भलिबल

नवौ राष्ट्रिय खेलकुद: महिला भलिबलमा एपिएफको जित

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा एपिएफले आर्मीलाई ३–१ सेटको नतिजामा पराजित गरेको हो । लिगकम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए ।  

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको एपिएफले आर्मीलाई पहिलो सेट २५–२०, तेस्रो २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो । दोस्रो सेट १९–२५ मा आर्मीले जितेको थियो ।

तीन टिम रहेको समूह ‘ए’बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटर फाइनल प्रवेश गरेको छ । क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन् । यसैगरी समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लब ले समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ ।  

दोस्रो खेल आइतबार दिउँसो २ बजे बाग्मती र मधेश प्रदेशबीच हुने प्रतिस्पर्धा हुनेछ । आज समूह चरणका सबै खेल सकिने छन् । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ ।