भियारियालको अर्को बराबरी

मड्रिड, (खेलाडी)- एइसा मेन्डीले आत्मघाति गोल गरेपछि भियारियाल स्पेनिस ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पार्ने अवसरबाट वञ्चित भएको छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा भियारियाल एट्लेटिको मड्रिडसँग २-२ को बराबरीमा रोकियो । यसअघि पहिलो २ खेलमा पनि भियारियालले अंक बाढेको थियो ।

५२औं मिनेटमा म्यानुअल ट्रिगोरसले गरेको गोलमा भियारियालले अग्रता लिएको थियो । तर टोलीले त्यो अग्रता लामो समय जोगाउन सकेन । भियारियालले गोल गरेको चार मिनेटपछि नै लुइस स्वारेजले एट्लेटिकोलाई खेलमा फर्काएका थिए । ७४औं मिनेटमा अमाउट डजुमाले भियारियालाई खेलमा दोस्रो पटक अग्रता दिलाए ।

तर इन्जुरी समयको पाँचौ मिनेटमा मेन्डीले आत्मघाति गोल गर्दा भियारियाल स्पष्ट ३ अंक जोड्नबाट बञ्चित भयो ।

यता पहिलो २ खेलमा ६ अंक जोडेको एट्लेटिको तेस्रो खेलमा भने हारको सम्भावनाबाट जोगिएको हो ।