भलिबल स्टार रियाको चार गते शल्यक्रिया हुने

काठमाडौं, (खेलाडी)- होङ्वान्जी न्यु डाइमण्ड क्लबकी अलराउन्डर रिया कुँवरको घुँडाको शल्यक्रिया हुने भएको छ । 

पाँच हप्ता अगाडि अभ्यास दौरान लडेर चोट लागे पनि केही दिनको आरामपछि उनी कोर्टमा सक्रिय थिइन । तर केही दिनअघि खेलको क्रममा स्पाइक गरेर ल्यान्डिङ गर्दा पुनः चोट बल्झिएपछि उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको क्लबका प्रशिक्षक कुमार राईले बताए । 

‘प्रशिक्षण गर्ने क्रममा ४-५ हप्ता अगाडि स्पाइक गर्दा उसले खुट्टा झट्कारियो भनेकी थिइन । तर, केही दिनमै ठिक भएर हिड्न, खेल्न सक्ने भयो’ राईले भने, ‘तर केही दिनअघि फेरी अभ्यासको क्रममा नै त्यहीं ठाउँमा चिप्लेर उनी लडिन । त्यसपछि घुँडा सुन्नियो । एमआरआई गरेर हेर्दा चोट गम्भीर देखियो । चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने भनेका छन् ।’

प्रशिक्षक राईका अनुसार असोज चार गते उनको वीर अस्पताल ट्रमा सेन्टरमा शल्यक्रिया हुनेछ । 

असोज १० गतेबाट हुने एनभिए च्याम्पियनसिपमा रियाको अनुपस्थितिले टोलीमा समस्या आउने बताउँदै प्रशिक्षक परिस्थितिको सामना गर्न तयार रहेको बताए । 

‘परिस्थितिलाई सामना गर्दै जानेछौं । रिया नहुने भएपछि उपलब्ध उ भन्दा जुनियर खेलाडीलाई प्रयोग गरेर अगाडि बढ्नेछौं । राम्रो खेलाडी घाइते भएपछि कमी खड्किन्छ । भर्खर खेल्दै गरेका दुई खेलाडी छन् तिनीहरुमध्ये एकले मौका पाउनेछ,’ राईले खेलाडीसँग भने । 

यस्तै चोटबाट गुज्रिएकी राष्ट्रिय महिला भलिबलकी स्टार प्रतिभा मालीको अवस्थामा सुधार भइरहेको प्रशिक्षक राईले बताए । प्रतिभा आसन्न एनभिए च्याम्पियनसिपमा अझै उच्च फर्मका साथ कोर्ट उत्रँने तयारीमा रहेको बताउँदै प्रशिक्षक राईले त्यहीअनुसार अभ्यास भइरहेको जानकारी गराए । 

‘बन्द प्रशिक्षणमा बसेको बेला धेरै राम्रो भएकी थिइन् । तर परीक्षाले गर्दा घर बस्नुपर्दा समस्या बढेजस्तो भएको थियो । फेरी प्रशिक्षण गर्दा खुल्दै गएकी छिन् । चुपचाप बस्दा अलि गाह्रो हुने रहेछ,’ राईले थपे ।

रियालाई खेलाडी उत्पादन गर्ने कारखानाको नाम पाएको न्यु डाइमन्डको उदीयमान स्टारको रुपमा लिइन्छ ।

वर्षले १६ मात्र लागेकी रिया कक्षा दशमा न्यु डाइमन्ड स्कुलमा अध्ययनरत छिन् । सुरुमा चर्को दुखाई र घुँडा सुन्निएको भए पनि अहिले कम हुँदै गएको रिया बताउँछिन् । 

‘पहिला चाँही घुँडा दख्ने र सुन्निने दुवै भएको थियो । तर अहिले कम भएको छ । हिड्न, यता उति गर्न सक्छु । ४ गते शल्यक्रिया गर्ने भनेको छ,’ उनले खेलाडीलाई भनिन् ।

यस्तै, उनकी आमा विना कुँवरले चिकित्सकको सल्लाहअनुसार घुँडाको तत्काल शल्यक्रिया गर्न लागेको बताइन । 

‘पहिलाको भन्दा अहिले धेरै कम भएको छ । उसले राम्रोसँग हिडहुल गर्न त सक्छ । तर ओरालो झर्ने बेलामा गाह्रो हुन्छ । डाक्टरले अहिले नै शल्यक्रिया नगरे घुँडा खिइन्छ भन्नुभयो त्यसैले गर्न लागेका छौं,’ उनले भनिन् ।