नेपाली भलिबल टोली

पुनरागमनले खेलाडी उत्साही

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समय प्रभावित बनेको नेपाली भलिबल टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ ।  

बंगलादेशको ढाकामा आगामी मंगलबार देखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै नेपाली राष्ट्रिय टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछ । यसै प्रतियोगितासँगै महिला तथा पुरुष दुवैतर्फ केही खेलाडी पनि अन्तर्राष्ट्रिय स्तरमा पुनरागमन गर्नेछन् ।

अर्को सातादेखि सुरु हुने प्रतियोगिताका लागि नेपाल भलिबल संघले महिला–पुरुष दुवैतर्फ समान १२ सदस्यीय टोली घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा यसअघि नै नेपालको प्रतिनिधित्व गरिसके पनि पछिल्लो समय टोलीमा नअटाएका समान दुर्ई खेलाडीले यसपाली फेरि अवसर पाएका छन् ।

महिलातर्फ सेटर कृपा अधिकारी र क्विक स्पाइकर मनीषा चौधरी तथा पुरुषतर्फ ओपन स्पाइकर मानबहादुर श्रेष्ठ र मिडिल ब्लकर भैरव बमले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

पछिल्लो राष्ट्रिय टोलीमा नयाँ खेलाडीको आगमन भइरहँदा पुराना खेलाडीले टोलीमा फर्कने आश मारिसकेका थिए । यद्यपि, उनीहरुले जारी राखेको लगनशीलता र मिहिनेतले प्रतिफल केहीले दुई वर्ष त केहीले तीन वर्षपछि भए पनि पाएका छन् ।


कृपा अधिकारी (तीन वर्षपछि पुनरागमन)

तीन वर्षपछि राष्ट्रिय महिला टोलीमा फर्किएकी त्रिभुवन आर्मी क्लबकी कप्तान कृपाले राष्ट्रिय टोली फेरि पुनरागमन गर्छु भन्ने सोचेकी थिइनन् ।

‘टोलीमा फेरि पुनरागमन गर्न पाउँदा खुशी छु । भलिबल खेल्छु भनेर सोचेको थिइनँ । खाली समयमा मिहिनेत गरेर खेलेकी थिएँ, छनोट भएँ,’ उनले हाँस्दै भनिन् ।

विभागीय टोली आर्मीकी कप्तानसमेत रहेकी कृपा कुनै समय उत्कृष्ट सेटरमा थिइन । २०७१ देखि राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी कृपाले न्यु डाइमन्ड एकेडेमीबाट खेल्थिन् । तर एकेडेमीमा भविष्य नदेखेपछि उनले आर्मीको ‘सेकेन्ड ल्याफ्टििनेन्ट’ मा नाम निकाल्दै विभागसँग जोडिइन् ।

सेकेन्ड ल्याफ्टिनेन्टको प्रशिक्षणका कारण कृपाले भलिबलमा अल्प विराम लगाउनु पर्यो ।

‘खेललाई नै पहिलो प्राथमिकतामा राख्न सकिने अवस्था छैन, करियर पनि हेर्नुपर्छ,’ नेपाली खेल जगतको तीतो यथार्थ पोख्दै कृपा भन्छिन्, ‘आफ्नो ड्युटी प¥यो भने  त जानै पर्यो, जान्छु । तर भलिबललाई चटक्कै छाड्न सक्दिन । सम्भव भएसम्म पनि भलिबलाई निरन्तरता दिन्छु ।’

मनिषा चौधरी (दुई वर्षपछि पुनरागमन)

नेपाल पुलिस क्लबकी क्विक स्पाइकर मनिषा चौधरीले दुई वर्षपछि टोलीमा पुनरागमन गरेकी छिन् ।

विभागीय टोली नेपाल पुलिस क्लबबाट भलिबलको व्यवसायिक यात्रामा रहेकी मनीसा सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीमा परिन् ।

तर नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भने टोलीमा परिनन् ।

राष्ट्रिय भलिबल टोलीमा स्थान नपाए पनि मनीषाले बिच भलिबलबाट नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

मनिषाले राष्ट्रिय टोलीमा पुनरागमन हुन पाउँदा अवसरसँगै चुनौती भएको बताइन् । 
‘फेरि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउँदा खुशी छु, यस अवसरमा आफुलाई प्रमाणित गर्नेछु,’ उनी भन्छिन् ।

मानबहादुर श्रेष्ठ (दुई वर्षपछि पुनरागमन)

विभागीय त्रिभुवन आर्मीका ओपन स्पाइकर मानबहादुरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को मान्यता दिइएको छनोट खेल आठौं राष्ट्रिय खेलकुद नखेलेका कारण उनलाई टोलीमा समावेश गरिएन ।

दुई वर्षपछि टोलीमा फर्किएका मानबहादुरले आफ्नै गल्तीका कारण टोलीमा स्थान गुमाएको बताउँदै आएका थिए ।

मानबहादुर भन्छन्, ‘आफ्नै गल्तीका कारण टोलीमा पर्न सकिन । आमा बिनाको टुहुरो जस्तो महसुस गरेको थिए, अब चाँहि पूरा भएको छु । एकदमै खुशी छु । आफ्नो पुरानो स्थानमा पुग्न कोसिस गर्दैछु । राष्ट्रलाई पदक दिलाउन सक्दो प्रयास गर्छु । सबैजनाले ममाथि विश्वास गरेका छन्, त्यहीं विश्वासलाई सावित गर्न चाहन्छु ।’

भैरव बम (तीन वर्षपछि पुनरागमन)

त्रिभुवन आर्मीका मिडिल ब्लकर भैरव तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन भएका हुन् । कुर्कुच्चाको चोट लागेपछि भैरव केही समय आराममा रहेका थिए ।  

‘कुर्कुच्चाको चोट लागेर केही समय आराममा रहे । लकडाउनले गर्दा टोलीमा पुनरागमन गर्न सक्दिन जस्तो लागेको थियो । तर आत्मविश्वास गर्न छोडिनँ । फिजिकल फिटनेसमा ध्यान दिँदै प्रदर्शनमा सुधार गर्दै आए । खुशी लागेको छ । एसियन सेन्ट्रल जोनमा हामीले ‘मेडल टच’ गर्ने लक्ष्य लिएका छौ । त्यहीं अनुसार आफुलाई तयार गरेको छु । भलिबल सर्मथकलाई निराश हुन दिदैनौं,’ भैरवले भने ।

एसियन सेन्ट्रल जोनको लागि दुवै टोली सोमबार बंगलादेशतर्फ प्रस्थान गर्दैछ । 

प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेशसँगै साविक विजेता नेपाल, माल्दिभ्स, श्रीलंका, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोली र पुरुषतर्फ आयोजक बंगलादेश सहित नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।