टाईगर कप

टाईगर कपः एपिएफको अपराजित यात्रा कायमै

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा बुधबार सम्पन्न पुरुषतर्फको खेलमा एपिएफले  पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा  पराजित गरेको हो ।  

एपिएपलले खेल २५-२३, २५-२३ र २५-२३ आफ्नो पक्षमा पारेको थियो ।


यस जितसँगै एपिएफले चार खेलबाट १२ अंक जोड्दै शीर्ष रहने पक्का गरेको छ । पराजय ब्यहोरेसँगै तीन खेलबाट एक अंक जोडेको सेन्ट जोसेफको भने अन्तिम चारमा रहने सम्भावना झिनो बनेको छ ।

पुरुषतर्फकै खेलमा घरेलु टोली गण्डकी प्रदेशले  विभागीय टोली नेपाल पुलिस क्लबमाथि २३-२५,  २५-२३, २३-२५,२५-२२ र १५-१३ को रोमाञ्चक जित निकाल्यो ।


यसैगरी महिलातर्फ साबिकको विजेता एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५-१६, २२-२५, २५-१६ र २५-१५ ले पारजित गरेको थियो ।

यस जितसँगै एपिएफ तीन खेलबाट नौ अंक जोडेर शीर्ष स्थानमा रह्यो । पहिलो पराजय ब्यहोरेको आर्मी समान खेलबाट ६ अंक जोडेर दोस्रो तथा  न्यु डायमण्ड युथ स्पोर्टस् क्लब तीन अंकका साथ तेस्रो स्थानमा रहँदा घरेलु टोली गण्डकी प्रदेश अंकविहीन बन्यो ।

बुधबारै डायमण्डले गण्डकीलाई १९-२५, २५-१५, २५-१४ र २५- ११ को सेटमा हराएर पहिलो जित दर्ता गरेको थियो ।

यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शीर्ष स्थानको एपिएफले पुछारमा रहेको गण्डकी तथा दोस्रो स्थानको आर्मीले र तेस्रो स्थानको न्यु डायमण्डको सामना गर्नेछन् । दुवै सेमिफाइन बिहीबार हुनेछ ।