सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

राष्ट्रिय महिला बिच भलिबल: उपाधिका लागि पुलिस र लुम्बिनी भिड्ने

पाल्पा । गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पाल्पाको सदरमुकाम तानसेनस्थित रानीमहलमा शुक्रबार सप्पन्न सेमिफाइनलको अन्तिम खेलमा गण्डकीमाथि पुलिसले १९-२१, ९-२१ को जित निकाल्यो ।

प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको पुलिसले उपाधिका लागि शनिबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान १० बजे हुनेछ ।

गण्डकीले तेस्रो स्थानको लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । खेल बिहान ९ बजे हुनेछ ।

प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश एक सहभागी छन् । सहभागी ९ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा भएको बिच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।