एनभिए भलिबलको तालिका सार्वजनिक 

काठमाडौं, (खेलाडी)- राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबारबाट सुरु हुने च्याम्पियनसिपको छैटौं संस्करणमा पुरुषतर्फको पहिलो खेलमा समुह ’सी’ को त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । 

प्रतियोगिताको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

यस्तै प्रतियोगिताको उदघाटन खेलमा समूह ’ए’ को बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो र दोस्रो दिन पुरुषतर्फ मात्रै खेल हुनेछ । महिलातर्फको खेल १२ असोज (मंगलबार)मा मात्रै सुरु हुनेछ । 

प्रतियोगितामा पुरुष तर्फ सहभागि १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला तर्फ भने सहभागि ६ टिमले दुई समूहमा बाडिएर प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको शीर्ष सातभित्र पर्ने पुरुष र शीर्ष पाँचमा अटाउने महिला टोलीले चैतमा हुने छैटौं राष्ट्रिय महिला तथा पुरुष लिगमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

यसैगरी उत्कृष्ट सर्भर, लिब्रो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।