टाइगर कप भलिबल

टाइगर कपः आर्मीको पहिलो जित

काठमाडौं । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी भलिबल क्लबले तेस्रो टाइगर कप पुरुष भलिबलमा पहिलो जित निकालेको छ ।

सोमबार पोखरा रंगशाला प्राङ्गणमा भएको कोर्टमा आर्मीले पाउना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई  ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो ।

आर्मीले सेन्ट जोसेफलाई निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा २५–२० ले पराजित गरेको थियो । त्यसपछिका दुई सेटमा समेत निकै दवाव सृजना गर्दै आर्मीले २५–१७ र २५–१० को जित निकाल्यो ।

आइतबार भएको पहिलो खेलमा आर्मी अर्काे विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

बिहान भएको महिलातर्फको खेलमा गण्डकी प्रदेश विभागीय टोली एपिएफसँग ३–० को सोझो सेटमा पराजित भएको छ । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानमा रहेको गण्डकीले स्वभाविक खेल खेल्न सकेन । एपिएफ खेलमा २५–११, २५–१९, २५–१६ ले जित निकाल्न सफल भयो । एपिएफकी ओपन स्पाइकर सरस्वती चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् ।

प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । दुबैबिधाका विजेताले समान चार लाख प्राप्त गर्नेछन् ।