प्रधानमन्त्री कप महिला भलिबल

प्रधानमन्त्री कप महिला भलिबल चैत दोस्रो सातादेखि सुरु

काठमाडौं । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता चैत दोस्रो साता हुने भएको छ ।

नेपालगञ्ज रंगशालाको कभर्डहलमा हुने आठौं संस्करणको प्रतियोगिता चैत १० देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कप प्रत्येक वर्षको फागुन अन्तिम साता हुने गर्दथ्यो । तर, कोभिड १९ महामारीका कारण यसपटक प्रतियोगिता चैतमा हुने तय भएको हो ।

प्रतियोगितामा यसअघि भारतीयसँगै बंगलादेशको टिमले समेत सहभागिता जनाइसकेकोले यस पटक पनि भारतीय टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । यद्यपि, प्रतियोगितामा कति टोली सहभागी हुन्छन् भन्ने आयोजकले सार्वजनिक गरेको छैन ।

तीन पटक प्रधानमन्त्री कपको उपाधि जितेको सशस्त्र प्रहरी बलको यसपटक पनि लक्ष्य च्याम्पियन नै बन्ने हुनेछ । पहिलो संस्करण नेपाल पुलिस क्लब, दोस्रो संस्करणे एपिएफ क्लब, तेस्रो र चौथो संस्करण रेलवे इन्डिया, पाँचौंमा एपिएफ, छैटौंमा पुलिस र गत वर्षको सातौं संस्करण एपिएफले जितेको थियो ।