एनभिए क्लब च्याम्पियनसिपमा आर्मी र गल्कोटको सुखद सुरुआत

काठमाडौं, (खेलाडी)- त्रिभुवन आर्मी क्लब र गल्कोट स्पोर्टस क्लबले राष्ट्रिय पुरुष तथा महिला एनभिए क्लब च्याम्पियनसिपमा आइतबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा राष्ट्रिय टिमका सदस्यले बाहुल्य रहेको आर्मीले कर्णाली प्रदेशलाई २५-१४, २५-८, २५-७ को सोझो सेटमा पराजित गर्‍यो । 

यसैगरी गल्कोटले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्‍यो । गल्कोटले बागमतीमाथि २५-१९, २५-१७, २५-१७ को विजयी नतिजा निकालेको थियो । 

यसैगरी सशस्त्र प्रहरी बलको एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गरेको दिन नेपाल पुलिस क्लबले दावाली मिलन क्लबमाथि सोझो सेटमा जित हासिल गर्यो । 

निक्कै प्रतिस्पर्धात्मक खेलमा ढोरपाटनले पहिलो सेट २८-२६ ले आफ्नो पक्षमा पारेको थियो । तर एपिएफले त्यसपछि पुनरागमन जनाउँदै लगातार तीन सेटमा २५-१८, २५-१३, २५-१५ को नतिजा निकाल्यो ।

आइतबारको अन्तिम खेलमा पुलिसले दावाली मिलनमाथि २५-२१, २५-१७, २५-१३ को सहज नतिजा निकालेको थियो  

च्याम्पियनसिपको दोस्रो दिन सोमबार ६ खेल हुनेछन् । सोमबार पहिलो खेलमा साविक विजेता टिम टिपटप हेल्प नेपाल र बागमती प्रदेशको हुनेछ । खेल बिहान ८ बजे सुरु हुनेछ । 

च्याम्पियनसिपमा पुरुषतर्फ सहभागी १४ टोलीलाई चार समूहमा र महिलातर्फ सहभागी ६ टोलीलाई दुई समूहमा बाँडिएको छ । महिलातर्फका सम्पूर्ण खेल मंगलबारदेखि सुरु हुनेछ । 

च्याम्पियनसिपका शीर्ष सात पुरुष टोली र शीर्ष पाँचमा अटाउने महिला टोलीले चैतमा हुने छैठौं राष्ट्रिय महिला तथा पुरुष लिगमा प्रतिस्पर्धा गर्नेछन् । 

६ दिनसम्म चल्ने च्याम्पियनसिपको विजेताले चार लाख रुपैयाँ, उपविजेताले दुई लाख रुपैयाँ र तेस्रो स्थानको टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी उत्कृष्ट सर्भर, लिब्रो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।