भिएनएल

भिएनएल: अमेरिकासँग सोझो सेटमा हार्यो बुल्गेरिया

मनिला । साबिक विजेता अमेरिकाले एफआइभिबी भलिबल वुमन्स नेसन्स लिग (भिएनएल) को प्रारम्भिक चरणमा बुल्गेरियालाई सोझो सेटमा पराजित गरेको छ ।

भिएनएलको पुल–४ अन्तर्गत फिलिपिन्समा बुधबार सम्पन्न खेलमा गत वर्षको च्याम्पियन अमेरिकाले बुल्गेरियालाई २५–२०, २५–२२, २५–२० को सोझो सेटमा हरायो । यसअघि पछिल्लो खेलमा विश्व नम्बर एक अमेरिकाले दोस्रो वरीयताको ब्राजिललाई २१–२५, २७–२५, २५–२०, २५–२० को सेटमा हराएको थियो ।

यस्तै, बुधबारै भएको ‘पुल–३’ को पहिलो खेलमा जर्मनीले नेदरल्यान्ड्समाथि २५–२०, २५–१९, १२–२५, २५–२२ को सेटमा जित निकाल्यो । ‘पुल ३’ को दोस्रो खेलमा इटालीले सर्बियालाई २१–२५, २५–१४, २५–१५, २५–२० को सेटमा हरायो ।

बुधबार नै पुल–४ को अर्को खेलमा चीन र बेल्जियम खेलिरहेका छन् । मे ३१ देखि सुरु भएको नेसन्स लिगमा १६ टिमको सहभागिता छ ।

प्रतियोगिताको सर्वाधिक सफल टिम अमेरिकाले गत वर्षसहित लगातार तीन पटक भिएनएलको उपाधि जितिसकेको छ ।

यो प्रतियोगितामा विश्व भलिबलको सर्वाेच्च निकाय एफआइभिबीबाट मान्यता प्राप्त र शीर्ष वरीयताका देशले सहभागी हुन पाउने प्रावधान छ । एभआइभिबीले जारी गर्ने वरीयताको शीर्ष १६ मा पर्ने टिमले प्रतियोगिता खेल्न पाउँछन् । शीर्ष १२ टिमले ‘कोर टिम’ र बाँकी चारले ‘च्यालेन्जर्स’को हैसियतमाम प्रतियोगितामा स्थान बनाउँछन् ।

तर, यसपटक रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि एफआइभीबीले रुसलाई प्रतियोगिताबाट निलम्बन गरेको छ । र, उसको ठाउँमा बुल्गेरियालाई मौका दिएको छ ।

जितसँगै चार खेलबाट १२ अंक जोडेको अमेरिका तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित बुल्गेरिया दुई अंकसहित १३औं स्थानमा छ । पाँच खेलमा १४ अंक जोडेको जापान लिग तालिकाको शीर्ष स्थानमा छ ।