चोटका कारण युभेन्टसका डिबाला र मोराटाले चेल्सीविरुद्ध खेल्न नसक्ने

टुरिन, (खेलाडी)- साम्पडोरियाविरुद्ध गए राति जित हासिल गरेको खेलमा घाइते भएका पाउलो डिबाला र अल्भारो मोराटाले च्याम्पियन्स लिगअअन्तर्गत चेल्सीविरुद्ध हुने खेल गुमाउने भएका छन् । 

सिजनको अत्यन्तै खराव सुरुआत गरेको युभेन्टसले विस्तारै लय समाउने क्रममा आइतबार राति इटालियन सिरी ‘ए’मा लगातार दोस्रो जित हासिल गरेको थियो । तर डिबाला र मोराटाजस्ता दुई मुख्य खेलाडी घाइते भएका कारण टोलीले त्यसको खुसी मनाउन सकेन । चोटका कारण समूह ‘एच’मा युरोपियन च्याम्पियनविरुद्ध हुने खेलमा दुवै फरवार्ड अनुपस्थित हुने युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले पुष्टी गरेका छन् । 

साम्पडोरियामाथि ३-२ को जित हासिल गरेको खेलमा डिबालाले युभेन्टसका लागि पहिलो गोल गरेका थिए । यो जितपछि एलेग्रीको टोली सिरी ‘ए’ अंकतालिकाको नवौं स्थानमा उक्लिएको थियो । टोली शीर्ष स्थानको एसी मिलानभन्दा आठ अंकले पछि छ ।

‘डिबाला र मोराटाविना चेल्सीविरुद्धको खेल कसरी खेल्ने भनेर हामी योजना बनाइरहेका छौं । यो निर्णायक खेल त होइन, तथापि हामी अंक गुमाउन चाहदैनौं,’ एलेग्रीले भने ।