एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

आर्मीमाथि रोमाञ्चक जित निकाल्दै एपिएफ तेस्रो

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले  सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको  महिलातर्फ तेस्रो स्थान हासिल  गरेको छ ।

एपिएफले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी  क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो ।

सूरुआती दुई खेल २५–१६ र २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले त्यसपछिका सेट २१–२५ र २१–२५ ले गुमाए पछि खेल पाँचौँ तथा अन्तिम सेटसम्म लम्बिएको थियो ।

पाँचौँ तथा निर्णायक सेट १५–७ ले आफ्नो पक्षमा पार्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो ।

तेस्रो स्थान हासिल गरेसँगै एपिएफले एक लाख रुपौयाँ प्राप्त गरेको छ ।

सेमिफाइनलमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १५– २५, २५–१७, २५–१५, २१–२५ र  ७–१५ तथा आर्मी साबिकको विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबसँग २५–१७,१९–२५,१६–२५ र १८– २५ ले पराजित भएका थिए ।

यसैगरी आइतबार नै सम्पन्न खेलमा नेपाल पुलिस क्ललाई १५–२५,२५–२०,२५–२३ र २५–१८ ले पराजित गर्दै एपिएफले पुरुषतर्फ पनि तेस्रो स्थान हासिल गरेको थियो  ।