बायर्नको गोल वर्षामा लेवान्डोवस्की नायक

म्युनिख, (खेलाडी)- रोबर्ट लेवान्डोवस्कीले अर्को एउटा खेलमा सानदार प्रदर्शनका साथ ह्याट्रिक गरेपछि बायर्न म्युनिखले शनिबार राति घरेलु एलियान्ज एरिनाको मैदानमा हार्था बर्लिनलाई ५-० को नतिजामा हराएको छ ।

बायर्नले प्रभावशाली जित हासिल गरेको गए रातिको खेलमा थोमस मुलर र जमाल मुसियालाले पनि गोल गरे । 

घरेलु मैदानमा पाएको यो जितपछि जुलियन नागेल्सम्यानको टोली बुन्डेसलिगा अंकतालिकाको शीर्ष स्थानमा बायर लेभरकुसन र फ्रेइबर्गसँग अंक बराबरी गर्न सफल भयो ।

पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्कीले जर्मन बुन्डेसलिगाका लगातार १३औं खेलसम्म गोल गर्ने इतिहास पनि बनाए । लेवान्डोवस्कीले २०१२-१३ को सिजनमा आफैले गरेको लगातार १२ खेलसम्म गोल गर्ने तथ्यांकमा सुधार गरे । बुन्डेसलिगामा सर्वाधिक खेलमा लगातार गोल गर्ने कीर्तिमान ग्रेड मुलरको नाममा छ । मुलरले १९६९-७० को सिजनमा लगातार १६ खेलमा गोल गरेका थिए ।

गए रातिको जितसँगै बायर्नले घरेलु लिगअन्तर्गत हार्थाविरुद्ध घरेलु मैदानमा लगातार २७ खेलसम्म अपराजित रहेको छ । जर्मन शीर्ष डिभिजनको नयाँ सिजनमा हार्थाले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । 

बायर्नले थोमस मुलरको गोलमा छैटौं मिनेटमै अग्रता लिएको थियो । लेवान्डोवस्कीले ३५औं मिनेटमा बायर्नको अग्रता दोब्बर पारे । 

मुसियालाले ४९औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । लेवान्डोवस्कीले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने समय सकिन ६ मिनेट बाँकी रहँदा व्यक्तिगत ह्याट्रिक पूरा गर्दै बायर्नलाई प्रभावशाली जित दिलाए।