अब एनएसएल बास्केटबल र क्रिकेटमा पनि

काठमाडौं, (खेलाडी)- नेपाली भलिबलको इतिहासमा पहिलो पटक यही मंसिर एक देखि पुस दुई गतेसम्म हुन लागेको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल)मा महिला र पुरुष दुवै तर्फ सात/सात टोलीको सहभागिता रहने भएको छ ।

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीकी अध्यक्ष आश्रेयता कार्की चौधरीले खेलाडीसँगको कुराकानीमा महिला र पुरुष दुवैतर्फ समान सात/सात टोली सहभागि हुने जानकारी गराइन । तर टिम मालिकको भने टुंगो लागिनसकेको उनले जानकारी गराइन । 

गएको वैशाखमा नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतियोगिता एनएसएल फुटबल गरेको कम्पनीले अर्को वर्ष क्रिकेट पनि सुरु गर्ने उनले बताइन । बास्केटबलको पूर्व खेलाडीसमेत रहेकी कम्पनीकी अध्यक्ष चौधरीले क्रिकेपछि भने आफ्नै खेल बास्केटबलमा पनि फ्रेन्चाइज लिग गर्ने योजना रहेको सुनाइन । 

यसपाली पहिलो पटक फुटबलमा प्रतियोगिता गर्दा टिम थप्नका लागि आफूलाई धेरैतिरबाट अनुरोध आएको स्मरण गर्दै उनले अर्को वर्षबाट एनएसएल फुटबलमा पनि टिम संख्या थपिने बताइन । एनएसएलमा यसपाली विभिन्न सहरको नाममा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए । 

‘थुप्रै व्यावसायिक घरानाबाट टिम थप्ने अनुरोध आएको छ । धेरैले एनएसएल फुटबलमा टिम लिन चाहनुभएको छ । हामी अर्को वर्षबाट कम्तिमा दुई टिम थप्नेछौं,’ खेलाडीसँगको विशेष अन्तरवार्तामा उनले भनिन, ‘युवा विकासका लागि खेलकुद भन्ने उद्देश्यका साथ हामी अघि बढेका हौं । आगामी दिनहरुमा अझै थप खेल र टिमका साथ प्रतियोगिताहरुलाई भव्य बनाइदै लगिनेछ ।’

(आश्रेयता कार्की चौधरीसँग खेलाडीले गरेको अन्तरवार्ताको विस्तृत विवरण भोली खेलाडी शनिबारको दिनमा प्रकाशित हुनेछ )