भलिबल

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताः नेपालले कार्तिक २८ गतेबाट बन्द प्रशिक्षण थाल्ने

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपाली पुरुष तथा महिला टोलीको आइतबार देखि बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

नेपाल भलिबल संघले आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगिताको लागि एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेका १८ सदस्यीय महिला टोलीलाई नै छनोट गरेको छ ।  

जसमा मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सोफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी र सलिना श्रेष्ठ रहेका छन् ।

यस्तै पुरुष टोलीको भने गत असोजमा सम्पन्न राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी खेलाडीबाट खुल्ला छनोट गर्ने संघका कार्यवाहक अध्यक्ष यम गुरुङले खेलाडीलाई बताए ।

‘बन्द प्रशिक्षण २८ गतेबाट गर्ने निर्णय गरेका छौ । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेका १८ महिला सदस्यलाई टोलीलाई लानेछौ । तर १८ जना खेलाडी लाने कि १२ त्यो २५ गते बैठक बसेर निर्णय गर्छाै । पुरुषको चाँहि एनभिए च्याम्पियनसिप खेलेका खेलाडीलाई बोलाएर २६ र २७ गते खुल्ला छनोट गर्नेछौ,’ उनले भने, २८ गतेबाट दुवै टोलीको बन्द प्रशिक्षण सुरु गर्नेछौं । '