एनभिए भलिबल च्याम्पियनसिप

एनभिए भलिबल: पुलिसमाथि आर्मीको रोमाञ्चक जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले शुक्रबार नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा पाँचौ जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा आर्मीले पुलिसमाथि १७–२५, २५–२०, ३०–२८, २५–२३ को सेटमा जित निकाल्यो ।  

तालिकाको शीर्ष स्थानमा रहेको आर्मीले सतप्रतिशत जितसहित पाँच खेलमा १५ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको पुलिसको नाैं अंक छ ।

शुक्रबारै हुने पुरुषतर्फको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र ढोरपाटन स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा समान खेल खेलेको एपिएफको पनि ६ अंक छ । यता, ढोरपाटनको मात्र एक अंक छ ।

यसअघि भएको पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हरायो ।

प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको हेल्प नेपालको १४ अंक छ । हेल्प नेपालले प्रतियोगिताको तेस्रो दिन गण्डकी प्रदेशसँग ३–२ को सेटमा जित निकाल्दै एक अंक बाँडेको थियो । जसका कारण हेल्प नेपाल आर्मीभन्दा एक अंकले पछि छ ।

प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ सात टिमको सहभागिता थियो । प्रतियोगितामा सहभागी टिममध्ये बढी अंक प्राप्त गर्ने टोलीले उपाधि जित्नेछ ।