भलिबलमा जम्दै दूर्गम गाउँको एउटा क्लब 

काठमाडौं, (खेलाडी)- नेपालको भलिबलमा बाग्लुङ जिल्लाको उपस्थिती सधै वजनदार रहने गरेको छ । बाग्लुङ नेपाली भलिबल जगतमा गर्विलो उपस्थिती जनाउन सफल हुनुमा जिल्लाभित्र यो खेलको चरम लोकप्रियता नै कारण हो । 

भौगोलिक रुपमा बाग्लुङ सुगम जिल्ला होइन । त्यसैले पनि फुटबल र क्रिकेटजस्ता ठूला मैदान आवश्यक पर्ने खेलको तुलनामा भलिबलमा रमाउनु बाग्लुङवासीको बाध्यता हुन सक्छ । तर यही बाध्यता लगाबमा परिणत हुँदा गण्डकी प्रदेशको यो जिल्लाले नेपाली भलिबललाई धेरै योगदान गरेको छ ।

त्रिपुरेश्वरमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा यसपाली पनि बाग्लुङको उपस्थिती ओझपूर्ण छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा असोज १० गतेबाट चलिरहेको प्रतियोगितामा देशका विभिन्न ठाउँबाट महिला र पुरुष गरी २० टोलीले सहभागिता जनाइरहेका छन् ।

स्थानीय खेलाडीकै भरमा पनि स्टार खेलाडीले भरिपूर्ण प्रतिद्वन्द्वीविरुद्ध गरेको जोशिलो प्रदर्शनका कारण अहिले गल्कोट सबैको आकर्षणको केन्द्र बनेको छ ।

प्रत्येक टिममा तीन विदेशी खेलाडी राख्न पाइने सुविधा छ । धेरै टोलीले भारतीय खेलाडी राखेर त्यो सुविधा उपभोग गरिरहेका छन् । तर बाग्लुङको गल्कोट स्पोर्टस क्लब स्थानीय खेलाडीकै भरमा कोर्टमा उत्रिएको छ । 

स्थानीय खेलाडीकै भरमा पनि स्टार खेलाडीले भरिपूर्ण प्रतिद्वन्द्वीविरुद्ध गरेको जोशिलो प्रदर्शनका कारण अहिले गल्कोट सबैको आकर्षणको केन्द्र बनेको छ । 

बाग्लुङ बजारदेखि करिब ४७ किलोमिटर टाढाको एउटा दूर्गम गाउँ गल्कोटको टिमले समूह चरणको खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा हरायो । गल्कोटको बहादुरी यत्तिमै सिमित थिएन । भारतीय खेलाडीको साथ रहेको प्रदेश दुईमाथि पनि गल्कोटले सोझो सेटमै दिन हासिल गर्‍यो । 

बुधबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई कडा टक्कर दिए पनि गल्कोटले जित निकाल्न भने सकेन । तर भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तानलगायत तीन विदेशी खेलाडीको उपस्थितीमा फुरफुर गरिरहेको हेल्प नेपालले दूर्गमबाट आएको एउटा स्थानीय टिमको चुनौती पन्छाउन निक्कै मेहनत गर्नुपर्‍यो । 

गल्कोटले समग्र खेल ३-१ को सेटमा हारे पनि दोस्रो सेटमा २५-१८ को विजयी नतिजा निकालेको थियो । पराजित भएका तीन सेटमा पनि टोलीले सहज आत्मसमर्पण गरेको थिएन । २२, २२ र १९ स्कोर गरेको थियो । 

टोलीको उर्जा र भलिबल लगाबलाई केन्द्रिय प्रतियोगितासम्म पुर्याउन गल्कोट स्पोर्टस् टोकियो जापानको सहयोग रहेको छ । यही सहयोगमा एनभिए च्याम्पियनसिपमा सहभागिता जनाउन आएको टोलीले शीर्ष सातमा पर्ने लक्ष्य लिएको प्रशिक्षक सुरेन्द्र केसीले खेलाडीलाई बताए । 

‘यो नगरपालिकाको सेट हो । जिल्लास्तरीय तथा नगरपालिकाको खेलमा धेरै उपाधि जितिसकेका छौं । शीर्ष सातमा पर्ने लक्ष्यका साथ एनभिए च्याम्पियनसिपमा सहभागिता जनाएका हौं,’ उनले भने । 

पेशाले निर्माण व्यावसायी केसीका लागि पनि धेरै बाग्लुङ्गेजस्तै भलिबल लगाबको विषय हो । त्यसैले भलिबलका प्रतियोगिता हुँदा उनी व्यावसायलाई 'पज बटम' थिचेर टिमसँग  तयारीमा लागिहाल्छन् ।

गल्कोटका पूर्व खेलाडी केसी र हिमाल चालिसेले हालै २५ लाख रुपैयाँको व्यक्तिगत लगानीमा गल्कोट भलिबल प्रशिक्षण केन्द्रको स्थापना गरेका छन् । जहाँ उनले करिब ८० खेलाडीलाई दैनिक प्रशिक्षित गर्छन् । पाँच रोपनी जग्गामा स्थापित प्रशिक्षण केन्द्रलाई विदेशमा रहेका खेलप्रेमीहरुको भने उल्लेख्य सहयोग रहेको केसी सुनाउँछन् ।

पेशाले निर्माण व्यावसायी केसीका लागि पनि धेरै बाग्लुङ्गेजस्तै भलिबल लगाबको विषय हो । त्यसैले भलिबलका प्रतियोगिता हुँदा उनी व्यावसायलाई 'पज बटम' थिचेर टिमसँग लागिहाल्छन् ।

गल्कोटले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदा जितेको पुरस्कार राशी खेलाडीमै बाढ्ने गरेको छ । 

‘हामीले पैसाभन्दा पनि क्लब र ठाउँको नामका लागि काम गरेका हौं । तर, गाउँबाट आएर केन्द्रमा प्रतियोगिता खेल्न निक्कै गाह्रो हुन्छ । यही प्रतियोगिताका लागि काठमाडौं आउँदा हाम्रो तीन लाख रुपैयाँभन्दा बढि खर्च भइसक्यो । आयोजकले केही हेर्दैन,’ प्रशिक्षक केसीले दुखेसो गरे, ‘हामीलाई गल्कोट जापान, अस्ट्रेलिया र अमेरिकाको राम्रो सहयोग भएकाले आउन सकेका हौं । धेरै टिम आर्थिक अभावले गाउँमै थन्किइरहेका हुन्छन् ।’

थुप्रै नगर र जिल्लास्तरीय प्रतियोगिताको अनुभव बटुलिसकेको गल्कोटले एनभिए च्याम्पियनसिप खेलेको भने यो पहिलो पटक हो । गाउँको नाम चिनाउने उद्देश्य बोकेर काठमाडौंको यात्रामा निस्किएको टोलीको उदेश्य अब बढ्न थालेको छ ।

टोलीका एक खेलाडी दीपक मल्ल भन्छन्, ‘गल्कोटको नाम र त्यहाँका खेलाडी यस्ता रहेछन् भनेर सबैको सामू परिचित गराउन यहाँ आएका हौं । आशा त स्वर्ण पदकको नै गरेका छौं ।’

यस्तै गल्कोटका ओपन स्पाइकर रविन केसी बिना प्रशिक्षण काठमाडौं आएको भए पनि उत्कृष्ट प्रदर्शनका साथ शीर्ष सातमा परेर एनभिए क्लब लिगलाई छानिनेमा आफूहरु प्रतिबद्ध रहेको बताउँछन् ।

भन्छन्, ‘राम्रो खेलेर गाउँको इज्जत राख्‍न आएका थियौं, अब त जितेरै झन ठूलो नाम राख्‍ने जोश पलाएको छ ।’