दोस्रो टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिता

टाइगर कप: महिलातर्फ पुलिसको पहिलो जित

काठमाडौं । नेपाल पुलिस क्लबको महिला टोलीले बुधबार आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा हराएसँगै टाइगर कपमा पहिलो जित निकालेको छ ।  

पोखरामा जारी प्रतियोगितामा पहिलो खेलमा साविक विजेता पुलिसले आयोजकलाई २५-२०, २५-१७, २५-२२ को सेटमा पराजित गर्यो । यो जितसँगै प्रतियोगितामा खराब सुरुआत गरेको पुलिसले दुई खेलबाट तीन अंक बनाएको छ ।

पुलिस पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग २४-२६, १८-२५, २५-२१, २३-२५ को सेटमा पराजित भएको थियो ।

बुधबार नै भएको महिलातर्फको दोस्रो खेलमा एपिएफले न्यु डाइमन्डविरुद्ध ३-२ सेटको नाटकीय जित निकाल्यो । एपिएफले पहिलो सेट २१-२५ गुमाए पनि दोस्रो सेटमा २५-२१ को नतिजा निकाल्दै खेलमा पुनरागमन गरेको थियो ।

घरेलु प्रतियोगिताको चिरप्रतिद्वन्दी न्यु डाइमन्डले एपिएफलाई तेस्रो सेटमा २५-१० को फराकिलो अंकमा पराजित गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकेको एपिएफले चौंथो सेट २५-१२ र पाँचौं सेट १५-८ को नतिजा निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।

तीन खेल खेलेको एपिएफ पाँच अंक बनाएर तालिकाको दोस्रो स्थानमा छ । न्यु डाइमन्डको भने यो पहिलो हार हो । समान तीन खेलबाट सात अंकसहित न्यु डाइमन्ड शीर्ष स्थानमा छ ।

यस्तै, त्रिभुवन आर्मी क्लब र पुलिस क्लबले समान दुई खेलबाट समान तीन अंक बनाएको छ । लगातार दुई खेलमा हार बेहोरेको आयोजक टोली भने अंकविहीन छ ।

बुधबारै हुने पुरूषतर्फको पहिलो खेलमा भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित हेल्प नेपाल र आर्मी आमनेसामने हुँदैछन् । बुधबार हुने अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ र पुलिस भिड्दैछन् ।