एनभिए क्लब भलिबल च्याम्पियनसिपमा २० टिम खेल्ने

काठमाडौं, (खेलाडी)- राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको छैंठौं संस्करण असोज १० गतेबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारबाट सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ गरी कुल २० टिमको सहभागितामा रहने नेपाल भलिबल संघ (एनभिए) ले जनाएको छ ।  

नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ दुई टिम थपिएका छन् ।

यसअघि पुरुषतर्फ टिपटप हेल्प नेपाल, नेपाल स्पोर्ट्स क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपिएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बाग्मती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब गरी १२ टिमको सहभागिता रहने बताइएको थियो । कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब थपिएपछि सहभागी टिमको संख्या १४ पुगेको हो ।

यस्तै महिलातर्फ होङवान्जी न्यु डाइमन्ड क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपिएफ, ढोरपाटन स्पोर्ट्स र एभरेस्ट भलिबल क्लब सहभागी हुनेछन् ।

यस संस्करणबाट च्याम्पियनले नगद ४ लाख, उपविजेताले २ लाख र तेस्रो स्थानको टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

गतवर्षको तुलनामा यसपटक पुरस्कार राशीमा दोब्बर वृद्धि गरिएको हो ।  गत संस्करण प्रतियोगिताको च्याम्पियनले नगद २ लाख, उपविजेताले नगद १ लाख र तेस्रो हुने टिमले नगद ५० हजार प्राप्त गरेका थिए ।

गत संस्करणमा पुरुषतर्फ आर्मी, आरजी भलिबल ग्रुप, नयाँबजार सामाजिक युवा क्लब, एपिएफ, बुलबुले रारा क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब, पार्वती भलिबल क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब गरी कुल ११ टिमको सहभागीता  थियो । 

त्यस्तै महिलातर्फ  एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, भरतपुर महानगर, न्यू डायमण्ड क्लब, नेपाल पुलिस र ढोरपाटन स्पोर्ट्स क्लब गरी सात टिमको सहभागीता थियो ।
पुरुषतर्फ हेल्प नेपालले उपाधि जितेको थियो भने महिलातर्फ एपिएफ च्याम्पियन बनेको थियो ।