सौम्य थिए । अहिले पनि छन् । उनले अर्जुनलाई स्वभाविक जीवन यात्राका लागि प्रेरित गरिरहेका छन् ।
अर्जुनको अहिलेसम्मको खेल के कस्तो रह्यो त ? यसबारे विश्लेषणलाई हामीसँग पर्याप्त समय बाँकी छ । अर्जुनले बुवा सचिनको खेलजीवनको एउटा सानो अंशजति सफलता हात पार्न नसक्ने डर पनि छ । तर, यसले के फरक पार्छ र ?
सचिनकै शब्दमा आफ्ना छोरा एउटा असल र भलादमी मान्छे भए पुग्छ । फेरि छोरा अर्जुन बुवा जत्तिकै सफल हुनुपर्छ भन्ने पनि के छ र ? अथवा यो पनि सम्भावना छ, अर्जुन आफ्ना बुवाजत्तिकै सफल हुनसक्ने छन् ।
एउटा तथ्य निश्चित छ, आफ्नो बुवाकै कारण उनी लगातार सबैको नजरमा रहने छन् । यो हाम्रो समाजले उनलाई बुवासँग समय समयमा दाँजिरहने छ । सचिन जस्ता महान् खेलाडीको छोरा भएपछि अर्जुनले यत्तिको त सहनै पर्छ होला । मूल कुरा के हो भने त्यस्तो दिन आइपुगेको छ, जतिबेला सचिनको एउटा अर्को परिचय क्रिकेट खेलाडी अर्जुनको बुवाको रूपमा भएको छ । अनि अर्को कुरा, यसमा सचिनलाई खुसी र गर्व दुवै छ ।