एभिसी सेन्ट्रल जोन

अन्तत: नेपाललाई फेरि जित दिलायौं: प्रशिक्षक जगदीश

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले फाइनलमा दबाबका बाबजुद राष्ट्रलाई उपाधि दिलाउन सकेकोमा धेरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।

‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोश्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा अत्यन्तै खुशी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्यो,’ प्रशिक्षक भट्टले भने,  ‘तर अन्तत: नेपाललाई जित दिलाउन सफल भयौ । यहाँ सम्म ल्याइपुर्याउन साथ सहयोग गर्ने सबैमा धन्यबाद ।’

प्रतियोगिताको समूह चरणको खेलमा उज्वेकिस्तानविरुद्व सोझो सेटमा जित निकालेको नेपाललाई फाइनलमा उज्वेकिस्तानले निकै चुनौती प्रस्तुत गरेको थियो ।

‘खेलाडीले जित्नैपर्ने दबाबमा खेले । रिसिभ गर्न नसक्दा र सर्भिसमा समस्या हुँदा उज्वेकिस्तानसँग पाँच सेट खेल्नु परेको हो,’ प्रशिक्षक भट्टले खेलाडीसँग भने ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले दोस्रो पटक पनि उपाधि आफ्नो बनाएको हो ।

महिला टोलीले दुई वर्षअघि यहीं प्रतियोगिताको पहिलो संस्करणमा माल्दिभ्सलाई हराउँदै सबैभन्दा ठूलो सफलता हात पारेको थियो ।