आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

हेल्प नेपाल विजयी, ढोरपाटनको दोस्रो हार

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै एनभिए राष्ट्रिय क्लब लिग च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न खेलमा ढोरपाटनले भने लगातार दोस्रो हार बेहोर्यो । तीन भारतीय राष्ट्रिय टिमका खेलाडीसहित कोर्टमा उत्रिएको साविक उपविजेता हेल्प नेपालले २५-२१, २७-२५, २५-२० को सोझो सेटमा जित निकाल्यो ।

हेल्प नेपालमा भारतीय राष्ट्रिय खेलाडी विनितकुमार, अमितकुमार र रोहितकुमार छन् । उनीहरूले यसअघिको पाँचौ संस्करणमा पनि हेल्प नेपालबाट नै खेलेका थिए ।

यस्तै, पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश र साविक विजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

गण्डकीले आइतबार पहिलो खेलमा ढोरपाटनलाई ३-१ को सेटमा हराएको थियो । यता आर्मीले पनि आफ्नो पहिलो खेलमा एपिएफविरुद्ध सोझो सेटमा जित निकालेको थियो ।

सोमबारको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।