नेपाली भलिबल

उषा र कामना माल्दिभ्स लिगमा

काठमाडौं । नेपाल पुलिस कलबका दुई महिला राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारी र कामना बिष्टले माल्दिभसको लिग खेल्ने भएका छन् ।

राष्ट्रिय टोलीकी पूर्व खेलाडी एवं नेपाल पुलिस क्लबकी प्रशिक्षक कोपिला उप्रेतीले खेलाडीलाई जानकारी गराएअनुसार माल्दिभ्सको लिग खेल्न उषा र कामना त्यसतर्फ लागेका छन् ।

माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ नाम दिइएको त्यहाँको राष्ट्रिय लिगमा १० टोली सहभागि हुन्छन् । जसमध्ये कामनाले माल्दिभ्स पुलिस सर्भिसबाट खेल्नेछिन भने उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्ने उप्रेतीले बताइन ।

उप्रेतीका अनुसार माल्दिभ्स लिग यही मे १९ बिहीबार देखि मे ३१ सम्म चल्नेछ ।

‘पहिले माल्दिभ्सले लिगका लागि श्रीलंकन खेलाडीहरुलाई लैजाने गर्थे । तर, अहिले नेपालको टिम राम्रो भएकाले नेपाली खेलाडी प्राथमिकतामा परेका हुन्,’ उप्रेतीले भनिन् ।

नेपाली भलिबलमा सरस्वती चौधरी र प्रतिभा मालीपछि उषा र कामनाको सम्भावना प्रचुर रहेको उप्रेतीको बुझाई छ । माल्दिभ्सका क्लबहरुले पनि नेपाली खेलाडीको क्षमता बुझेरै अनुबन्ध गरेको उनी बताउँछिन् ।

सन् २०१५ देखि २०१७ सम्म माल्दिभ्सको लिग खेलेकी उप्रेतीका अनुसार उषा र कामना दुवैले दुई सातासम्म चल्ने लिग खेलेवापत आठ सय अमेरिकी डलर पाउनेछन् । त्यसवाहेक प्रदर्शनका आधारमा थप बोनस पनि पाउन सक्ने बताइएको छ ।

‘यसपाली उषा र कामनाले राम्रो प्रदर्शन गर्न सके भने त्यसले विदेशी लिगमा अरु नेपाली खेलाडीको पनि बाटो खोल्नेछ,’ उप्रेतीले थपिन, ‘दुवैले उत्कृष्ट प्रदर्शन गर्नेमा म विश्वस्त छु ।’