व्यावसायिक बक्सिङमा ‘डेब्यु’ गर्दै मोहम्मद अलीका नाती

लन्डन, (खेलाडी)- बक्सिङका महान खेलाडी मोहम्मद अलीका नाती निको अलीले आगामी अगस्ट १४ मा व्यावसायिक ‘डेब्यु’ गर्ने भएका छन् ।

निकोले अमेरिकी प्रवर्धक बब अरुमसँग सम्झौता गरेका छन् । अरुमले नै उनका हजुरबुबाका २७ फाइट प्रवर्धन गरेका थिए । 

२० वर्षे निकोले आफ्ना हजुरबुबाको विरासतलाई निरन्तरता दिन लाग्दा आफू निक्कै उत्साहित रहेको बताएका छन् । बिजिनेस डिग्रीको अन्तिम वर्षको अध्ययन गरिरहेका निकोले व्यावसायिक यात्राको पनि सुरु गर्दा दोहोरो दबाब पर्ने बताए ।

‘मेरो हजुरबुबाले सुरु गर्नुभएको फाइटिङ विरासतलाई निरन्तरता दिन पाउनु मेरा लागि सम्मानको विषय हो । साथमा यो मेरा लागि जिम्मेवारी पनि हो । यसलाई कुनै पनि हालतमा हल्का रुपमा लिने छुट मसँग हुने छैन,’ निकोले भने ।

मोहम्मद अलीले बक्सिङको विश्‍व हेभिवेइट उपाधि तीन पटक जितेका थिए । विश्‍व बक्सिङ इतिहासकै सबभन्दा सर्वोत्कृष्‍ट खेलाडीका रुपमा परिचित अलीको २०१६ मा निधन भएको थियो ।