टाईगर कप

साबिकको विजेता आर्मीलाई हराउँदै एपिएफको विजयी सुरुआत

त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्विरः सुदर्शन रञ्जित, पोखरा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो टाईगर कप  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आइतबार पोखरा रंगशालाको प्राङ्गणमा आइतबार सम्पन्न पुरुषतर्फको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को  सेटमा पराजित गरेको हो ।

साबिकको विजेता आर्मीविरुद्ध पहिलो सेट गुमाए पनि एपिएफले उत्कृष्ट पुनरागमन  जित निकालेको थियो । पहिलो सेट २०-२५ ले गुमाएको एपिएफले त्यसपछिका तीन सेट २५-२२,२६-२४,२५-१९ ले आफ्नो पक्षमा पारेको थियो ।

पुरुषतर्फ नै  आइतबार हुने दोस्रो तथा अन्तिम खेलमा गण्डकी प्रदेशले विभागीय टोल नेपाल पुलिस क्लबको सामाना गर्नेछ ।

यसैगरी महिलातर्फ आइतबार नै सम्पन पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले  न्यु डायमन्ड स्पोर्टस् क्लबलाई २७-२५, २५-१७ र २५-२३ ले पराजित गर्दै विजयी सुरुआत गरेको थियो ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ ।

यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश र श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब रहेका छन् ।

महिला तथा पुरुष दुवैतर्फ उपाधी विजेतलाई समान पाँच लाख उपविजेतालाई समान नगद दुई लाख ५० हजार, तेश्रो हुनेलाई एक लाख २५  हजार तथा चौथो स्थान हासिल गर्नेलाई ६५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण प्रदान गरिने छ ।

त्यस्तै महिला तथा पुरुषतर्फ सर्वोउत्कृष्ट  जनही समान २५ तथा हरेक विधाक उत्कृष्ट खेलाडी र  प्रशिक्षकलाई समान १० हजार र ट्रफी प्रदान गरिने छ ।