काठमाडौं । नेपालका प्रशिक्षक जगदीप भट्टले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानविरुद्ध टोली डिफेन्स र सर्भिसमा कमाजोर देखिएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार नेपाल इरानसँग ३-२ को सेटमा पराजित भयो ।
‘भारतसँग पाँच सेट खेल्दा खेलाडी थकित थिए । भारतलाई जितेपछि अपराजित रहँदै च्याम्पियन बन्ने योजना थियो । त्यसका हामी असफल भयौं । इरानको स्पाइक र ब्लक राम्रो थियो,’ प्रशिक्षक भट्टले भने, ‘धेरै र्याली चल्दा हाम्रो खेलाडीले दबाब थेग्न सकेनन् । हामी डिफेन्स र सर्भिसमाकमजोर देखियौं । अब, माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेछौं । ’
नेपालले खेल १६-२५, २५-१६, २३-२५, २५-१५, १३-१५ ले गुमाएको थियो । प्रतियोगितामा नेपालको यो पहिलो पराजय हो ।
पराजयसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि नेपालले श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
यसैगरी कप्तान अरुणा शाहीले योजनाअनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएकी छन् ।
‘योजनाअनुसाको प्रदर्शन भएन । सुरुवातमै रिसिभ बिगार्दा टोली दबाबमा आयो । इरान हामी भन्दा हरेक क्षेत्रमा बलियो देखियो,’ कप्तान अरुणाले भनिन्, ‘ खेल नियन्त्रणमा राख्न सकेनौं । अबकम बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’
नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार मल्दिभ्सको सामना गर्दैछ ।