एपिएफ र ढोरपाटन क्वार्टरफाइनलमा

काठमाडौं, (खेलाडी)- एपिएफले बुढानीलकण्ठ भलिबल क्लबमाथि सहज जित हात पार्दै छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप) को कभर्डहलमा मंगलबार भएको समूह 'डी' अन्तर्गतको खेलमा एपिएफले बुढानीलकण्ठलाई २७-२५, २५-२७, २५-११, २५-१८ ले हरायो । 

दुई जितपछि एपिएफले समूह 'डी' को विजेताका रुपमा अन्तिम आठको टिकट पक्का गर्‍यो । तीन टोली रहेको यस समूहमा ढोरपाटन उपविजेताका रूपमा नकआउट चरणमा पुग्यो ।  

मंगलबारै भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले पनि शतप्रतिशत नतिजालाई निरन्तरता दिँदैै क्वार्टफाइनलमा स्थान बनाएका थिए ।

यता मंगलबारबाट सुरु भएको महिलातर्फको खेलमा एपिएफ र न्यु डायमन्डले सुखद सुरुआत गरे ।

प्रतियोगिताको चौथो दिन भोलि ६ खेल हुनेछन् । 

पुरुषतर्फ नेपाल पुलिस र गण्डकी प्रदेशले खेल्दै दिनको खेल सुरुआत गर्नेछन् । दोस्रो खेल मणिमुकुन्द र दावली मिलन क्लबबीच हुनेछ । 

समूह ’ए’ को विजेता टुंगो लगाउने तेस्रो खेलमा तीन भारतीय खेलाडी सम्मिलित टोली हेल्प नेपाल र गल्कोटबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिमले अहिलेसम्म समान ६ अंक जोडेका छन् । चौथो खेल प्रदेश दुई र बुढानिलकण्ठबीच हुनेछ ।