एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग

आर्मीको लगातार तेस्रो जित

काठमाडौं । साबिक विजेता त्रिभुवन आर्मी क्लबले गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै मंगलबार एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा सतप्रतिशत जित यात्रालाई लगातार तेस्रो खेलसम्म निरन्तरता दिएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद( राखेप) को कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको दोस्रो खेलमा आर्मीले पुरुषतर्फ गल्कोटलाई २५-१२, २५-११, २५-२२ को सोझो सेटमा हरायो । प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटले लगातार तेस्रो हार व्यहोरेको छ ।

आर्मीले पहिलो खेलमा आइतबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई र दोस्रो खेलमा सोमबार गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । यता, गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

सतप्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ । यस्तै, हेल्प नेपाल, पुलिस, एपिएफ र गण्डकीले समान तीन अंक जोडेका छन् । गल्कोट र ढोरपाटन स्पोर्टस् क्लब अंकविहीन छन् ।

पुरुषतर्फ मंगलबारको दोस्रो खेलमा हेल्प नेपाल स्पोर्टस् र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै आजको अन्तिम खेलमा पुलिस र ढोरपाटनबीच खेल हुनेछ । खेल अपराह्न चार बजे हुनेछ ।