नेपाली भलिबल

आरबिबी–एनभिए क्लब भलिबल लिगको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले वैशाख १९ गतेबाट सुरु हुने आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको बताएकी छिन् ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिता वैशाख २४ गतेसम्म हुनेछ ।

‘तयारी भइरहेको छ । लगभग काम सकिसकेका छन् । सानो–तिनो कामहरु मात्र बाँकी छन्,’ निरोजले खेलाडीसँग भनिन्, ‘हेल्प नेपालबाहेक सबै टिमले दर्ता गराइसकेको छ । उनीहरुले पनि आजै (सोमबार) दर्ता गराउँछन् । तयारी अन्तिम चरणमा पुगेको छ ।’

प्रतियोगितामा एक टिमले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । हेल्प नेपालको विदेशी खेलाडीको टुङ्गो नलागेको कारण टिम दर्तामा ढिलाई भएको उपाध्यक्ष मास्केले जानकारी दिइन् ।

यस्तै, आयोजक नेपाल भलिबल संघले सहभागी खेलाडीहरुको पाँच लाखको बिमा गर्ने छ ।

वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा महिलातर्फ तीन विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब र एभरेस्ट स्पोर्टस् क्लब गरी पाँच टिम सहभागी छन् ।

यस्तै, पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब गरी सात टिम छन् ।

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्ने भएका हुन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।