म्याग्दी भलिबल

सुजनमाथि लागेको प्रतिबन्धबारे आधिकारिक पत्रको माग

काठमाडौं । म्याग्दी जिल्ला भलिबल संघले कप्तान सुजन चोखाललाई प्रतिबन्ध लगाउने आधिकारिक पत्रको माग गरेको छ ।

नेपाल भलिबल संघको बिहीबार बसेको पूर्ण बैठकले एनभिए लिगमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै चोखाललाई एक वर्ष कुनै पनि प्रतियोगिता खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तर, हालसम्म पनि चोखाललाई कारवाही गरेको आधिकारिक जानकारी पत्र नआएकोले संघसमक्ष आधिकारिक कुराको जानकारी गराउन म्याग्दी जिल्ला भलिबल संघले विज्ञप्तिमार्फत माग गरेको हो ।

‘गण्डकी प्रदेशबाट सहभागिता जनाएका सुजन चोखालले प्रतियोगिताको क्रममा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै एक वर्षसम्म नेपाल भलिबल संघले मान्यता दिएको कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी अनुशासन समितिले कारवाही गर्न पेश गरेको प्रस्तावलाई संघले पारित गरेको समाचार मिडियामा आयो । जसबारे जानकारी लिदाँ संघले आधिकारिक निर्णय नगरेको र हालसम्म कारवाही गरेको कुनै पनि आधिकारिक जानकारी पत्र आएको छैन,’ म्याग्दी जिल्ला भलिबल संघले जारी गरेको विज्ञप्तिमा लेखेको छ ।

यसअघि पोखरामा बसेको बैठकबाट महासचिव जितेन्द्रबहादुर चन्दको संयोजत्वमा बनको अनुशासन कमिटिले संघलाई रेफ्रीले बाँधेको कालो पट्टीको बारेमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम लासिवालाई स्पष्टीकरण सोध्ने र भारतीय खेलाडी रोहितकुमार र विनितकुमारलाई एक सिजन प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाउने र हेल्प नेपालका प्रशिक्षकलाई पनि स्पष्टीकरण सोध्ने प्रतिवेदन पनि पारित भएको थियो ।