भिएनएल

भिएनएलः ब्राजिललाई जापानको चुनौती

अंकारा । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको क्वार्टरफाइनल खेलमा बुधबार जापान ब्राजिलविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछ ।  

गत सिजन ब्राजिल र जापानको भेट सेमिफाइनलमा भएको थियो । जसमा ब्राजिलले ३-१ को सेटमा जापानलाई हराएको थियो ।

बुधबारदेखि सुरु भएको क्वार्टरफाइनलको दोस्रो खेलमा साविक विजेता अमेरिका र सर्बिया प्रतिस्पर्धा गर्नेछन् ।

पहिलोपटक सेमिफाइनलमा पुगेको सर्बिया जित निकाल्न चाहन्छ । अमेरिका भने उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ ।

बिहीबार हुने क्वार्टरफाइनलको अन्तिम दिन इटाली र चीन तथा टर्की र थाइल्यान्ड्सको खेल हुनेछ ।

मे ३१ देखि सुरु भएको महिलातर्फको खेलमा प्रारम्भिक चरणमा ९६ खेलहरु भएका थिए ।

क्वार्टरफाइनल खेलको विजेताले शनिबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । आइतरबार महिलातर्फको फाइनल खेल हुनेछ ।